​बबालमा जनयुद्ध लडेका बड्डाहरु

दुई चरणको स्थानीय तहको चुनाव त सकियो तर त्यही चुनावलाई खारेज गरेको भन्दै हिँड्ने विप्लव माओवादीमा भने यही कुराले बबण्डर मच्चिएको छ । एकथरी कम्युनिष्टको आधार क्षेत्र भनेर चिनिएको थवाङमै आफूले सिध्याउन खोजेको प्रचण्ड नेतृत्वको माओवादीले जित हासिल गरेपछि यस्तो लफडा देखिएको हो ।

त्यहाँ त्यस्तो अवस्था आउनुमा त्यही बेला त्यस क्षेत्रमा खटिएका पूर्वसभासद् सन्तोष बुढालाई आत्मालोचना गराएर कार्यक्षेत्र परिवर्तन गराइएको छ भने भेरी ब्युरो हेर्ने गगन खड्का ‘जीवन’ लाई चुनावी लाइनको वकालत गरेबापत पार्टीबाटै गलहत्याइएको छ । बुढालाई मध्यकमाण्डबाट हटाएर पश्चिम कमाण्डमा पठाइएको छ भने प्रचण्ड माओवादीबाट विद्रोह गरेर विप्लव समूहमा पुगेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई उनको ठाउँमा उपत्यकासहित त्रिशुलीदेखि मेचीसम्म हेर्नेगरी पूर्वीकमाण्डको जिम्मा दिइएको छ ।

त्यहाँ समस्या के देखिएको थियो भने एकातिर चुनाव खारेज भन्ने र अर्कातिर स्थानीय तहमा स्वतन्त्र उम्मेदवार उठाउने । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका विद्रोही उम्मेदवार कुलानन्द गिरीले मलाई सहयोग गर्नुप¥यो, अब म आउने तपार्इंकै पार्टीमा हो भन्दा सन्तोष बुढाले सकारात्मक संकेत गरेको आरोप पनि लागेको थियो । मलाई जिताउन मान्छे पठाउनू भन्ने गिरीको आग्रह थियो । पोलिटब्यूरोमा रहेका कालिकोटे भरत बमलाई, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग समस्यामा परेपछि जिम्मेवारीविहीन बनाइएको छ । विद्यार्थीका केन्द्रीय सचिव रामबहादुर विक, केन्द्रीय सदस्य टीकाराम सुनुवार, बाँके इञ्चार्जले विप्लवको साथ छाडेका छन् । 

अहिले पार्टी छाड्न बाध्य भएका गगन खड्काचाहिँ गत वर्ष भदौमा धादिङमा सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीभित्रको आर्थिक अनियमितता र भ्रष्टाचारको विरोध गरेपछि विप्लवको आँखाको तारो बनेको बताइन्छ । त्यहाँ उनले विप्लवको छोरो ४० लाख खर्च गरेर डाक्टरी पढ्न सक्ने हैसियत कसरी बन्यो, ४ लाखको बुलेट बाइकमा उनी कुन पैसाले चढ्छन् भन्नेजस्ता प्रश्न गरेका थिए । विप्लव माओवादीसम्बद्ध स्रोतका अनुसार उनले विप्लव र उनी वरिपरि रहनेहरूको चरित्र र आर्थिक पक्षबारे कुरा उठाएका थिए । गत वर्ष फागुनमा नुवाकोटमा सम्पन्न केन्द्रीय समितिको निर्णय कार्यान्वयनका लागि क्षेत्रीय भेला आयोजना गर्ने तयारी भइरहेका बेला जाजरकोटमा तरुण दलका केन्द्रीय सदस्य रविविक्रम शाहको विप्लव माओवादीका कार्यकर्ताले हत्या गरे तर त्यसबेला पार्टीको नीति व्यक्ति हत्या गर्ने थिएन ।

यसको कारण त्यहाँ पार्टी कमजोर बन्यो भने केन्द्रीय कार्यालय सचिव भेषराज भुसाल र जिल्ला इञ्चार्ज हरिश्चन्द्र जैसीले त्यो कारबाही पार्टीले नगरेको भन्दै विज्ञप्ति निकाले । पार्टीसम्बद्ध स्रोतका अनुसार तर त्यसो गर्दा विप्लवको जीवनलाई फसाउने र हत्याको खबर सनसनीपूर्ण पारेर चन्दा आतंकको वातावरण सिर्जना गर्ने योजना तुहियो । अनि १४ वैशाखमा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकमा उनले गगनलगायत आफूलाई मन नपरेका नेतालाई त्यो घटनाको जिम्मा लिन निर्देशन दिए । तर, उनीहरूले त्यसो गर्न इन्कार गरेपछि कारबाही गरिएको बताइन्छ । त्यसो त बाँके जिल्ला सेक्रेटरी रहेका विप्लवका भाञ्जेज्वाइँ चिन्तामणि शर्मालाई आर्थिक हिनामिनाको आरोप लगाएर क्षेत्र परिवर्तन गराएको रिस पनि विप्लवलाई गगनसँग फेर्नु थियो भन्ने चर्चा छ ।

टिप्पणीहरू