​रमिता नयाँ नयाँ छ हजुर, राजधानीमा

नभएका दरबन्दीमा बढुवा, सरुवा गर्ने बेलामा तोरीको फूल † नेपाल प्रहरीभित्र यस्तो बिजोग देखिएको हो । एआइजीबाट शुरु भएको बढुवा इन्स्पेक्टर र डिएसपीसम्म पुग्यो । तर, इन्स्पेक्टर बनाउने बढुवाचाहिँ विभिन्न मन्त्रीको पिएसओ खटिएका सईहरुको दबाबमा रोकिएको अचम्मको दृश्य यसपटक सतहमा छ । हुँदाहुँदा एउटै प्रहरी संगठनको नक्सालमा एउटा र सिंहदरबारमा अर्को कमाण्ड पनि देखिन थालेको छ ।

साउन १९ गते बिहीबार गृहमन्त्री जनार्दन शर्माको सुरक्षा सल्लाहकारमा पूर्वएआइजी सुरेन्द्रबहादुर शाह नियुक्त भए । सरकारले यसअघि पनि विशिष्ट श्रेणीसरहको सेवा, सुविधा पाउने गरी मन्त्रालयमा सल्लाहकार नियुक्त गर्ने गरेको थियो । तर, यसचोटिको नियुक्ति प्रहरी संगठनका लागि भारी भएको छ । अर्थात्, एउटा संगठनमाथि दोहोरो नेतृत्व सिर्जना भएको छ । कसरी भने, प्रहरीका काम, कारवाहीलाई नियमित रुपमा अनुगमन गर्ने, मन्त्री र मन्त्रालयका सरोकारहरु तुरुन्तातुरुन्तै कार्यान्वयन हुनेजस्ता प्रयोजनका लागि शाहलाई अधिकार प्रत्यायोजन गरिएपछि द्वैध नेतृत्वको स्थिति सिर्जना भएको भनी नक्सालमा असन्तुष्टि छ । उनले नक्साल हेडक्वार्टरबाट एसपीको कमाण्डमा आफ्नालागि बेग्लै टोली मगाएका छन् । मन्त्रालयमै अलग्गै सचिवालय बनेको छ ।

त्यहाँ एसएसपी केदार रिजाल, एसपी मनोज केसी र डिएसपी बासुदेव पाठक खटिएका छन् । शुरुमा त मन्त्रालयको शान्ति सुरक्षा महाशाखाअन्तर्गत भनेर ती प्रहरी खटाइएका थिए । फलतः तयार भइसकेको एआइजी, डिआइजी, एसएसपी र डिएसपीको पदस्थापन रोकिएको छ । फुली लगाएको दुई हप्ता बितिसक्दा पनि यी तीन दर्जाका पदस्थापनलाई घरी बालुवाटार, घरी नक्सालतिरको चासोको विषय बनाइएका कारण रोकिएको एकजना एआइजीले बताए । उदाहरणका लागि, गृहले महानगरीय प्रहरी आयुक्तमा केशरीराज घिमिरेको प्रस्ताव तयार पा¥यो । तर, तुरुन्तै त्यो खबर बालुवाटार पुगेपछि तयार भइसकेको प्रस्ताव गृहसचिवको टेबुलमै थन्कियो ।

बालुवाटारको आपत्ति थियो, ‘मन्त्रिपरिषद्को निर्णयअनुसार आइजिपीको नियुक्तिपत्र बुझिसकेको जयबहादुर चन्द संगठनको मर्यादामा रहेर डिआइजी हुन राजी भए, अहिले उनलाई भ्यालीको कमाण्ड चलाउन नदिने ?’ उता, गृहको केही सीप नलागेपछि लाजिम्पाट र बालुवाटारबीच सहमति खोजियो, एआइजीको पदस्थापनका लागि । देउवा जयबहादुरबाहेकलाई भ्याली एआइजी बनाइए त्यो निर्णय आफूले कदापि सदर नगर्ने बताइरहेका छन् । प्रचण्डको भनाइ छ, ‘सरकारमा हामी पनि छौँ । गृह हामीसँगै छ । गृह चलाएको पार्टीले एउटा एआइजी भनेको ठाउँमा राख्न सक्दैन भने के काम गर्नु ?’ प्रचण्डको दिवंगत छोरी ज्ञानुकी छोरीको विवाह केशरीका दाइका छोरासँग भएको छ ।

उता, भएको सरुवा पनि कार्यान्वयन भएको छैन । अपरेशन कमाण्डमा निक्कै कहलिएकी एसपी मीरा चौधरीले धनुषाको सरुवा पाइन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा कार्यरत उनलाई हिजो साँझसम्म पनि रमाना दिइएको छैन । हेडक्वार्टरको कप्रले सरुवा भएको २४ घण्टाभित्र सबै युनिटमा रमाना पठाइसकेको हो । दुई किलोमीटरको दूरीमा रहेको सिआइबीमा रमाना नपुग्ने कुरै भएन । तर, रोकियो राजनीतिक दबाबमा । पूर्ववर्ती गृहमन्त्री विमलेन्द्र निधीले सरुवा निस्किएपछि मीराको सट्टा अरु नै पठाउन आग्रह गरेका थिए । तर, एकजनाको सरुवा संशोधन गर्दा सबै प्रभावित हुने र त्यसले प्रहरी खटनपटनमा समस्या हुने कारण संशोधन भएन । त्यसैले मीरालाई रमाना नदिई त्यहाँबाट हेडक्वार्टर सरुवा भएका लालमणि आचार्यले नै धनुषामा काम गरिरहेका छन् । लालमणिलाई विमलेन्द्रले रोजेर आठ महिनाअघिमात्र इटहरी अख्तियारबाट त्यहाँ लगेका थिए । कम्तिमा तेस्रो चरणको निर्वाचनसम्म लालमणिलाई त्यहाँबाट नहटाइने भएको छ ।  

त्यस्तै, बढुवा भएका प्रहरीको पदस्थापन हुन नसक्दा चेन अफ कमाण्ड नै प्रभावित भएको छ । जस्तो कि, एसएसपी भएर युनिट कमाण्ड गर्न गएका हाकिमले दुई हप्तादेखि डिआइजीको फुली लगाइसके । तर, कमाण्ड गर्दैछन् जिल्ला प्रहरीको युनिट । नेपाल प्रहरी ऐनअनुसार डिआइजीले क्षेत्रको कमाण्ड गर्ने व्यवस्था छ । यस्तो दुर्दशा काठमाडौं र ललितपुरमा देखिएको हो । काठमाडौंमा त केसम्म छ भने, त्यहाँका एसपी प्रधुम्न कार्कीले एसएसपीमा बढुवा पाइसके । एसएसपीले नै कमाण्ड गर्नुपर्ने उनी त्यहीँ ट्वाइसी भएर काम गरिरहेका छन् । त्यस्तै, एकजना डिएसपीले कमाण्ड गर्नुपर्ने सल्यानको जिप्रकामा तीनजना डिएसपी छन् । त्यहाँका कमाण्डर डिएसपी हुन् श्याम खत्री । अहिले सुनील मल्ल र धर्मराज भण्डारीले बढुवा पाइसके । तर, उनीहरु पनि एउटै जिप्रकामा एकअर्कालाई सलाम ठोक्दै बसेका छन् । श्याम खत्रीकी पत्नी सुशीलाले एमालेको तर्फबाट नागार्जुन नगरपालिकाको उपमेयर जितेकी छन् । उनले काठमाडौं बस्न पाउँ भनेको तीन महिना भइसक्यो । तर, सँगैका इन्स्पेक्टर डिएसपी बनेर एउटै कार्यालयमा बस्दासम्म उनी त्यहाँबाट फेरिएका छैनन् । 

डिएसपीको तयार भइसकेको सरुवा हेडक्वार्टरबाट मन्त्रालय पुगेर थन्किएको छ । जबकि, प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा गर्ने अधिकार आइजिपीले राख्छन् । अहिलेका आइजिपी प्रकाश अर्यालले नियमावलीबाट प्राप्त अधिकारसमेत प्रयोग गर्न सकेका छैनन् । डिएसपी पोस्टिङमा सोह्रखुट्टे, दरबारमार्ग, रसुवा बढी तँछाडमछाडमा परेको छ । दरबारमार्गका लागि प्रचण्डका पिएसओ दानबहादुर मल्ल, रसुवामा कृष्णबहादुर महराका ज्वाइँ तिलक भारतीको सिफारिस गृहबाट भएको छ । तर, तिनै ठाउँका लागि बालुवाटारको बेग्लै सिफारिस छ । एसएसपीमा काठमाडौंको अपराध महाशाखा धीरजप्रताप सिंह र परिसर रवीन्द्र धानुकको टुंगो लाग्यो । तर, हेटक्वार्टरले टुंग्याए मन्त्रालयले नमान्ने, मन्त्रालयले माने बालुवाटारले रोक्ने । यही विवादले एसपीसम्म भएको लगालगको सरुवा डिएसपीबाट रोकिएको छ ।

टिप्पणीहरू