गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार नहुँदै साँघुरो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार नहुँदै साँघुरो

रुपन्देहीको भैरहवास्थित गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १० दिनभित्र सम्पूर्ण काम सम्पन्न हुने र आगामी तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने तयारी छ ।

तर, उक्त विमानस्थल निर्माण सम्पन्न नहुँदै सरकारले अन्तर्राष्ट्रिय उडानको निम्ति टर्मिनल भवन साँघुरो हुने निश्कर्ष निकालेको बताइएको छ । निर्माण सम्पन्न न हुँदै आवश्यकता पूर्ति नहुने गरी विकास निर्माणको कार्य गर्ने राज्यका विभिन्न निकाय र तिनका प्रमुखको क्षमतामाथि गम्भीर प्रश्न उठेको बताइन्छ ।

विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भइसकेको छ भने वित्तीय प्रगति ७७ प्रतिशत छ । अहिले टर्मिनल बिल्डिङभित्रको सजावटसँग सम्बन्धित काम भइरहेको जानकारी दिइएको छ ।

केही प्राविधिक काम मात्रै बाँकी रहेकाले १० दिनभित्र विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो । उहाँका अनुसार आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए तोकिएकै समयमा काम सम्पन्न गरी उडान शुरु हुनेछ ।

प्रमुख इञ्जिनियर अधिकारीले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना महामारीका कारण थाइल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकाले अड्किएको बताउनुभयो । प्राविधिक काम सम्पन्न गर्न सरकारले थाइल्याण्ड सरकारसँग कूटनीतिक पहल थालेको पनि जानकारी दिनुभयो ।

अहिले बनिरहेको टर्मिनल बिल्डिङ तुलनात्मक रुपमा सानो भएको सरकारको अनुमान रहेकाले यसलाई ठूलो बनाउनुपर्ने विषयमा पनि अध्ययन भइरहेको छ । हाल बनाइएको टर्मिनल बिल्डिङले एक पटकमा ४ सयलाई मात्र सेवा दिनसक्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको समेत अधिकारीले बताउनुभयो ।

विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसक्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको छ । राडार र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्याङ्क चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ ।

टिप्पणीहरू