आइलाग्यो अझ ठूलो अभिभारा

प्रमुख दल दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षामै व्यस्त छन् । कहाँ, कसको, कस्तो गतिविधिले हारियो वा जितियोमै अल्मलिँदा महŒवपूर्ण विषयमा आवश्यक छलफल र बहस हुन सकिरहेको छैन । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग त बनायो तर उसका सामुन्ने देखा पर्ने समस्या समाधान र अड्चन निवारणका लागि कोही जिम्मेवार बन्ने लक्षण छैन ।

संविधानको पूर्ण कार्यान्वयन, अबको केही महिनाभित्रै प्रदेश र संघीयसभाको निर्वाचन हुन सक्ने वातावरण निर्माण, आवश्यक ऐन, कानुन र विधिको विकासजस्ता काममा ठूला दलका ठूला नेताले चासो लिएजस्तो देखिँदैन । हुन त प्रधानमन्त्री भएको महिनौं बितिसक्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने प्रधानमन्त्रीसँग धेरै कुराको अपेक्षा त कसरी गर्नु तैपनि जनतासामु विकल्पसमेत छैन । ठूला दलभित्र आन्तरिक समस्या सबैमा छ । त्यसमाथि अर्को दलभित्रको अन्तरविरोधमा खेल्न सबै माहिर छन् । यदि उनीहरूमा समस्या र कमजोरी छ भने आफैंभित्रको अन्तरविरोध हल गर्ने क्षमतामा छ । तर, अरूलाई हुँडल्ने र धमिलो पानीमा माछा मार्ने कलामा कोही पनि कमजोर छैन । सरकारमा कुन–कुन दल जाने वा नजाने भन्ने विषयलाई त्यही दलको शीर्ष नेतृत्वले भन्दा पनि बाहिरको शक्ति र दलले निर्धारण गर्ने परिपाटीको विकाससमेत यहीबीच हुन थालेको छ ।

एकातिर सत्ता सहयात्रा गर्ने तर चुनावको बेला त्यही दलसँग प्रतिस्पर्धा गर्नुपर्ने अप्ठ्यारो परिवेश सिर्जना हुँदा सत्तारुढ माओवादी र कांग्रेस एक प्रकारको दबावमा छन् भने आफूविरुद्ध मोर्चाबन्दी भइरहेको अवस्थामा तुलनात्मक रूपमा निकै बढी कसरत गर्नुपर्ने प्रदेश नम्बर २ को चुनावी तयारीमा एमालेले लाग्नुपरेको छ । आ–आफ्नै समस्या, दाउपेच र दलीय स्वार्थ रक्षामा मात्र यसरी ठूला दल अल्मलिए भने अपेक्षाकृत ढंगले निर्धारित समयमा संक्रमणकाल समाप्त हुँदैन कि भन्ने चिन्ता आमनेपालीलाई पर्न थालेको छ । अब महŒवपूर्ण विषयमा बृहत राजनीतिक सहमति जुटाउनुपर्ने, क्षणिक स्वार्थभन्दा पनि मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने र प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनलाई संस्थागत गर्नुपर्नेतिर विशेष गरी सरकार र ठूला दलले ध्यान दिनु जरुरी छ ।

ठूलो त्याग, धैर्यता र लगानीपश्चात् मुलुकले नयाँ चरणमा फड्को मार्न लागेका बेला राजनीतिक नेतृत्व असफल भएर फेरि प्रतिगमनतर्फ मुलुक अग्रसर हुने हो कि भन्ने चिन्ता पनि ब्याप्त छ । सरकारको नेतृत्व गरेको कांग्रेस, प्रमुख सत्ता साझेदार माओवादी र प्रमुख प्रतिपक्षी एमालेले मुलुक कहाँ र कुन अवस्थामा छ भनेर बुझ्न त्यहीअनुरूप पाइला चालुन् ।

टिप्पणीहरू