तालिवान सरकारलाई चीनको पैसा, पाकिस्तानको राशन

तालिवान सरकारलाई चीनको पैसा, पाकिस्तानको राशन

अफगानिस्तानमा तालिवानले अन्तरिम सरकार गठन गरेको भोलिपल्टै छिमेकी चीन र पाकिस्तानले सहयोगको ठूलै वचन दिएका छन् । उनीहरुले अफगान जनतालाई मानवीय सहयोग भन्दै नगद र राशन सहयोग गरेका हुन् ।

तालिवानको अन्तरिम सरकारलाई चीनले अफगानिस्तान र अफगान जनताको हितमा लाग्ने अपेक्षासहित सहयोग उपलब्ध गराएको हो । चीनले हिजो ३ करोड १० लाख अमेरिकी डलर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । उक्त रकम अफगानिस्तान जनताको लागि खाद्यान्न,औषधि र कोरोनाविरुद्धको खोपमा प्रयोग गरिने छ ।

त्यसैगरी अर्को छिमेकी पाकिस्तानले पनि आज आफ्नो वायु सेनाको सी १३० विमानभरि मानवीय सहायता सामाग्री राखेर काबुल पुर्याएको छ । पाकिस्तानले आज काबुल पुर्याएको सामाग्रीमा १० टन पिठो,डेढ टन घिऊ र धेरै औषधि रहेको बताइएको छ ।

त्यसैगरी भोलि त्यस्तै विमानमा त्यत्ति नै सामान राखेर अर्को शहर कान्दाहारमा सहयोग सामाग्री हस्तान्तरण गरिने पनि पाकिस्तानले जनाएको छ । अर्को दिन त्यस्तै प्रकृति र परिमाणको पाकिस्तानी सहयोग खोस्ट शहरमा पुग्ने बताइएको छ ।

पाकिस्तानबाट प्राप्त समाचारमा जनाइएअनुसार अफगानिस्तानको पछिल्लो अवस्थालाई ध्यानमा राखेर उसले टोरखाम र चमान सीमा नाकाबाट पनि नियमित मानवीय सहायता सामाग्री छिट्टै पुर्याउन आवश्यक तयारी गरिएको छ ।

तालिवानको अन्तरिम सरकारले आफूहरुले दुई दशकअघिको धङधङीबाट माथि उठेर मुलुक र जनताको हितमा काम गर्ने वचनद्धतालाई पटक पटक दोहोर्याइरहेको छ ।

टिप्पणीहरू