​सरकार विस्तार नभए संकट

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावपछिको समीक्षा गर्न भेला भएका प्रदेश इञ्चार्जहरुको सोमबार बसेको बैठकमा भनेका छन्, ‘अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गरिएन भने मुलुक बर्बाद हुन्छ । यस्तो निर्वाचन विधिले सँधै सरकार अस्थिर हुने र परिवर्तनका एजेण्डाहरु त्यत्तिकै सेलाउने खतरा बढेको छ । त्यसैले अब त्यतातिर लाग्नुपर्छ ।’ स्रोतकाअनुसार, देउवासँगको असन्तुष्टि पोख्दै उनले अगाडि थपे, ‘अब २÷४ दिनभित्र पनि क्याबिनेट विस्तार भएन भने यो सरकारबारे सोच्नुपर्ने हुन्छ । 

अहिले मन्त्रिमण्डल विस्तार नहुनुको मतलब असोजसम्म पनि नहुनु हो । त्यसपति छ झन् नबन्ने खतरा बढ्छ ।’ उनले पार्टी नेताहरुलाई ढनडास दिँदै भनेका थिए, ‘माओवादी हुनुको औचित्य हामीले मात्र पूरा ग¥यौं । बाबुराम भट्टराई, मोहन वैद्य र विप्लव सिद्धिए । चुनावले सो कुरा प्रमाणित ग¥यो । हामीलाई अरुले चौथो, पाँचौं स्थानमा पुग्छ भनेका थिए । हामी पनि आत्मकेन्द्रीत बनेका थियौं । तर, त्यसको बाबजुद यो रिजल्ट आउनु सुखद कुरा हो । उनले भनेको अर्को महत्वपूर्ण कुरा के थियो भने, ‘देशी–विदेशी पार्टपुर्जाहरुले एमालेलाई नै आफ्नो असली प्रतिनिधिको रुपमा मान्यता दिएको देखियो । त्यसैले उसलाई जिताए । यसमा राष्ट्रवादी फ्याक्टरले पनि अलिकति काम  गरेको होला ।’ सो बैठकमा प्रदेश नम्बर ७ मा माओवादी पार्टीकै मत बिक्री भएको रिपोर्टिङ आयो । मधेसबारे बोल्दै मातृका यादवले प्रदेश नम्बर २ मा स्थिति तुलनात्मक रुपमा राम्रो भए पनि हुनचाहिँ तेस्रो नै हुने अनुमान पेश गरेका थिए । सोमबार नै केपी ओलीले चाहिँ आफ्ना अन्तरङ्ग सहकर्मीहरुसँग माओवादी एमालेसँग मिलेको भए १५० भन्दा बढी स्थानमा विजय हासिल गर्ने सम्भावना रहेको अवस्था नदेख्दा उसलाई ठूलो क्षति पुगेको निश्कर्ष सुनाएका थिए । ‘एमालेले प्रचण्डलाई आफूहरुले सरकार छाडेपछि नेतृत्व लिन अफर गर्दा बढी बाठो भएर त्यसलाई अस्वीकार गरेका कारण पनि माओवादीलाई घाटा लागेको हो । हामीसँग दह्रो पर्खाल छ, कसले पछि धकेल्न सक्छ भन्ने भ्रममा माओवादी फसेको उनको’ भनाई थियो । 

यसअघि असार २५ गतेको स्थायी समिति बैठकमा प्रचण्डले गुनासो पोखेका थिए, ‘पूरै राजनीतिक एजेण्डा हाम्रा स्थापित भए तर त्यसको जस लिन र जनतालाई बुझाउन नसक्दा प्रतिफल पाइएन ।’ उनले नयाँ निश्कर्ष पनि सुनाए, ‘काँग्रेससँग जसरी सहकार्य र एलायन्स बनाइयो, त्यसको प्रभाव राम्रो परेन । यसरी नहुने रै’छ । अब संगठन निर्माण र परिचालनमा विशेष ध्यान दिनुपर्ने देखियो ।’ बैठकमा प्रदेश नम्बर ५ का इञ्चार्ज अनन्तले आफ्नो क्षेत्रमा ४५ वटा तह जित्ने हिसाव गरेको भए पनि १९÷२० मा झर्नु पर्नाको कारण अन्तरघात भएको विश्लेषण सुनाए । भने, ‘अरु त अरु रोल्पामा समेत अन्तरघात भयो ।’ 

त्यहाँ आफ्नै पार्टीका केन्द्रीय सदस्य कुलानन्द गिरी बागी भएर उठ्दा ७ सय मत ल्याए । अनि त्यहाँ आधिकारिक उम्मेदवारले जम्मा डेढ सय मतले हार्नुप¥यो । प्रदेश नम्बर ७ को रिपोर्टिङ गर्दै लेखराज भट्टले गुट, फुट र आन्तरिक कलहले सुदूर पश्चिमलाई पनि पिरोलेको बताए । त्यहाँ नतिजा राम्रो नआउनुमा अन्यकुनै कारण नरहेको उनको ठहर थियो । प्रदेश नम्बर १ का इञ्चार्ज गोपाल खम्बूले भने, ‘हिन्दूवादीले  जिते, धर्म निरपेक्षता र गणतन्त्रको नाराले हावा खायो ।’ अन्तिममा फेरि प्रचण्डले प्राप्त आत्मज्ञान सुनाए, ‘अब संगठनमा ध्यान दिऊँ, आफ्ना एजेण्डालाई दह्रोसँग पक्रेर स्थापित गराउने काममा लागौं ।’

टिप्पणीहरू