आज साँझ घर घरमा दर,चिल्लो पिरोको हुन्न है भर !

आज साँझ घर घरमा दर,चिल्लो पिरोको हुन्न है भर !

हिन्दू महिलाले मनाउने हरितालिका तीजको अघिल्लो दिन अर्थात आज दर खाने दिन हो । आज साँझ विशेषगरी विवाहित महिलाहरुले माइतीमा गएर दर खान्छन् । भोलि ब्रत बस्ने महिलाहरुले शक्तिप्राप्त गर्नको लागि आज दर खाने चलन छ । रातभर रमाइलो गर्दै मीठा परिकारका साथ दर खाने गरिन्छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको चाहना गर्दै तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको अघिल्लो दिन दर खाने प्रचलन रहिआएको बताइन्छ ।

विवाहित चेलीबेटीलाई माइती पक्षले बोलाएरै दर खुवाउने चलन छ । आज विशेषगरी खिर,हलुवा, ढकनी,घिउ,दही,दूध,मिठाई, फलफूललगायतका परिकारलाई दरको रुपमा खाने गरिन्छ । तर, नयाँ पुस्ताले माछा मासु,आफ्नो स्वादअनुसारको पेय पदार्थसमेत सेवन गर्ने गरेको पाइन्छ ।

कोरोनाको कारण कतिपयले दर खान माइत वा आफन्तकोमा नगएको समेत बताएका छन् । कोरोना महामारीको जोखिम कायम रहेकाले आफ्नै घरमा दर खाएर तीज मनाइने उनीहरु बताउँछन् ।

महिलाले वर्षभरि आफूलाई परेका दुःख,पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई लिने गरिन्छ । तीजमा विशेषगरी भगवान शिव र देवी पार्वतीको पूजा आराधना गरिन्छ ।

कोरोनाको कारण भीडभाड नगरी तीज मनाउनु अझै पनि अत्यावश्यक रहेको नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा. आशा सिंहले बताउनुभएको छ । उहाँले दर खाने भन्दैमा धेरै चिल्लो, पिरो नखान पनि सबै महिला दिदी, बहिनीलाई आग्रह गर्नुभएको छ ।

भोलि दिनभरि निराहार व्रत बस्नुपर्ने भएकाले आज त्यस्तो खाना धेरै खानाले स्वास्थ्यमा निकै हानी पुग्ने डाक्टरको भनाइ छ । कोरोनाको कारण कतिपयले दर खान माइत वा आफन्तकोमा नगएको समेत बताएका छन् ।

टिप्पणीहरू