सतिसालजस्तै उभिएको यौटा सानो तर सबल राष्ट्र

सतिसालजस्तै उभिएको यौटा सानो तर सबल राष्ट्र

आगामी बिहीबार प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) ले स्थापनाको ७३ औं वार्षिकी मनाउँदैछ । सन् १९४८ को सेप्टेम्बर ९ तारिखका दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना भएको हो ।

स्थापनाको पूर्वार्धमा जनगणतन्त्र कोरियाले पछिल्लो सात दशकमा प्राप्त सबै खालका उपलब्धिहरूको सबिस्तार ब्याख्या समेत गरेको छ । त्यसक्रममा उसले प्राप्त प्रतिष्ठा र उच्चसम्मानको मुक्त कण्ठले प्रशंसा गरेको छ । उक्त प्रतिष्ठा र उच्चसम्मान कठिन परिस्थितिसँग जुध्दै प्राप्त भएको पनि उल्लेख छ ।

पछिल्लो सात दशकको उपलब्धिलाई उसले आफ्नै ढंगले विभिन्न विशिष्ट कालखण्डको रुपमा परिभाषित गर्नुपर्नेतर्फ औंल्याएको छ ।

तत्कालिन कोरिया सन् १९४५ को अगष्ट १५ तारिखका जापानको उपनिवेशबाट मुक्त भएको हो । त्यसपछि कोरियाली जनताले नयाँ कोरियाली शैलीको प्रजातन्त्र र प्रगतिशील प्रजातन्त्रको बाटो अपनाए । तत्कालीन सोभियत संघ वा अमेरिकी शैलीको प्रजातन्त्रको बाटो अपनाउने कुनै चाहना राखेनन् ।

जनताको सरकार स्थापना र लोकतान्त्रिक सुधार गर्दै मुलुकमा कृषि सुधार,ठूला उद्योगहरूको राष्ट्रियकरण र लैंगिक समानतासहित त्यहाँका जनताले नयाँ कोरियालाई सन् १९४८ को सेप्टेम्बर ९ देखि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नाममार्फत विश्वलाई चिनाएका हुन् । त्यो कालखण्डले राजनीतिक रुपमा उत्तर कोरियालाई प्रजातान्त्रिक कोरियाको रुपमा परिभाषित गर्यो,जुन आजसम्म कायम छ ।

दशौं हजार कोरियाली जनताको बलिदानबाट प्रजातान्त्रिक मुलुक स्थापनाको दुई वर्ष नपुग्दै महाशक्ति राष्ट्र अमेरिकाले नजर लगाएको कोरियाको भनाई छ । सन् १९५० देखि ५३ सम्म प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई दबाउन ऊ र उसका निकट राष्ट्रहरूबाट अनेकौं प्रयास भएका थिए । त्यसैले उक्त युध्दलाई कोरियाले शक्तिशाली एउटा बम र निरीह एउटा बन्दुकबीचको लडाईंको रुपमा चित्रण गर्दै आएको छ । महाशक्ति राष्ट्रका अत्याधुनिक हतियारको अगाडि कोरियाली जनताले सामान्य बन्दुक र विचारसँगै दृढतापूर्वक लडेका थिए ।

त्यतिबेला विश्वका थोरै देश र त्यहाँका नागरिकले मात्र प्रजातान्त्रिक कोरियाले युध्द जित्ने भविष्यवाणी गरेका थिए । कोरियाली जनताले साम्राज्यवादी आक्रमणकारीहरूलाई घृणा गर्दै युध्दमा होमिएका कारण देशको सार्वभौमसत्ताको रक्षा भएको उनीहरूको ठहर छ । त्यसपछि विश्वका धेरै देश र तिनका नागरिकले प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई वीर कोरियाको रूपमा प्रशंसा गर्दै आएका हुन् । किनकि उसले साम्राज्यवादी शक्तिलाई घुँडा टेक्न बाध्य बनाएकाले उसको उक्त अदम्य साहसलाई अहिले पनि ‘वीर’ को संज्ञा दिइएको छ ।

भर्खरै स्थापना भएको मुलुक अनायास युध्दमा होमिन परेका कारण त्यतिबेला कोरियाको अवस्था निकै नाजुक बन्यो । त्यसैले युध्दपछिको विश्लेषण गर्दै अमेरिकाले उत्तर कोरिया आगामी सय वर्षसम्म पनि उठ्न नसक्ने प्रचार गरेको कोरियालीहरू अहिले पनि चर्चा गर्छन् ।

यद्यपि कोरियाली जनताको लगनशीलता र नयाँ जीवन सिर्जना गर्ने संघर्षमा दत्तचित्त भएर लागेका कारण उसले तीन वर्षभन्दा कम अवधिमा मुुलुकको पुनर्निर्माण कार्य सकाएको थियो । त्यसको १४ वर्षमा समाजवादी औद्योगीकरणको शताब्दीयौं पुरानो कार्य पनि सम्पन्न गर्यो । ती सबै कार्य कोरियाली जनताले गरेका थिए तर,त्यो कम्तिमा दिनको ४ हजार किलोमिटरको रफ्तारमा दौडने वायुपंखी घोडाको गतिमा भएको उनीहरुको मान्यता छ । त्यसलाई राजनीतिक वृत्तमा कोरियाले प्राप्त गरेको बिजुली चम्काईको गतिको उपलब्धि भन्ने गरिएको छ ।

विस्तारै कोरियाली नेता किम इल सुङको नेतृत्वमा हुँदै आएका सबै खालको विकासको सर्वत्र चर्चा हुन थाल्यो । त्यसपछि प्रजातान्त्रिक कोरियाले मुलुकभित्र नेता किम इल सुङ्गको ‘जुछे’ विचारलाई सर्वसाधारणसम्म पुर्याउने अभियान नै थाल्यो । जुछे विचारको व्यवहारिक प्रयोगका कारण कोरियाले आफ्नै विशेषतायुक्त समाजवादी समाजको निर्माणमा उल्लेख्य उपलब्धी हासिल गरेको बताइन्छ । सबैलाई निःशुल्क चिकित्सा र निःशुल्क शिक्षा उक्त विचारको प्रमुख आधार हो । यसबाट वास्तविक समाजवादको प्रस्फुटन भएको मान्यता कोरियाली समाजले राख्दै आएको छ ।

पछिल्लो सात दशकमा कोरियाको जुछे विचारले विश्वमा व्यापकता पाएको छ । एक सयभन्दा बढी मुलुकमा त्योभन्दा बढी जुछे अनुसन्धान संस्थाहरू स्थापना भइसकेका छन् । त्यत्तिकै संख्यामा प्रचार प्रसार संगठनहरु समेत रहेको बताइन्छ । ती सबै अन्तर्राष्ट्रिय जुछे विचारका क्षेत्रीय संस्थाहरूसँग आवद्ध छन् । त्यसैको प्रभावस्वरुप पछिल्लो तीन दशकदेखि प्रजातान्त्रिक जनगणतन्त्र कोरियालाई राजनीतिक वृत्तमा जुछेको भूमि भनेर सम्बोधन गर्न थालिएको हो ।

२० औं शताब्दीको अन्त्यतिर विश्वका समाजवादी तथा साम्यवादी मुलुकहरूमा एकपछि अर्को समस्या देखिन थाले । त्यसले समाजवादप्रति आस्थावान विश्वका करोडौं नागरिकलाई निराश तुल्यायो । तर,त्यत्ति नै बेला कोरियाली राष्ट्रिय रक्षा आयोगका अध्यक्ष किम जोङ इलले समाजवादलाई विज्ञानसँग जोडेर गर्नुभएको व्याख्या र व्यवहारिक प्रयोगले उक्त निराशामा आशा पलाएको कोरिया सरकार र जनताको विश्वास रहिआएको छ ।

विश्वमा साम्राज्यवाद हावी भएकाले समाजवादी मुलुकको पतन गराउने अभियानविरुद्ध उत्तर कोरियाले दृढतापूर्वक विचारमार्फत् सन्देश फैलाइरह्यो । समाजवादमा अन्तर्निहीत वैज्ञानिक पक्षलाई केलाउँदै नेता किम जोङ इलले साम्राज्यवादको अन्त्य र समाजवादकोविजय सुनिश्चित रहेको उदाहरणसहितको सन्देश दिइरहनुभएको उनीहरुको दाबी छ । त्यसैको परिणाम विश्वमा सर्वत्र समाजवादी मुलुक हल्लिँदा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया खम्बाझैँ उभिन सफल रह्यो । त्यसै कारण उसलाई आजको दिनमा पनि समाजवादी किल्लाको रुपमा परिभाषित गरिँदै आएको छ ।

अनेक चुनौती र समस्यासँग जुध्दै यो ठाउँसम्म आइपुग्नुलाई उत्तर कोरियाले आफ्ना करोडौं नागरिक भए पनि तिनका हृदय एउटै रहेको र उक्त हृदयभित्र केवल आफ्नो मुलुक समेटिएको पक्षलाई अटल विश्वास गरेको छ । कोरियालाई छिन्नभिन्न बनाउन यसबीचमा शत्रु राष्ट्र र तिनका सेनाबाट हुँदै आएका अनेक दबाब र घृणित आर्थिक नाकाबन्दी समेत परास्त भएको भनिन्छ ।

कोरियाली जनताको अदम्य साहसको अगाडि बरु शत्रुहरू नै घुँडा टेक्न बाध्य भएको कोरियाली निश्कर्ष छ । भौगोलिक र अन्य स्रोत साधनको दृष्टिकोणले सामान्य आकारको एउटा मुलुकले विशाल भनाउँदा र शक्ति सम्पन्न भएकाको अगाडि सफल हुनुको मुख्य आधार ‘करोडौं जनताको एउटै मुटु’ हो भनिन्छ । कोरियालीहरु जनतामा रहेको एकल हृदय एउटा यस्तो हतियार हो,जुन आणविक हतियारसमेत क्षणभरमा परास्त हुन्छ भन्ने मान्यताबाट अघि बढिरहेका छन् । यस्तो अलौकिक उपलब्धि हालसम्म विश्वका कुनै पनि मुलुकले प्राप्त गर्न नसकेकोमा उत्तर कोरियाले आफूलाई गौरवान्वित महसुस गरेको मुलुक स्थापनाको ७३ वर्षको पूर्वसन्ध्यामा व्यक्त गरेको छ ।

पछिल्लो सात दशकको अवधिमा उत्तर कोरिया कोरियाली प्रायद्विपमा मात्र सीमित भएको छैन । विश्व राजनीतिक रंगमञ्चमा उसको उपस्थितिले सबैलाई तरंगित बनाउँदै आएको बताइन्छ । सबैभन्दा ठूलो तरंग उसले असंलग्न राष्ट्रहरूको अभियानमा निभाएको भूमिकाको क्रममा भएको उल्लेख छ ।

उसको विश्लेषणमा भनिएको छ, ‘२० औं शताब्दीलाई साम्राज्यवाद विरोधी स्वतन्त्रताको युग बनाउन असंलग्न अभियानले अभूतपूर्व योगदान पुर्याएको छ ।’ जबकि प्रारम्भमा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया उक्त अभियानको सदस्य थिएन । राष्ट्राध्यक्ष किम इल सुङको सुझबुझपूर्ण निर्णय र सहभागितापछि सन् १९७५ देखि उत्तर कोरिया असंलग्न अभियानमा सक्रियतापूर्वक सहभागी हुँदै आएको कोरियाली दाबी छ ।

अभियानको उद्देश्यलाई सहयोग पुर्याउन विश्वमा कायम रहेका सबै प्रकारका प्रभुत्वको बिरोध गर्ने अभियानमा कोरिया सबैभन्दा अगाडि देखियो । नेता किमले उक्त संगठनका सदस्य राष्ट्रहरूको असंलग्न आन्दोलन र एकता अनि एकताको सुदृढीकरणपछिको विकासलाई अघि बढाउनुपर्ने महसुस गर्दै त्यसमा ठूलो योगदान पुर्याउनुभएको बताइन्छ ।

विश्व रंगमञ्चमा उत्पन्न हुने सबै खालका विवादलाई वार्ता र छलफलबाट मात्र हल गर्नुपर्नेमा उहाँको जोड थियो । असंलग्न अभियानले पनि त्यसैलाई मार्गचित्र बनाएको थियो । साथै नेता किमले मुलुकलाई आन्दोलनको सदस्य राष्ट्रको रूपमा आफ्नो लक्ष्य र भूमिका पूरा गर्न अन्तिम क्षणसम्म पनि पहल गर्नुभएको इतिहासबाट पनि प्रष्ट हुन्छ ।

असंलग्न आन्दोलनको क्रममा नेता किमको सन्दर्भ अर्जेन्टिनामा भएको सन् १९७५ को शिखर सम्मेलनमा सबैभन्दा उल्लेख्य पाइएको थियो । सम्मेलनको क्रममा प्रकाशित तेस्रो विश्वका लागि दिग्दर्शन नामक पुस्तकमा उहाँले व्यक्त गर्नुभएका धारणाको औचित्य आजसम्म पुष्टि भएको छ । त्यतिखेर उहाँले असंलग्न अभियान विश्वमा साम्राज्यवादविरुद्धको एउटा क्रान्तिकारी शक्ति भएको उद्घोष गर्नुभएको थियो ।

उहाँका ती विचार प्रकाशित भएको एकाध वर्षपछि विश्वमा असंलग्न अभियानमाथि नै कालो बादल मडारिएको कोरियाको निचोड छ । सन् १९८० को अन्त र ९० को पूर्वार्धमा विश्व राजनीतिमा देखा परेको खराब अवस्थाले विश्वका समाजवादी शक्तिहरूमा हालसम्मकै सर्वाधिक असर परेको हो ।

शीतयुध्दको अन्त्यपछि उक्त आन्दोलनको औचित्यमाथि नै प्रश्नचिन्ह उठ्यो । इण्डोनेशियामा भएको १० औं सम्मेलनताका कोरियाली नेतामाथि स्थानीय सञ्चारमाध्यमले धेरै जिज्ञासा तेर्साए । तर,त्यतिखेर नेता किमले राख्नुभएका प्रष्ट विचार आन्दोलनको १० औं शिखर सम्मेलनको निचोड र निश्कर्ष बन्न पुगेको थियो ।

अन्तर्राष्ट्रिय राजनीतिको सन्दर्भमा नेता किमले सन् १९९३ जुनमा राजधानी प्योङयाङमा आयोजित उक्त आन्दोलन राष्ट्रका सूचना तथा सञ्चार मन्त्रीहरूको चौथो सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिमण्डलका प्रमुख र प्रतिनिधिहरूसँगको भेटमा व्यक्त गर्नुभएका उद्गारहरू आज पर्यन्त जीवन्त देखिएको बताइन्छ ।

टिप्पणीहरू