कताका कामरेड, कताका कठिनाई

कताका कामरेड, कताका कठिनाई

अष्टलक्ष्मी शाक्य र भीम आचार्यले आउने मंगलबार (२२ गते) सम्म नेकपा (एकीकृत समाजवादी) को सांसदका रुपमा आफूलाई सनाखत नगराए भोलिपल्ट अविश्वासको प्रस्ताव दर्ता हुने सम्भावना छ । त्यही खतरा टार्न बागमती प्रदेशसभाको चालु अधिवेशन स्थगनका लागि सिफारिस गरिएको छ ।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र सम्बन्धित प्रदेश सरकारले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन आयोगले एमाले विभाजन भएको मिति भदौ २ गतेलाई मानेर २१ दिनभित्र दल रोज्न पाउने सूचना जारी गर्दा २२ गतेको समयसीमा दिएको छ । त्यसैले ३१ गतेभित्र प्रदेश १ र बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसअघि दुबै मुख्यमन्त्रीले एमाले वा एकीकृत समाजवादीमध्ये एक रोज्न पाउने समय बाँकी नै छ । तर, बागमतीचाहिँ प्रदेशसभा नै स्थगित गराएर भाग्न खोज्दैछ ।

११ गते शुक्रबार स्वास्थ्योपचारका लागि काठमाडौं जान तयार भइरहेका प्रदेश प्रमुख यादवचन्द्र शर्मा निवासबाट निस्कनै लाग्दा प्रमुख सचिव किरण शर्मा पौडेल टुप्लुक्क पुगे । उनले सदन स्थगित गर्न मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको कागज बोकेका थिए । तर, यादवले स्थगनका लागि आनाकानी गरे । सोधे ‘संसदका बिजनेशहरु बाँकी रहँदैमा किन स्थगन गर्ने ?’ उनको भनाइ थियो, ‘राजनीतिक घटनाक्रमहरु छिटोछिटो विकास भइरहेका छन् । यस्तो स्थितिमा चलिरहेको संसद रोकेर फाइदा के छ ?’ तर, प्रमुख सचिवले मन्त्रिपरिषद्ले सिफारिस गरेपछि त्यसलाई सदर गर्नै पर्ने कानुनी व्यवस्था सुनाए । अनि, यादवले ‘लु त लु’ भन्दै कलम झिके । किरणले ‘आवश्यक परे २५ प्रतिशत सांसदको समावेदनबाट फेरि संसद बोलाउन मिलिहाल्छ नि’ भनेपछि प्रदेश प्रमुख त्यसमा सही गरेर हेटौंडाबाट १२ बजेको फ्लाइट पक्रन सिमरातिर लागे ।

उता, प्रदेश १ को मुख्यमन्त्रीमा शपथ लिएको भोलिपल्टै भीम आचार्यले केपी ओलीलाई टेरेनन् । केपीले दुई मन्त्री नियुक्तिका क्रममा तुलसी न्यौपाने र जीवन घिमिरेलाई बनाउन फोन गरे पनि भीमले बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई नियुक्त गरे । पहिला भीमकै रिसले ओलीतिर लागेका जीवन पछिल्लो समय माधवसँग गइसकेका थिए । उनी शेरधनको क्याबिनेटमा पनि मन्त्री थिए । तर, भीम मुख्यमन्त्री भएपछि फेरि मन्त्री हुनका लागि केपीसँग पुगे । जीवनका निकटस्थहरु भन्छन्, ‘उनी अलिक बढी ढुलमुल र लोभलालचमा पर्ने स्वभावका रहेछन् ।’

उता, कर्णाली प्रदेशमा नेपाली कांग्रेसलाई अधिवेशन लागेको छ । कम्युनिष्टहरु चाहिँ कसरी कमाउने भन्ने ध्याउन्नमा छन् । जुम्लाबाट रारा जाने बाटोमा ३५ करोड हालिएको छ । बाटोका नाममा करोडौँ हालेर भाइ–भतिजालाई उपभोक्ता समितिमा राखिएको छ । काम गरे पनि, नगरे पनि बिल भुक्तानी गराउँदै खाएका छन् । नगरपालिकाका लेखापाल र प्रशासकीय अधिकृतहरु जनप्रतिनिधि देखेर हत्तु भएका छन् । किनभने, काम भएको छैन, भुक्तानी दिन दबाब छ ।

कमिशन नआए उनीहरुले भुक्तानी दिँदैनन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी श्रीमती दुर्गमकी शिक्षक हुन् । सुर्खेतमा बसेर तलब खान्छिन् । एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल सत्तारुढ दलका नेता हुन् । प्रमुख प्रतिपक्षी दलका नेतासरहको सुविधा लिइरहेका छन् । दैलेखको दुल्लुमा प्रशासकीय अधिकृतले सबै कर्मचारीलाई आफ्नो कमाण्डमा राखेका छन् । अन्यत्र नेताले कर्मचारीलाई नटेर्ने, कर्मचारीले पनि नेतालाई नटेर्ने कामले भद्रगोल भएको छ । फलतः ती कर्मचारीले राजपत्र नछापिदिने, कर्मचारीलाई शाखाहरु नबाँड्नेजस्ता विसंगति छन् ।

कर्णाली प्रदेशमा राजनीतिक रुपमा नेकपा (एकीकृत समाजवादी) को स्थिति राम्रो छ । कांग्रेसमा पनि देउवाको पकड राम्रो छ । एमालेको अवस्था त्यस्तो हुनुमा यामलालको कार्यशैली नै प्रमुख कारण रहेको एमाले कार्यकर्ताहरु बताउँछन् । उनी व्यवहारिक छैनन्, पार्टीकै मान्छेहरुलाई गन्दैनन् । एकीकृत समाजवादीका प्रकाश ज्वालाहरुचाहिँ कार्यकर्ताका घर–घर पुगेर दुःख–सुख सोध्छन्, चिया पिउन बजारमा बोलाउँछन् । यामलालचाहिँ साँझ नपरी गिलास खोज्न थाल्छन् भनिन्छ ।

अहिलेचाहिँ मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले मदिराको तालमा बोलेको कुरालाई लिएर सुर्खेतभरि गर्मागर्म छ । उनले ‘प्रधानमन्त्रीबाट हटेर के भो त, मेरो कुलपति त केपी ओली नै हो’ भनेपछि कांग्रेस र एकीकृत समाजवादीका नेताहरु आगो भएका छन् । उनी कालिकोटे नेता तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहका भाइ हुन् ।

टिप्पणीहरू