​बच्नको निम्ति घडेरी बिक्री

भूमिसुधार मन्त्रालय बस्दा अकुत कमाएका तथा चतुर कर्मचारीको रूपमा कहलिएका एक अधिकृतले भर्खरै २ करोडभन्दा बढीको घडेरी बेचेर ठगी गरेको राजश्व जम्मा गरिरहेका छन् । यी जागिरको अधिकांश अवधि डिल्लीबजार मालपोतमा बसेका लक्ष्मण भट्टराई हुन् । मन्त्रालयमा कृष्ण देवकोटा सचिव भएर आएपछि पँुजीगत लाभकरका विषयमा राजधानी उपत्यकामा मात्र गरिएको छानबिनबाट मालपोतका ८२ जना कर्मचारीले पुँजीगत लाभकर हिनामिना गरेको खुलासा भयो ।

अहिले यो प्रतिवेदन मन्त्रालयले कारबाहीका लागि अख्तियारमा बुझाएको छ । प्रचलित कानुनबमोजिम कारबाही गर्नुको सट्टा आयोगले छली भएको राजश्व बुझाउन र सफाइ लिन ८२ भाइलाई मौका दिएको बुझिएको छ । यसै कारण हो लक्ष्मणले पेप्सीकोला प्लानिङमा जोडेको घडेरी २ करोडभन्दा बढीमा बिक्री गरेको । डिल्लीबजार मालपोतकै एक पुराना कर्मचारी भन्छन्– लक्ष्मण सरले दैनिक केही कमाइ नहुँदा पनि लाखभन्दा बढी भिœयाउनु हुन्थ्यो ।

नयाँसडकस्थित १० आना जग्गा लक्ष्मी बंैकले खरिद गर्दा लक्ष्मणलाई ७० लाख रूपैयाँ अतिरिक्त लाभ दिलाउन सहयोग गर्ने लेखापढी व्यवसायी भन्छन्– कमाउनु त लक्ष्मण सरले जस्तो । सात दाजुभाइ श्रेष्ठ परिवारको हक लाग्ने सो जग्गा करीब ५० करोडमा लक्ष्मी बंैकले कार्यालय निर्माणका लाग खरिद गरेको थियो । लक्ष्मणकै फाँटमा परेपछि उनले यसको राजश्व एक करोड ४० लाख लाग्छ, मिलाउनुहुन्छ भने कममै गरिदिउँला भने । बाँकी कुरा लेखापढी व्यवसायीसमेतको पहलमा अघि बढ्यो ।

कुरा मिलाइसकेपछि लक्ष्मणले एकमुष्ट ७० लाख रूपैयाँ कर छुट गरिदिएबापत बुझे । विभागका हाकिमदेखि मन्त्रालयसम्म पु¥याउनुपर्ने भन्दै उनले आधाभन्दा बढी रकम लगेका थिए । यसअघि पनि यस्तै किर्ते कार्यमा अख्तियारद्वारा मुद्दा लगाइएका उनी विशेष अदालतबाट पनि कारबाहीमा परेका थिए । सर्वोच्चमा मुद्दा हालेका उनले तत्कालीन न्यायाधीश ताहिर अली अन्सारीलाई पशुपतिको बाटोमा भेटेर आफ्नो पक्षमा पार्न सफल भएका थिए । 

राजेन्द्र बुढाथोकी र पिताम्बर भण्डारी पनि मालपोतका डन भनेर चिनिन्छन् । वर्षौंदेखि काठमाडौंमै रहँदा पनि उनको काज सरुवा काठमाडौंबाहिर हुने गरेको छैन । अहिले पनि यी दुई कलंकी र मनमैजुमा छन् । थापा थरका उच्चाधिकारीलाई रिझाएका पीताम्बर अरूलाई भने भूमिसुधार सचिवसँग राम्रो सम्बन्ध भएकाले आफू ढुक्क भएको बताउँछन् ।

टिप्पणीहरू