एमाले अध्यक्षद्वारा अदालत, सभामुख र निर्वाचन आयोगको चर्को आलोचना

एमाले अध्यक्षद्वारा अदालत, सभामुख र निर्वाचन आयोगको चर्को आलोचना

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाउनु भएको छ । उहाँले नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको भेटघाट तथा फुटबल खेलाडीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो ।

एमाले विभाजन भई नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दर्ता सन्दर्भलाई जोड्दै उहाँ सभामुख सापकोटामाथि खनिनुभएको हो । उहाँको तर्क छ,‘सभामुख राजनीतिक राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भीरबाट हिँड्नुभयो ।’

सोही सन्दर्भमा उहाँले निर्वाचन आयोग पनि संविधान र कानुन पालनाको सन्दर्भमा राजनीतिक राजमार्गमा हिँड्न छाडेको बताउनुभएको छ । अदालतमा बसेपछि जे पनि गर्न सकिने जस्तो अवस्था पनि देखिएको उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभएको छ,‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजियो । सभामुख र निर्वाचन आयोग संविधान, कानुनको राजमार्ग छोडेर भित्तातिर ठोक्किन गएका छन् । सम्मानित अदालतको कुरै नगरौँ, त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ भन्ने मान्यताले काम गरेको छ ।’

अध्यक्ष ओलीले वर्तमान सरकार र गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको आरोप लगाउँदै आगामी चुनावमा वर्तमान गठबन्धन भत्किने दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारको गठबन्धनलाई उद्देश्य नभएका मान्छेहरुको झुण्ड भन्नुभएको छ । ‘त्यो गठजोडको हालत चुनावमा गएपछि देखिने छ,’ ओलीले दाबी गर्नुभयो ।

टिप्पणीहरू