​माया बाँडेपछि अनेकन बखेडा « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

​माया बाँडेपछि अनेकन बखेडा

प्रकाशित मिति :  १ असार २०७४, बिहीबार १८:५०


सम्बन्ध अनेकथरी हुन्छन्, आज म यहाँ विवाहेत्तरको प्रेम सम्बन्ध र त्यसलाई विवाहपश्चात् पनि निरन्तरता दिइन्छ भने त्यसबाट त्यो परिवारमा पर्ने असरबारे आफूले देखे÷भोगेका तथा पर्न सक्ने समस्यालाई जाने बुझेसम्म राख्न गइरहेको छु, अर्को भाषामा भन्नुपर्दा ट्र्याङगुलर लभ भनेर बुझौं ।

विवाहअगाडिको या विवाहपछि हुने अन्य प्रेम सम्बन्धले पारिवारिक मेलजोलमा चुनौती मात्र नभएर पारिवारिक वातावरण नै दूषित गराइदिन्छ । हाम्रो समाज पुस्तौनी पिँढीको हिसाबमा चल्ने हुँदा आमा–बा का क्रियाकलापको सिधा असर छोराछोरीमा परिरहेको हुन्छ । 

सर्वप्रथम यस्ता त्रिकोणीय सम्बन्धको कारण निश्चित रूपमा परिवारले आर्थिक नोक्सान त उठाउनु पर्छ नै ! साथै त्यसबाट पारिवारिक असन्तोष जन्म भई दिनहुँ झैझगडा सुरु हुन थाल्छ । स्वार्थमा टिक्ने खालका यस्ता सम्बन्धलाई टिकाएर राख्न धनको आवश्यकता पर्ने हुन्छ, यही धनले नै परिवारका आवश्यकता कटौती गरिदिन्छ ।  किनकि परिवारमा खर्च गरिनुपर्ने धन यता अर्को सम्बन्ध टिकाएर राख्न खर्च भइरहेको हुन्छ । यसैको परिणामस्वरूप घरमा असन्तोष, झगडा अनि तनाव हुन थाल्छ । 

अर्को कुरा जब परिवारमा यस्तो सम्बन्धबारे थाहा लाग्छ, त्यसपछि पूरै माहोल विषालु हुन जान्छ ।  दिनहुँ झगडा तथा तनावको प्रभावले अन्तिममा आएर परिवार नै टुट्न जान्छ । यसबाट श्रीमान्÷श्रीमतीबीच सम्बन्धविच्छेद हुन सक्छ । यदि परिवारले सम्झाई–बुझाइ गरेर घर बसाउँछन् भने पनि मुटुभित्र गढेको त्यो तीरले घोचिरहेको हुन्छ, जीवनभर । हमेसा त्यो घटनाले उसलाई पछ्याइरहेको हुन्छ ।  अब त शंकाको नजरले पनि हेरिने भयो ।  पूरा परिवारको नजर उसको क्रियाकलापमाथि परिरहेको हुन्छ जसबाट कहिले काहीँ तीव्र आलोचनाको पनि सामना गर्नुपर्छ । 

स्त्री जातिको विषयमा स्थिति अझै गम्भीर बन्न जान्छ । प्रायःजसो हाम्रो समाजमा धेरैजसो स्त्री अझै पनि पतिमा आश्रित छन् । आर्थिक अनि सामाजिक दुवै रूपबाट यस्तो दशामा त्यस्तो खालको सम्बन्धले स्त्रीका लागि अपराधको रूप धारण गर्छ ।  कैयौं पटक उनलाई यसकारण कडा दण्ड पनि भुक्तिनुपर्छ । 

श्रीमान्द्वारा तिरस्कृत भइसकेपछि फेरि समाजमा शरण पाउन मुस्किल हुन्छ ।  यदि, पढे÷लेखेकी साहसी महिला छिन् भने आफ्नो जीविकोपार्जन आफैँ गर्छिन् । बाहिर रहेर पनि शान्तिपूर्वक जीवनयापन गर्छिन् । यदि, यति हुँदा पनि श्रीमान्को साथमा रहन्छिन् भने उनलाई तरह–तरहको शारीरिक हिंसा तथा मानसिक उत्पीडन परिवारजनबाट सहिरहनुपर्ने हुन्छ । पुरुषप्रधान समाजको मानसिकता भएकै कारण यहाँ एउटा पुरुषको अपराधलाई एक सीमापश्चात् स्वीकृति मिल्छ भने, त्यही अपराध स्त्रीको जीवनलाई विषम परिस्थितिमा धकेलिदिएको हुन्छ किन ? स्त्री–पुरुष दुबैमा समान रूपमा अपराध बोध हुन्छ किन्तु त्यसको अभिव्यक्ति हाम्रो समाजमा भिन्दाभिन्दै तरिकाले हुन्छ किन ? यसप्रति हामीले सोचमा परिवर्तन ल्याउनु जरुरी छ । 

बच्चामा प्रभाव :

यस्ता सम्बन्ध भनेझैं सम्बन्धविच्छेदको कारण बन्न सक्छ ।  दम्पती त सम्बन्धविच्छेदपछि अलग–अलग इकाइमा बाँडिएका हुन्छन् तर प्रत्यक्ष रूपमा त्यसको दुष्परिणाम निर्दोष बच्चाले झेल्नुपरेको हुन्छ । 

बच्चाको सही तथा समुचित विकासका निम्ति आमा–बा दुबैको आवश्यकता पर्नुका साथै उनमा उचित तालमेल पनि हुनु जरुरी छ ।  घरको स्वस्थ वातावरणमा बच्चाको सर्वांगीण विकास हुन्छ ।  यदि, घरमा कुनै अवाञ्छनीय घटना घट्छन् भने बच्चाको मनमा त्यसको ठूलो प्रभाव परिरहेको हुन्छ । आपसी झगडाको कारण बा–आमाले बच्चातर्फ ध्यान दिँदैनन् फलस्वरूप बच्चा आफ्नो लक्ष्यबाट भट्किने गर्छन् साथै आमाबाका वैचारिक मतभेद, झगडा तथा नाजायज सम्बन्धको चर्चाबाट उनीहरूको मनमा अनेक प्रकारका प्रश्न खेल्न थाल्छन् ।  उनीहरू हर गतिविधिको विश्लेषण गर्दै आफ्नो तार्किक बुद्धिबाट आफूलाई पर्खाइ (नियन्त्रित) हुन्छन् । कहिलेकाहीँ बाआमाको झगडाबाट निक्लने कुनै कुरा बच्चाले समयभन्दा पहिल्यै सुन्छन् र त्यसलाई अपनाउने कोसिस गर्छन्, बच्चा सही गलतको निर्णय लिन सक्दैनन् ।  प्रायः बाआमाको झगडाले बच्चा पथभ्रष्ट हुन प्रेरित गर्छ । आमा–बाको स्वयं गलत आचारण हुनाका कारण बच्चालाई त्यस्ता कार्यबाट रोक्ने अधिकार पनि गुमाइसकेका हुन्छन् ।  ध्यान राख्न जरुरी छ कि यस्ता कार्यबाट घरमा झगडा हुन्छ र सधैँ अशान्तिको वातावरण बनिरहेको हुन्छ । यति मात्र कहाँ हो र परिवारलाई सामाजिक प्रतिष्ठा पनि भोग्नुपर्ने हुन्छ । 

सामाजिक प्रतिष्ठा :

सिधै भन्नुपर्दा यो अवस्थामा बदनामीको कारण घरमा बस्न या बाहिर निक्लन मुस्किल हुन्छ ।  मान्छेमा घुमाई–फिराई अरूको अगाडि त्यो कमजोरी उजागर गर्ने प्रवृत्ति हुन्छ, त्यति मात्रै कहाँ हो र, स–साना बच्चालाई के भइरहेको छ घर मा ? कत्तिको कल गर्छन् बाबुआमा भन्दै उनीहरूमा मानसिक पीडा भइरहेको हुन्छ र बच्चामा आत्मग्लानि हुन थाल्छ ।  विस्तारै सामाजिक दायरा पनि कम हुँदै जान्छ ।  परिवारका अन्य सदस्यलाई अकारण नै क्षोब तथा ग्लानि सहनुपर्ने हुन्छ ।  यसप्रकार एक जनाको गल्तीले गर्दा पूरै परिवार  दण्डित भइरहेको हुन्छ । 

  पारिवारिक जीवन एक गम्भीर जिम्मेवारी हो ।  यहाँ हरकाम सोचेर, सम्झेर गर्नुपर्ने हुन्छ साथै हरकार्यको दूरगामी परिणामबारे सोच्नुपर्ने हुन्छ, कुन कार्यले परिवार र समाजमा कस्तो खालको प्रभाव पर्छ त्यो बुझ्नु जरुरी हुन्छ ।  परिवारका प्रत्येक सदस्यको भावना तथा स्वाभिमानको रक्षा गर्ने दायित्व पनि परिवारमाथि नै हुन्छ । 

परिवारका प्रत्येक सदस्य अन्यसँग भावनात्मक, सामाजिक, आर्थिक अनि व्यावहारिक रूपमा जोडिएका हुन्छन्, कसैको कार्य या विचारबाट एकअर्कामा सहयोग पुग्दैन भने त्यो परिवार शीघ्र नै विखण्डित हुन्छ । परिवार समाज को धरोहर हो, हामी कसैलाई पनि यो अधिकार छैन, आफ्नो मनोमानी ढंगले अर्काको अधिकार हनन गर्ने तथा आफ्नो निजी स्वार्थपूर्तिका लागि अरूको शोषण गर्ने । परिवार अनि समाजको अर्थ संयुक्त रूपमा प्रत्येक सुख–सुविधा उपयोग गर्नु हो । 

आपसी प्रेम, सद्भाव र सहृदयताले नै मानव समाजलाई सदैव आपसमा जोडेर राखेको छ, यस कुरालाई सबैले मानेका छन् । यहाँ प्रत्येक मानिस एक्लो हुँदाहुँदै पनि संयुक्त छ ।  आफ्ना अनि अपनत्वबाट घेरिएको छ ।  यही भावले मानिसलाई चरम सुख दिएको हुन्छ । 

राजन गिरी, रूपा गाउँपालिका, कास्की, हालः अफगानिस्तान


प्रतिक्रिया दिनुहोस !