जहाज चलाउने साहुहरुले तिरेनन् १० करोड

जहाज चलाउने साहुहरुले तिरेनन् १० करोड

मुलकका मै हुँ भन्ने व्यवसायीले आफ्नो नाममा रहेको एअरलाइन्सको बक्यौता नतिरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ३० दिने सूचना जारी गरेको छ ।

तेस्रो पटक भदौ १२ गते प्रकाशित सूचनामा प्राधिकरणले सञ्चालनमा नरहेका एअरलाइन्सहरुको ९ करोड ९६ लाख ७६ हजार बक्यौता रकम बुझाउन ९ वटा कम्पनी र २ दर्जनभन्दा बढी सञ्चालकको नाम प्रकाशित गरेको हो ।

बक्यौता रकम बाँकी राखेका कतिपयलाई त्यहि प्राधिकरणले नयाँ एअरलाइन्सको सञ्चालक बन्नसमेत छुट दिएको थियो । तर पछिल्लो पटक प्रकाशित सूचनामा बक्यौता भुक्तानी नगर्ने कम्पनीका सञ्चालकहरुलाई कालोसूचिमा राख्ने चेतावनी भने दिइएको छ ।

सरकारलाई बक्यौता तिर्न बाँकी सञ्चालकमा यसअघि नै निधन भइसकेकादेखि विदेशी नागरिकसम्म देखिन्छन् । कर्णाली एअरका नारायणसिंह पुन र स्काइलाइन एअरवेजका आङछिरिङ शेर्पाको निधन भइसकेको छ । एअर काष्ठमण्डपका हमाद अली जावोर कतारी नागरिक हुन् ।प्राधिकरणको सूचनाअनुसार सञ्चालक मुकुन्दभक्त श्रेष्ठ, दिपमणि राजभण्डारी,दिपकराज कोइराला,रविन्द्र श्रेष्ठ,मृगेन्द्र जोशी र रविचन्द्रमान श्रेष्ठको नाममा ४ करोड ७२ लाख २५ हजार ३ सय ४३ रुपैयाँ बक्यौता देखिएको छ ।

त्यसैगरी शिवानी एअरका मणिन्द्रलाल रञ्जितकारको नाममा ५५ लाख ५१ हजार ५३ रुपैयाँ र अल्पाइन एअरका नाममा ७२ हजार ७ सय २८ रुपैयाँ बक्यौता छ । जसका सञ्चालकहरुमा क्याप्टेन प्रदीपमान सिंह, सुरेन्द्रबहादुर मल्ल र दिवङ्गत महेश्वरभक्त श्रेष्ठ छन् ।

गोरखा एअरका सञ्चालक प्रज्वल श्रेष्ठ र डा. उज्वल श्रेष्ठको नाममा उठ्न बाँकी रकम २० लाख ३५ हजार २९ रुपैयाँ रहेको प्राधिकरणले सार्वजनिक गरेको छ । कर्णाली एअरका स्व.नारायणसिंह पुन र सविना राई पुनको नाममा १७ लाख ४६ हजार ३ सय रुपैयाँ बक्यौता रहेको देखिन्छ ।

प्रज्ञानसमशेर जंगबहादुर राणा, सिध्दिदा राणा र शिवेद्रबहादुर बस्नेतको नाममा रहेको माउण्टेन एअरले पनि १२ लाख ७३ हजार ६ सय ९४ तिर्नु पर्ने देखिन्छ । कस्मिक एअरका रविन्द्रप्रसाद प्रधानको नाममा ३ करोड ४७ लाख ५८ हजार ७० रुपैयाँ बाँकी छ ।

स्काइलाइन एअरवेजका ५ जना सञ्चालकले १५ लाख ५० हजार ४ सय तिर्न बाँकी छ । स्व. आङछिरिङ शेर्पा,पेम्बा छिरिङ शेर्पा,मिङ्मा दोर्जे शेर्पा,तेन्जिङ नोर्बु शेर्पा र यादव खरेलको नाममा उक्त बक्यौता रकम देखिएको हो ।

एअर काष्ठमण्डपका प्रज्वल श्रेष्ठ, उज्जवल श्रेष्ठ र हमाद अली जावोरले प्राधिकरणलाई ७ लाख ३८ हजार ४ सय ४७ रुपैयाँ तिर्न बाँकी रकम देखिएको हो ।

विगतमा बक्यौता रकम बाँकी राखेका कतिपयलाई त्यहि प्राधिकरणले नयाँ एअरलाइन्सको सञ्चालक बन्नसमेत छुट दिएको थियो । तर पछिल्लो पटक प्रकाशित सूचनामा बक्यौता भुक्तानी नगर्ने कम्पनीका सञ्चालकहरुलाई कालोसूचिमा राख्ने चेतावनी भने दिइएको छ ।

टिप्पणीहरू