न्यूज 24 को शेयर दिलाउने भन्दै ठगी गर्ने पत्रकार समातिए

न्यूज 24 को शेयर दिलाउने भन्दै ठगी गर्ने पत्रकार समातिए

पत्रकारिताको आवरणमा ठगी गर्ने दुई पत्रकार समातिएका छन् । न्यूज २४ को शेयर दिलाउने भन्दै सोझासीधा नागरिकबाट लाखौँ रकम असुलेर भागेका पत्रकार धमेन्द्रबहादुर शाही र राजेन्द्र बिक केही दिनअघि समातिएका हुन् ।

आफ्नो सञ्चार माध्यममा शेयर धनी बनाइदिने भन्दै ३० भन्दा बढी सर्वसाधारणसँग पैसा असुल गरेर सम्पर्कबिहीन भएका सुर्खेतको सुर्खेत न्यूज २४ प्रालिका अध्यक्ष शाही र उपाध्यक्ष बिकलाई ठगीको आरोपमा गत भदौ ३ गते प्रहरीले समातेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई जनाले मिलेर ३ लाख बढी रकम ठगी गरेको आरोप लगाएको छ । शाही र बिकमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

शेयर धनी बनाइदिने भन्दै उनीहरुले रकम असुलेको सुर्खेतका एसपी रामप्रसाद घर्ति मगरले बताए । मगरका अनुसार उनीहरुबाट ठगिएकालाई सम्पर्कमा आउन भनिए पनि हालसम्म कोही आएका छैनन् ।

यसअघि जनआस्थामा दैलेखका कलम खत्रीसँग पत्रकार शाहीले ६५ हजार ठगेर धम्काउँदै आएको समाचार सार्वजनिक भएको थियो । पत्रकार शाहीले पैसा लिएको र फिर्ता माग्दा धाकधम्की दिने गरेको खत्रीको गुनासोका आधारमा जनआस्थाले समाचार लेखेको थियो ।

शाही पक्राउबारे खत्रीले भनेका छन्उ,’प्रहरीकहाँ गएर बुझेको, उनीहरु पक्राउ परेका रहेछन्, उनीहरुले सोझासाझा २०–३० जना अन्यलाई पनि ठगेर धम्काउँदै आएका छन् । उनीहरुलाई कुसुम सापकोटा नाम गरेकी महिलाले पनि साथ दिने गरेकी छन् ।”

उक्त घटनामा मुछिएकी सापकोटाको भने कतै नाम नआएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू