राजसंस्थालाई साथ दिन ठाकुरको आह्वान

राजसंस्थालाई साथ दिन ठाकुरको आह्वान

राजसंस्थाको वकालत गर्दै आएको नेपाली नागरिक अभियानका संयोजक डा.ठाकुरमोहन श्रेष्ठले नेपालमा पुनः राजसंस्था स्थापना हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । राजसंस्था नेपालको आवश्यकता रहेको र श्री ५ अर्थात् पूर्वराजा ज्ञानेन्द्रबाट जनताले धेरै आशा राखेको उहाँले बताउनुभएको छ ।

राजाको नेतृत्वमा सञ्चालित शासन, प्रशासन,रक्षा,सुरक्षा र विकासका बागडोर नियन्त्रणजस्ता सम्पूर्ण कार्यको अपजस र दोष मात्र राजसंस्थामाथि थुपारेर राजालाई हटाउने षड्यन्त्र गरिएको श्रेष्ठले आरोप लगाउनुभएको छ । तत्कालीन राजालाई शान्ति सम्झौता र १२ बुँदेमा निषेधित गरेर विदेशी शक्तिहरुलाई विकास र सुधारका नाममा सुनियोजित ढंगले मुलुकको राजनीतिमा भित्र्याइएको उहाँले दाबी गर्नुभएको छ ।

पञ्चायती व्यवस्था र वहुदलीय व्यवस्थामा समेत एक्लौटी पात्रले मात्र अवसर पाएको कारण सन्त नेता कृष्णप्रसाद भट्टराई तथा लौहपुरुष गणेशमान सिंहहरु दलबाटै टाढा हुनुपरेको उहाँको निचोड छ ।

राजा र जनता स्वयमलाई झुक्याएर विदेशी शक्तिहरुको सपना पूरा गरिदिने राजनीतिक नेताहरुलाई उहाँले बज्रस्वाँठको बिल्ला भिराइदिनुभएको छ । उहाँले जनतालाई सजग रहन अपिल गर्दै भन्नुभएको छ, ‘हिन्दुराज्यको जरो उखेल्ने,राजालाई सदाका लागि निषेध गर्ने र मुलुकलाई धार्मिक, जातीय र क्षेत्रीय दङ्गामा होमेर विदेशी शक्तिको रणभूमि बनाउने खेलबाट बचौं र बचाऔं ।’

टिप्पणीहरू