माधवमाथि कृष्णगोपालको गाली मनपरि

माधवमाथि कृष्णगोपालको गाली मनपरि

एमालेलाई फुटबाट बचाउन दुबै पक्ष सँयमित हुनुपर्ने केही नेताको हिजोको आग्रहका वावजुद नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले माधव नेपाल समूहलाई ‘विषाक्त सर्प’ को संज्ञा दिएका छन् । माधव समूह एमालेबाट बाहिरिएकोमा खुशी हुँदै उनले अब एमालेमा शुध्दिकरण अभियान शुरु हुने पनि उद्घोष गरे ।

एक छिनअघि एमालेको पुरानो पार्टी कार्यालय रहेको मदननगर बल्खुमा काठमाण्डौं क्षेत्र नं ९ र १४ नं वडा पार्टी कार्यालयको संयुक्त उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले ‘पार्टीमा लुकेर रहेको विषाक्त सर्प’ निस्केकाले एमाले झन् बलियो हुने दाबीसमेत गरे । नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेका माधव नेपाल पक्षका नेताहरुलाई कुबुध्दि भएका मान्छे भन्दै उनले थपे,’यी कुबुध्दि भएकाहरुको नाम लिन पनि मन लागेको छैन ।’

ललितपुरमा पार्टी कार्यालय माधव नेपाल पक्षले खोस्न खोजेको भन्दै उनले भगौडाहरुले नपाउने चेतावनी दिए ।

सम्बोधनका क्रममा श्रेष्ठले माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चर्को आलोचना गरेका थिए । माओवादीसँग एकता गरेर प्रचण्डलाई अध्यक्ष स्वीकार गर्नु गलत निर्णय भएको भन्दै उनले भने, ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई अध्यक्ष स्वीकार्नु गलत थियो, पार्टीबाट गयो,ठीक भयो ।’ उनले क्षेत्र नम्बर १,४,६ र १० मा माओवादीका कारण संयुक्त गठवन्धन पराजित भएको पनि दाबी गरे । त्यतिबेलादेखि नै नेकपा फुटाउन माओवादीले योजना बनाइरहेको उनले आरोप लगाए ।

‘ओली इज ओली’ भन्दै प्रशंसा गरेका उनले ओलीलाई कसैले हल्लाउन नसक्ने जिकिर गरे । प्रचण्ड र माधवले कम्युनिस्ट आन्दोलन नामेट पार्न खोजेको आरोप लगाएका उनले ओलीले आन्दोलन जोगाउने दाबी पनि गरे । पुष्पलाल,तुल्सीलाल र मनमोहनको आदर्श बोकेको एमालेमा रहेर माधव नेपालले ठूलो धोका दिएको भन्दै आक्रोश व्यक्त गरे । माधव नेपालको एकीकृत समाजवादी माओवादीमा विलय हुने श्रेष्ठको ठोकुवा छ ।

‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई अध्यक्ष स्वीकार्नु गलत थियो, पार्टीबाट गयो,ठीक भयो ।’

उपत्यकामा ५ जनाको कमिटीले झोलामा पार्टी कार्यालय सन्चालन गरेको ईतिहास बोकेर अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले ओलीले नेतृत्व गरेको एमालेले नै कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताए । ‘विगतमा बागबजारमा केन्द्रीय कार्यालय मेरो पहलमा स्थापना गरेको हो । अब छिटोभन्दा छिटो जिल्ला पार्टी कार्यालय स्थापना गरिन्छ’,उनले भने ।

ललितपुरमा पार्टी कार्यालय माधव नेपाल पक्षले खोस्न खोजेको भन्दै उनले भगौडाहरुले नपाउने चेतावनी दिए । तत्कालीन समयमा बल्खुको पार्टी कार्यालय भत्काउँदा माधवपक्षका नेताहरुले स्थायी कमिटी बैठकमा शालिक पनि भत्काउने प्रस्ताव राखेको आरोप लगाउँदै उनले आफूले रोकेको दाबी गरे । ती नेताहरुलाई दुष्ट सम्बोधन गर्दै उनले भने, ‘मदननगरमा दुष्टहरुको छायाँ नपरोस् । “

‘यी कुबुध्दि भएकाहरुको नाम लिन पनि मन लागेको छैन ।’

उनले संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्णयको पनि खुलेर बचाउ गरेका थिए । संसद विघटनको निर्णयलाई समयको माग र आवश्यकता भने । ठूलो संघर्षले एमाले र सूर्य चिन्ह हात पारेको भन्दै खुशी भएका श्रेष्ठले त्यसैको बलमा आउँदो चुनाव जित्ने दाबी गरे । श्रेष्ठ अदालतमाथि पनि खनिएका थिए । अदालतलाई देखाइदिने धम्कि दिएका उनले अदालतका ५ जना श्रीमानले देउवालाई प्रधानमन्त्री नियुक्त गरेपनि फागुनमा हुने स्थानीय निर्वाचनमा एमाले पहिलो दल बनेर आउने दाबी गरे ।

क्षेत्र नं. ९ लाई एमालेको लाल किल्ला बनाउने बताएका उनले नागार्जुनको स्युचाटार,भीमढुङ्गा र सीतापाइला तथा नैकापमा पार्टीको सम्पर्क कार्यालय खोल्ने योजना पनि सुनाए ।

टिप्पणीहरू