​विद्यादेखि हात्तीसम्मको सुरु भयो घमासान

दौरासुरुवालमा ठाँटिएर नोमिनेसन गर्न ठिक्क परेका कामरेडहरू अन्ततः हिस्स परेका छन् । हिजो स्थानीय निर्वाचनको पहिलो चरणअन्तर्गत मनोनयन पत्र दर्ता गर्ने दिनभरजसो एमाले नेता विशेषतः काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार टुंग्याउन नसक्दा घम्साघम्सी गरिरहँदा बाहिर बसेका आकांक्षी भने अहिल्यै नोमिनेसन गरिहालौँलाझैं ठाँटिएर हिँडेका थिए । 

काठमाडौं महानगरमा अन्ततः युवा नेता विद्यासुन्दर शाक्य उम्मेदवार बनेका छन् । तर, मिडिया प्रपोगन्डामा अगाडि रहेका केशव स्थापित र बूढानीलकण्ठ नगरपालिकाका लागि मेयरका आकांक्षी कुसुमकुमार कार्कीहरू तप्प–तप्प आँसु झार्दै घरतिर लागेका छन् । 

केशव स्थापितलाई दिउँसो १२ बजे नै माधव नेपालले भनिसकेका थिए, ‘म अडान लिन्छु । हार्नेलाई म दिन्नँ ।’ उनको भनाइ थियो, ‘केशव अराजक छ । पार्टीको निर्णय पनि टेर्दैन भनेर साथीहरू गुनासो गर्दै छन् । अबदेखि यसो नगर्नु । सुधार गर्नु ।’ माधवले नै यति भनिसकेपछि केशव विश्वस्त नहुने कुरै थिएन । तर, विगतमा संकटका बेला पार्टी छाड्ने र पार्टीप्रतिकूल भूमिका निभाउने उनको ‘अनैतिक आचरण’ को सजाय अझै नपुगेको भन्दै योगेश भट्टराई बेग्लै लबिङमा लाग्ने नै भए ।

सोमबारको स्थायी कमिटी बैठकमा प्रदेश कमिटीबाट प्रस्तावित तीन नाम विद्यासुन्दर, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको प्रस्ताव टेबुल भयो । तर, शंकर पोखरेलले केशवको नाम प्रस्तावित गरेका थिए । त्यसलाई उपाध्यक्ष वामदेव गौतमले ‘ठीक हो’ भनेर समर्थन गरेपछि सोमबारबाट केशव काठमाडौं महानगरका मेयरको उम्मेदवारका रूपमा निकै चर्चामा पनि आए । हुँदाहुँदा दिउँसो २ बजेतिर केपी ओलीले उनकै नाममा उम्मेदवारी दिने गरी चिठी तयार पार्नेसम्मको सुरसार कसेका थिए । तर, माधवपक्षीय नेताले मान्दै नमान्दा अन्ततः केपी पक्षधर नै, तर केशवबाहेकका उम्मेदवारको खोजी भयो । ०४९ र ०५४ का स्थानीय निर्वाचनमा सानदार मतसाथ काठमाडौंको २१ नं. वडामा जितेका विद्यासुन्दर शाक्य भावी मेयरका रूपमा एमाले उम्मेदवार घोषित भए । 

यस्तै रुवाबासी चल्यो, बूढानीलकण्ठ नगरपालिकाका लागि । पहिल्यै चर्चामा आएका, तर पार्टी जिल्ला कमिटीको सिफारिसमा नपरेका कुसुमकुमार कार्कीलाई मेयरको उम्मेदवार बनाउने निर्णय कोटेश्वरमा सम्पन्न ३ नं. प्रदेश संगठन कमिटीको बैठकले ग¥यो । बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा बुझाउने पत्र तयार पार्न प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले निर्देशन पनि दिइन् । तर, तत्कालै अष्टलक्ष्मीलाई बालकोटबाट बोलाहट भयो । निर्देशन थियो, कुसुमको नाम फिर्ता लिने, उद्धव खरेलको नाम पठाउने † प्रदेश कमिटीबाटै निर्णय भइसकेपछि कुसुम र उनका सहयोगी नाचगानमा लागिसकेका थिए । तर, निर्वाचन आयोगमा बुझाउनुपर्ने पत्र नबनेपछि उनीहरू खिन्न भए । कुसुम पक्षको आरोप छ, ‘यो काम महासचिव ईश्वर पोखरेलबाट भएको हो ।’ 

एमालेले काठमाडौंमा मेयरको उम्मेदवारी दिए पनि उपमेयरमा राप्रपाका राजाराम श्रेष्ठलाई समर्थन गर्ने गरी छाडिदिएको छ । अब काठमाडौंमा कांग्रेसका राजुराज जोशी, माओवादीका सर्वोत्तम डंगोललगायत उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरमा एमाले जिल्ला पार्टी अध्यक्ष हरिकृष्ण व्यञ्जनकारसँग कांग्रेसका चिरिबाबु महर्जन, माओवादीका दिनेश महर्जन (दीपेश) बीच मेयरमा प्रतिस्पर्धा हुने भएको छ । ललितपुरमा पनि एमालेले राप्रपाका लागि उपमेयर खाली राखिदियो । काठमाडौंसँगैको बूढानीलकण्ठ नगरपालिकामा मेयरमा एमालेका उद्धव खरेल, उपमेयरमा रमा राईहरूको उम्मेदवारी दर्ता भएको छ । कांग्रेसले गगन थापाका विरोधी हात्तीका नामले चिनिने राजुलाई मेयरको उम्मेदवार बनाएको छ । त्यहाँ हात्ती र एमालेबीच प्रतिस्पर्धा चल्ने भएको छ ।

टिप्पणीहरू