युएन मिसनका गाडीको पार्टपुर्जा गायब,सशस्त्रमा गडबडी

युएन मिसनका गाडीको पार्टपुर्जा गायब,सशस्त्रमा गडबडी

राष्ट्रसंघीय मिसनमा पठाइने सवारी साधनका महंगा पार्टपुर्जा बीचबाटै गायब पारेर सशस्त्र प्रहरी बलमा भ्रष्टाचार हुने गरेको आरोप छ । माथिल्लो तहका हाकिम र शाखा प्रमुख मिलेर लामो समयदेखि त्यस्तो काममा घोटाला हुँदै आएको एकथरिले बताए । सेटिङ्ग मिलाएर प्रहरी बलले युएन मिसन पठाउने सवारी साधनका महंगा पार्टपुर्जा बेच्ने र गाडीका सामान स्टोर गर्न लैजाने नाममा बीचबाटै गायब बनाउने काम समेत भएको बताइन्छ ।

सशस्त्र प्रहरीको मुख्यालयमा सवारी साधनको खरिद, व्यवस्थापन,मर्मत सम्भारका लागि सवारी शाखाको व्यवस्था गरिएको छ । जसको प्रमुखका रुपमा तीन वर्षभन्दा बढीदेखि एसपी प्रमोद साह कार्यरत छन् । उक्त शाखा मातहत वर्कसपको कमाण्डरमा तीर्थराज बर्तौलालाई तोकिएको छ । उनै बर्तौला,भीमबहादुर बस्नेत, सुरज थापा र देवनारायण चौधरीसहितको मिलोमतोमा पार्टपुर्जा हिनामिना हुने गरेको स्रोतले बताएको छ ।

त्यस्ता पार्टपुर्जाहरुसहित वर्षौंदेखि मुख्यालयमा थन्किएका गाडीका सामान सवारी शाखाबाट बलम्बुस्थित मर्मत सम्भार केन्द्रमा लैजाने नाममा बीचबाटै गायब हुने गरेको दाबी गरिएको छ । यसको नेतृत्व बर्तौलाले गरेको समेत सशस्त्रभित्रै चर्चा हुन थालेको हो ।

यसबीच मर्मत सम्भारका लागि भनेर लगिएका सात वटा ट्रकमध्ये छ वटा ६ चक्के हुन् । ती ट्रक सतुंगलका विभिन्न कवाडी पसल नजिकै रोक्दै सामान झारिएको बताइन्छ । अन्तमा तीर्थराज, भीमबहादुर,सुरज र देवनारायणको योजनाबमोजिम मुख्यालय र मर्मतसम्भार केन्द्रका सबै कागजपत्र तन्दुरुस्त बनाइएको छ ।

जनआस्थालाई प्राप्त विवरणमा लेखिएको छ,‘महंगो,काम लाग्ने र पैसा आउने खालका सामान बीचमै बेचिन्छ । काम नलाग्ने सामान हालिएको ट्रक मात्र मर्मत सम्भार केन्द्रमा पठाएपछि नगदनारायण हात पार्ने गरिएको छ ।’ तीन वर्षभन्दा लामो समयदेखि सवारी शाखामा बसेका एसपी साहलाई पनि यसबारे सबै थाहा छ । तर उनी मुख खोल्न चाहँदैनन् । किनभने सशस्त्रको नियमावलीविपरित माथिल्लो तहका हाकिमलाई गाडी र इन्धन उपलब्ध गराएर भए पनि रिझाउँदै बसेको मान्छेले आँखा चिम्लिनुको विकल्प नभएको विवरणमा लेखिएको छ ।

दशौं वर्षदेखि थुप्रिएका सवारी साधनका उपकरण,ब्याट्री र पार्टपुर्जाहरु केही महिनाअघि मात्र बेचेर भागशान्ति जय नेपाल गरेको सन्दर्भ मुख्यालयमा एक कान,दुई कान मैदान भयो । त्यसपछि सशस्त्रले एक जना एसएसपीको संयोजकत्वमा छानबिन समिति नै बनाएको थियो । समितिले घटनाबारे पूर्णरुपले छानबिन गरेर केहीको बदमासीसमेत खुलाएर प्रतिवेदन बुझाए पनि कारबाही प्रक्रिया भने त्यत्तिकै रोकिएपछि सबै झस्किएका छन् ।

बदमासी गर्नेहरुलाई छुट दिएपछि मुख्यालयमा कवाडीसँग उठाइएको रकम कहाँसम्म पुगेको होला भन्दै सबै तहकाले औंला भाँच्दै नानाथरीका आशंका गरेका छन् । प्रतिवेदन बुझाएलगत्तै अनियमिततामा संलग्न प्रहरीहरुलाई आवश्यक सोधपुछ गरिएको थियो । तर,उनीहरुलाई त्यत्तिकै छाडेपछि अहिले सशस्त्र मुख्यालयमा जस्तो भ्रष्टाचार गरेपनि छुट पाइने रहेछ भन्ने मान्यताले जरो गाडेको बताइएको छ ।

केही समयअघि तल्लो दर्जाका एक जवानले सहकर्मीको मोबाइल उछिट्याएको कारण जागिरबाट नै हात धुनुपरेको थियो । त्यसरी कारबाही गर्नुको पछाडि उक्त मोबाइल काण्डमा माथिल्लो तहका हाकिमहरु मुछिएका थिएनन् । तर अहिले लहरो तान्दा पहरो गर्जने डरले काम गरेको स्रोतले बताएको छ ।

टिप्पणीहरू