​नखेले हुन्थ्यो लहडी खेल

एउटा गाँठो फुकाउन अर्को झन् ठूलो गाँठो पार्ने प्रचण्डको पुरानै बानीको पुनरावृत्ति भएको छ । मधेसी दललाई सहमतिमा ल्याउन अनेकौं शर्त स्वीकार गरिएको छ । तर, निश्चित समयभित्र ती माग सम्बोधन गर्नुपर्ने शर्तचाहिँ कुनै हालतमा पूरा हुन नसक्ने देखिएको छ । पहिलो चरणको निर्वाचन वैशाख ३१ गते सकेर बाँकी १ महिनामा गर्ने कामको सूची नै अत्यासलाग्दो छ । सरकार परिवर्तन गर्नु छ । संविधान संशोधन गर्नै पर्ने छ । नीति तथा कार्यक्रम र बजेटलाई के गर्ने हो त्यो पनि टुंगो लगाउनुप¥यो । सामान्य रूपमा अनुमान लगाऊँ के गर्लान् त हाम्रा यिनै नेताले यस्तो छोटो समयमा यी सबै काम ? पत्याउने आधार नै छैन । 

त्यसमाथि सिंगो एमालेले पटक–पटक यसमा मेरो सहमति छैन । म यस्तो खालको सम्झौता मान्दिनँ । यसरी संघीयता कमजोर पार्ने, राष्ट्रियतालाई धरापमा पु¥याउने कुरा मान्य हुँदैन भनिरहेको छ । अब त्यस्तो भएपछि कहाँ पुग्दै छ मुलुक ? चिन्ता गर्नुपर्ने भएको छ । संविधान संशोधन यही अवस्थामा हुने सम्भावना छैन । जबसम्म संशोधन गरिँदैन मधेसी चुनावमा नजाने पनि पक्का छ । यो सबै कुरा थाहा हुँदाहँुदै किन प्रचण्डले ‘.. .. को न्यानो’मा रमाउने निर्णय गरेका होलान्, यसको पनि उत्तर सरल छ, प्रचण्डसँग योबाहेक अन्य विकल्प छँदै छैन । चुनाव घोषणा गरेका छन् । यत्तिकैमा छाड्ने हो भने त्यो हुन सम्भव थिएन । कम्तीमा वैशाख ३१ गते अल्पमत प्रदेशमै सही चुनाव त हुँदै छ । रोचक पक्ष अर्को पनि छ– पहिलो चरणको चुनाव त हुन्छ तर के त्यसको परिणाम नेपाली जनताले थाहा पाउने दिन आउला ? यसमा चाहिँ पूरापुर शंका छ । यस्तो शंका किनभने अति संवेदनशील एक महिना जुन पहिलो र दोस्रो चरणबीचमा छ त्यसबाहेक कुनै ठोस उपलब्धि मुलुकले हासिल गर्छ भन्ने आधार छैन । 

आखिर किन गर्छन्, यस्ता अव्यावहारिक निर्णय, हाम्रा नेताले ? किन सरकारले पटक–पटक एउटै प्रस्ताव झिक्दै, दर्ता गर्दै गर्नुपरिरहेको छ ? यसको जवाफचाहिँ मूर्तरूपमा देखिँदैन । एकमुष्ट रूपमा दलीय स्वार्थ, व्यक्तिगत पदलोलुपता, विदेशी चलखेलकोे संयोजनका रूपमा यसप्रकारका निर्णय हुने गरेको यथार्थलाई स्विकार्नु नेपाली जनताको नियति नै बनिसकेको छ । अब जनतासँग केही विकल्प बाँकी छ ? सीधा अर्थमा भन्दा छैन । तर, एउटा सवकचाहिँ जनताले सिकाउने मौका नजिकिँदै छ । सर्वशक्तिमान भनिएका जनताले आफ्नो सबैभन्दा बलियो अस्त्र ‘मतदान’ गर्ने तिथि नजिकिँदै छ । यसबीच नेपाल र नेपालीको सुख, दुःख र समस्याको सहयात्री बनाउनलायक कुन दल, कुन नेता, कुन व्यक्ति भन्ने पहिचान भइसकेको छ । अत्यन्त विवेकशील भएर मतदान गरौं र दुवै चरणका चुनाव सफल होस् भन्ने कामना गरौं । आवश्यक परे जिउ, ज्यान जोखिममा राखेर आन्दोलनमा होमिन हामी सधँै तयार त छँदै छौं !

टिप्पणीहरू