एमाले फुटेपछि १ नम्बरका शेरधन पनि अल्पमतमा

एमाले फुटेपछि १ नम्बरका शेरधन पनि अल्पमतमा

नेकपा एमालेमा आएको विभाजनले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई समेत अल्पमतमा पुर्याएको छ । माधवकुमार नेपालले एमालेबाट बिद्रोह गरी हिजो एमाले समाजवादी पार्टी गठन गरेपछि राई नेतृत्वको एमाले सरकार अल्पमतमा परेको हो ।

प्रदेश १ मा एमालेको एकल बहुमत रहेकोमा प्रदेशसभाका कम्तिमा १५ जनाले माधव नेपाल नेतृत्वको एमाले समाजवादी रोजेपछि सरकार संकटमा परेको बताइन्छ । कूल ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक हुन्छ । एमाले सग्लो हुँदा ऊसँग ५१ सांसद थिए ।

जसमध्ये १५ जनाले माधव नेपालको बिद्रोहलाई साथ दिएपछि एमालेसँग अब ३६ सांसद बाँकी रहेका छन्,जुन सरकार गठनका लागि आवश्यक ११ सांसद कम हो ।

प्रदेशसभामा काँग्रेसको २१,एमाले समाजवादी र माओवादी केन्द्रको समान १५ र जसपाका ३ सांसद छन् । केन्द्रमा समेत गठवन्धन बनाएका यी तीन दल मिल्दा बहुमत पुग्ने देखिएको छ ।

प्रदेशसभाको उक्त समिकरणले माओवादी बराबर हैसियत बनाएको एमाले समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना बढेको बताइन्छ । काङ्ग्रेस,माओवादी,एमाले समाजवादी र जसपा मिलेर नयाँ गठवन्धन सरकार बनाउने सम्भावनाबारे छलफल शुरु भैसकेको एक नेताले बताएका छन् ।

गण्डकीमा कांग्रेस तथा कर्णाली,लुम्बिनी र सुदूरपश्चिममा माओवादीले सरकारको नेतृत्व पाइसकेकाले १ नम्बर प्रदेशमा एमाले समाजवादीलाई नेतृत्व दिन दलहरु सकारात्मक रहेको बुझिएको छ ।

चार बर्षअगाडि बहुमतमा हुँदाहुँदै पनि एमालेको ओली खेमालाई माधव पक्षलाई ढिम्किन दिएको थिएन । भीम आचार्यको ठाउँमा जीवन घिमिरे वा अरु कोहीलाई उठाएको भए सजिलै जीत हुन्थ्यो,भीमको छुच्चो बोल्ने बानी र कडा मिजासले ऐन मौकामा धेरै थोक बिगृयो भन्नेहरु धेरै छन् ।

टिप्पणीहरू