भत्ता बोकेर वडा सचिवहरु हेलिकोप्टरमा हुरुरु

भत्ता बोकेर वडा सचिवहरु हेलिकोप्टरमा हुरुरु

-शंकर श्रेष्ठ

धादिङको रुबिभ्याली गाउँपालिकाका वडा सचिवहरुले सदरमुकामबाट कार्यक्षेत्र पुग्न हेलिकोप्टर चार्टर गरेका छन् । कार्यक्षेत्र जिल्लाकै दुर्गम भेगमा भएकाले पैदल जान समस्या भएको भन्दै वडा सचिवहरुले महंगो शुल्कमा हेलिकोप्टर चार्टर गरेका हुन् ।

रुबिभ्यालीका ५ जना वडा सचिवलाई काठमाण्डौबाट मगाइएको हेलिकोप्टरले हिजो दिउँसो धादिङबेसीबाट सेर्तुङस्थित रुबिभ्याली गाउँपालिका कार्यालय पुर्याएको हो ।

पालिकामा रहेको ६ वटा वडा ५ जना सचिवले सम्हाल्दै आएकोमा उनीहरु विभिन्न निहु पारेर गत महिनादेखि नै सदरमुकाममा बस्दै आएका थिए ।

स्रोतका अनुसार वडा नं. १ र २ को जिम्मेवारी लिएका कपिल सुवेदी र वडा नं. ६ की अनुसा राई परीक्षाको निम्ति भन्दै एक महिनादेखि सदरमुकाममा डेरा जमाएर बसेका थिए ।

वडा नं. ३ का विकास महर्जन, ४ की ललिता निरौला,५ की सम्झना रिमाल भने एक साताअघि सामाजिक सुरक्षा भत्ताको रकम निकाल्न सदरमुकामस्थित बैंक आएको बताइएको छ ।

धादिङबेसीदेखि रुबिभ्यालीको सेर्तुङ पुग्न हेलिकोप्टरलाई करिब एक लाख रुपैयाँ भाडा तिर्नुपर्छ । वडा सचिवहरुले भने आफूहरुले प्रतिव्यक्ति ११ हजार रुपैँया तिरेर हेलिकोप्टर मगाएको बताएका छन् ।

वडा सचिव सुवेदीले भने, ‘अहिले मोटर बाटो छैन,भत्ताको रकम बोकेर पैदल जाँदा जोखिम हुने भएकोले आफ्नै खर्चमा हेलिकोप्टरमा गाउँ आएका हौं ।’

यता वडा नं. २ का वडा अध्यक्ष पेम्बा घलेले पनि सामाजिक सुरक्षा भत्ता लिएर वडा सचिवहरुले आफ्नै खर्चमा हेलिकोप्टर प्रयोग गरेको बताएका छन् । वडा सचिवहरुले चार्टर गरेको हेलिकोप्टर फर्कंदा रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङ सेर्तुङबाट काठमाण्डौ गएका छन् ।

स्रोतका अनुसार हेलिकोप्टर चार्टर गरेको रकम हाललाई वडा सचिवहरु र पालिका अध्यक्षले व्यहोर्ने र पछि वडा अथवा पालिकाबाट मिलाउने सहमति छ ।

टिप्पणीहरू