सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई, तीन दिन हिँडेर लाईन बस्दा पनि हात रित्तै

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई, तीन दिन हिँडेर लाईन बस्दा पनि हात रित्तै

स्थानीय सरकारले सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिदिएकोे सामाजिक सुरक्षा भत्ता रुकुम पश्चिमका ज्येष्ठ नागरिक, एकल महिला, दलित बालबालिकाहरुले आर्थिक वर्ष बितिसक्दा पनि पाएका छैनन् ।

जिल्लाको आठबिसकोट नगरपालिकामा रहेका ज्येष्ठ, नागरिक, एकल महिला, दलित बालबालिकाहरुको नाममा जम्मा गरिएको भत्ता सेञ्चुरी कमर्सियल बैंकको ढिलासुस्तीका कारण उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

गत आर्थिक वर्षको पहिलो किस्ताको रकम सम्बन्धित वडा कार्यालयबाटै वितरण गरिएको थियो । दोस्रो र तेस्रो किस्ताको रकम नगरपालिकाले बैंक खातामा जम्मा गरे पनि लक्षित वर्गले भत्ता पाउन सकेका छैनन् ।

नगरपालिकाको वडा नम्बर ६ का नन्द बोहराले भत्ता समयमै नपाउँदा निकै समस्या झेल्नु परेको दुखेसो गरे । तीन दिन लगाएर राडी बजारमा रहेको बैंकमा आउनुपर्ने बाध्यता र आएको बेला रित्तै फर्कनु परेको कुराले यहाँका सबै लाभग्राहीहरुलाई मर्का परेको उनले जनाए ।

दिनका दिन बैंकको लाइनमा बस्दा पनि भत्ता नपाइएको स्यालाँखदीबाट आएका अर्का ज्येष्ठ नागरिकले गुनासो गरे । १४ ओटा वडा रहेको नगरपालिकाको केन्द्रबाट टाढा र विकटमा रहेका वडा नम्बर १, २, ३, ४, ५ र ६ नम्बर वडाका कसैले पनि अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।

उक्त विषयमा आठबिसकोट नगरपालिकाका सामाजिक सुरुक्षा शाखा प्रमुख टेकबहादुर चन्दले नगरपालिकाले नियमित रुपमा लक्षित वर्गले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता वापतको रकम बैंकमा जम्मा गरिएको बताए । उनका अनुसार ८ सय ८९ जना ज्येष्ठ नागरिक, ४ सय ७५ जना ज्येष्ठ नागरिक दलित, ३ सय १ जना ज्येष्ठ नागरिक, ४ सय ३३ एकल महिला, ४२ जना ‘क’ बर्गका अपाङ्गता भएका व्यक्ति, ‘ख’ वर्गका १ सय ६० जना अपाङ्गता भएका व्यक्ति, १ हजार ५ सय ६० जना दलित बालबालिका, २ हजार २ सय ६५ जना अन्य तोकिएका बालबालिका गरी ६ हजार १ सय ७४ जनाले पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता सेञ्चुरी बैंकमा जम्मा भइसकेको छ । एउटा मात्र बैंक भएको र भौगोलिक रुपले विकट रहकाले पनि समस्या भइरहेको शाखा प्रमुख चन्दले बताए ।

यता सेञ्चुरी बैंक आठबिसकोट शाखाका मेनेजर डम्बर गौतमले सुरुमा धेरै जनाको बैंक खाता नभएकाले वितरण गर्न ढिलाई भएको स्वीकार गरे । भर्खरै ग्राहक पहिचान (केवाईसी) फारम भरेर सकिएकाले अब सहज रुपमा वितरण हुने उनको भनाइ छ । गौतमले अब भत्ता वितरण गर्न बाँकी रहेका सबै वडामा बैंकको टिम आफैँ पुगेर भए पनि वितरण गरिने जनाए । उनले भदौ महिनाभित्र सबैको भत्ता वितरण गरिसक्ने समेत जानकारी दिएका छन् ।

टिप्पणीहरू