आज राजधानीमा गृहमन्त्रीको निरीक्षणदेखि विरोध कार्यक्रमसम्म

आज राजधानीमा गृहमन्त्रीको निरीक्षणदेखि विरोध कार्यक्रमसम्म

युथ फोर्स नेपालले आज बिहान ८ बजे सानो गौचरण खेल मैदानमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ भने बिहान ९ बजे गृहमन्त्री बालकृष्ण खाडले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण गर्न हलचोक पुग्नुभएको छ ।

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपा, ललितपुरमा आज पनि बारा र धनुषामा क्रियाशील सदस्यता वितरणमा भएको धाँधली विरुद्ध धर्ना कार्यक्रम ९ बजेबाट सुरु भएको छ ।

उत, नेपाल टेलिकम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगममा हुँदै आएको धर्ना, तालाबन्दी र प्रदर्शन कार्यक्रम आज पनि राखिएको त्यहाँका कर्मचारी संगठनहरुले बताएका छन् ।

जनता समाजवादी पार्टी केन्द्रीय कमिटीको हिजोदेखि सुरु भएको बैठक आज पनि बस्दैछ । बैठक अमृतभोग पार्टी प्यालेस, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजेबाट बस्ने जनाइएको छ ।

उता क्रान्तिकारी पत्रकार संगठन, नेपालले कम्युनिस्टहरू बीचको ध्रुवीकरण आवश्यकता र चुनौती विषयक अन्तरक्रिया गर्दैछ । दिउँसो साढे १२ बजे संवाद डबली, अनामनगरमा हुने कार्यक्रममा नेताहरु कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, धर्मेन्द्र वास्तोलालगायतका नेताहरू सहभागी हुने बताइएको छ ।

आज सिंहदरबारमा संसदको विभिन्न समितिको बैठक बस्दैछ । जसमा कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा दिउँसो १ बजे बस्ने बताइएको छ ।

दिउँसो १ बजे थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले थरुहट थारुवान विद्रोहको ६ वर्षको अवसरमा माइतीघरमा धर्ना कार्यक्रम राखेको छ ।

उता अन्टुफ केन्द्रीय कमिटीले कोरोना सम्बन्धी सचेतना कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रम गोंगबुस्थित नयाँ बसपार्कमा दिउँसो २ बजे हुने बताइएको छ ।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपालले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने सरकारको जनघाती निर्णय तथा सरकारी दमनविरुद्ध देशव्यापी आन्दोलन गर्ने भन्दै आज दिउँसो ३ बजे नयाँ बानेश्वरमा विरोध कार्यक्रम गर्दैछ ।

आजै संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको माग राख्दै रोजगारदाताहरूलाई ज्ञापनपत्र पेश गर्ने भएको छ । त्यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले पनि मागपत्र बुझाउने भएको छ । तर, दुबैले समय खुलाएका छैनन् ।

कालिमाटीमा रहेको काठमाडौं इञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले शुल्क घटाउनुपर्ने माग राखेर हिजोदेखि त्यहाँको लेखा शाखामा गरेको तालाबन्दी आज पनि जारी रहने बताएका छन् । उता त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेण्टको डाइरेक्टरको कार्यकक्ष, क्याथफोर्ड कलेज ललितपुर र पशुपति बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी आज पनि जारी रहने विद्यार्थी संगठनहरुले जनाएका छन् ।

टिप्पणीहरू