धान खाने मुसो, चोट पाउने च्यामे

सप्तरीमा गोलीकाण्ड भएलगत्तै विराटनगर गएकी मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी उतैउतै राजविराजतर्फ सोझिइन् । मधेसी मोर्चाका कार्यकर्ताले उनी चढेको गाडीमाथि त्यहीं ढुंगामुढा गरे । गाडी क्षतिग्रस्त भयो तर सोको दोष भने आयोगकै कर्मचारीमाथि लागेको छ । 

उनले कर्मचारीलाई आरोप लगाउँदै भनेकी छन्, ‘२३ गते एमाले सभाको अनुगमन गर्न गएका हाम्रा कर्मचारीले औद्योगिक क्षेत्रभित्र छिरेर ढुक्कैसँग एमाले नेताहरुको भाषण सुने । मानवअधिकार आयोगको ज्याकेट, टोपीमा सजिएर ध्यानपूर्वक भाषण सुनिरहेका उनीहरुको तस्बिरसहित अनलाइनहरुमा समाचार प्रकाशित भएको प्रतिक्रियास्वरुप उत्तेजित मधेसी कार्यकर्ताले ममाथि आक्रमण गरेका हुन् ।’

साथै उनले प्रहरीतर्फबाट अश्रुग्यास र आन्दोलनकारीतर्फबाट ढुंगामुढा हुँदा बीचमा बसेर दुईपक्षको भिडन्त रोक्नुपर्नेमा त्यस्तो भूमिका नदेखिएको आरोप पनि आफ्ना कर्मचारीमाथि लगाएकी छन् । स्वाभाविकै रुपमा आयोगका कर्मचारी लोकसेवा पास गरेका हुन्छन् र उनीहरुलाई ड्युटी खटाइएको ठाउँमा नेताले कस्तो भाषण गरे, स्थिति भड्काउन त्यसले कति भूमिका खेल्यो भन्ने कुराको समेत समीक्षात्मक रिपोर्टिङ गर्ने दायित्व सुम्पिइएको हुन्छ । 

त्यस्तो हुँदैनथ्यो भने आयोगले फागुन २० गते गरेको निर्णयमा पोहोरको टीकापुर काण्ड हुनुका पछाडि राजेन्द्र महतो, उपेन्द्र यादव र अमरेशकुमार सिंहको उत्तेजक भाषण पनि कारक रहेको ठहरसहित नेताहरुलाई आइन्दा त्यस्तो भूल नगर्न खबरदारी गर्नसक्ने नै थिएन । तर यहाँ त मोहनाले यी सबै तथ्य बिर्सेर आफ्नै कर्मचारीमाथि खनिएको अवस्था छ । दुःखी कर्मचारी भन्छन्, ‘मधेसमा जन्मिएपछि मधेसको दोषप्रति ड्याम्मै आँखा चिम्लिनुपर्ने रहेछ है !’

टिप्पणीहरू