किर्तिपुरमा छिमेकीद्वारा मिर्गौलाका वृद्ध बिरामीलाई घरमै पसेर कुटपिट, ६२ वर्षीया वृद्धाको टाउकोमा ईंटा प्रहार

किर्तिपुरमा छिमेकीद्वारा मिर्गौलाका वृद्ध बिरामीलाई घरमै पसेर कुटपिट, ६२ वर्षीया वृद्धाको टाउकोमा ईंटा प्रहार

किर्तिपुरमा एक छिमेकी युवाले दुई जेष्ठ नागरिकमाथि निर्घात कुटपिट गरेका छन् । किर्तिपुर नगरपालिका–५ का ६९ वर्षीय नेत्रप्रसाद खनाल र उनकी ६२ वर्षीया श्रीमती सरस्वती खनाललाई छिमेकी ३५ वर्षीय राधेश्याम विष्टले आज बिहान घरमै गएर निर्घात कुटपिट गरेका हुन् ।

कुटपिटबाट मिर्गौलाका बिरामी नेत्रप्रसादको डाइलायसिस गर्दा प्रयोग हुने नाडीमा लगाइएको फिस्टुला भाँचिएको छ भने सरस्वतीको टाउको फुटेको छ ।

स्थानीयका अनुसार यसअघि पनि खनाल परिवारलाई ज्यान मार्ने धम्की दिँदै आएका विष्टले आज बिहान साढे ५ बजे एक्कासी उनीहरुमाथि सांघातिक आक्रमण गरेका हुन् । विष्टले घरको गेट खोलेर तथानाम गाली गर्दै वृद्ध दम्पतिमाथि इट्टा र ढुंगाले लगातार आक्रमण गरेको एक जना प्रत्यक्षदर्शीले बताए । वृद्ध दम्पति बिहान नियमित डायलासिसको लागि अस्पताल जाने तयारी गर्दै थिए ।

वृद्धवृद्धामाथि कुटपिट गर्ने विष्टलाई महानगरीय प्रहरी वृत्त किर्तिपुरबाट गएको प्रहरी टोलीले दिउँसो पक्रेर हिरासतमा राखेको छ । घटनाबारे जानकारी दिँदै वृत्तका डिएसपीले विष्टविरुद्ध दुव्र्यवहारको मुद्दा दर्ता गरिएको र कानुनअनुसार कारबाही हुने बताउनुभएको छ ।

पीडित पक्षले भने पहुँचका आधारमा घटना सामसुम पार्ने र विष्टलाई छुटाउने प्रयास भइरहेको भन्दै आशंका गरेको छ । मुद्दा दर्ता नगर्न र टोलमै मिलापत्र गर्न वडासदस्य दिपेन्द्र विष्टले समेत दबाब दिइरहेको पीडित पक्षले बताएको छ ।

जनआस्थाको सम्पर्कमा आएकी पिडीतकी छोरी सम्झना खनालले रुँदै भनिन्, ‘आज बुबाको डायलासिस थियो, तर फिस्टुला भाँचिएको कारण अस्पतालले गरेन । रातभरीमा बुबाको हालत के हुने हो थाहा छैन । अब बुबाको छातिमा नयाँ फिस्टुला बनाउनुपर्ने चिकित्सकले बताएको उल्लेख गरिन् । जनप्रतिनिधि समेतले टोलमै मिलापत्र गर्नुपर्छ भनेर दबाब दिइरहेका छन् ।’

विगतमा पनि धेरै पटक धम्की दिँदै आएका विष्टले आज कल्पनै गर्न नसकिने घटना गरेको भन्दै उनले कानुनअनुसार कारबाही हुनुपर्ने बताइन् । आफूहरुले कुनै गल्ति नगरेको तर उपत्यका बाहिरबाट आएको परिवार भनेर विष्टले पटक–पटक होच्याउने, गालीगलौज गर्ने र अपशब्द बोल्ने गरेको बताइन् । ‘यसअघि पनि बेलाबेलामा ज्यान मार्ने धम्कि दिने गरेका थिए । तर, योस्तरको अमानवीय हर्कत् देखाउलान् भन्ने लागेको थिएन’, उनले भनिन् ।

सम्झनाका अनुसार लामो समयदेखिका मिर्गौलाका बिरामी उनका बुबा नेत्रप्रसादको सुमेरु अस्पतालमा डायलासिस हुँदै आएको छ । छिमेकीबाटै आमाबुबा कुटिएको खबर सुनेपछि चितवनमा रहेकी उनी आजै काठमाडौँ आइपुगेकी हुन् ।

टिप्पणीहरू