रोल्पाको सम्झना

प्रधानमन्त्री पुष्पकमल दाहाल अस्ति रोल्पा जानुभएछ । धेरैपछि उहाँ रोल्पाबाट प्रचण्ड भएर काठमाडौं छिर्नुभएको हो । अस्ति काठमाडौंबाट पुष्पकमल दाहाल भएर रोल्पा जानुभयो । रोल्पा बस्दा सधैँ परिवर्तनको कुरा गरिरहनुहुन्थ्यो । जे होस्, यतिचाहिँ परिवर्तन भएछ । बाँकी परिवर्तन पछि हुँदै जाला ।
रोल्पा पुग्दा उहाँ साह्रै भावुक बन्नुभयो । त्यसो त भावुक बन्नु पनि अहिले उहाँको नियमित कार्यक्रमजस्तै भइसकेको छ । भावुक बन्दै भन्नुभयो, ‘जब–जब मलाई अप्ठ्यारो महसुस हुन्छ तब–तब रोल्पालाई सम्झने गर्छु ।’
रोल्पालाई सम्झने पनि उहाँको आफ्नै टाइम रहेछ । सधैँभरि सम्झिने होइन । अप्ठ्यारो परेका बेला मात्रै † सप्ठ्यारो परेको बेला सम्झनुहुन्न । अर्थात् खुशीको बेला, सुखको बेला, रमाएको बेला, आफूलाई अनुकूल वातावरण भएको बेला, भोजभतेर चलेको बेला, मजाले खान पाएको बेला, पिउन पाएको बेला, हाँसखेल चलिरहेको बेला उहाँ रोल्पालाई सम्झनुहुन्न ।
बालुवाटारमा मजाले बसेको दिन रोल्पाको सम्झना हुँदैन । जब वालुवाटार छाड्नुपर्ला कि जस्तो अवस्था आउँछ तब रोल्पाको सम्झना हुन्छ । सिंहदरबारमा बसेको बेला रोल्पाको सम्झना हुँदैन । तर, जब सडकमा आउनुपर्ने समय हुन्छ, तब उहाँलाई रोल्पा सम्झन मन लाग्छ । अप्ठ्यारो दिन भनेको यही त होला नि, कसो ?

टिप्पणीहरू