भुईंमा राखेर उपचार गर्ने दिन आउँदैछ

भुईंमा राखेर उपचार गर्ने दिन आउँदैछ

गत बैशाखमा कोरोनाको दोस्रो लहर शुरु भएसँगै मुलुकभर लगाइएको दोस्रो कडा निषेधाज्ञाका कारण कोरोना संक्रमणमा कमि आएको थियो । तर सरकारले कोभिड संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउनको ढाँचामा परिवर्तन ल्याएसँगै संक्रमितको संख्या बढ्न थालेको छ ।

यसको खास कारण आवश्यक स्वास्थ्य मापदण्डको पालना नगर्नु र कोरोनालाई गम्भीरतापूर्वक नलिनु नै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३७ जनाको ज्यान गएको छ ।

हाल मुलुकभर ३४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये कोरोनाबाट ज्यान गुमाउनेको संख्या उस्तै भए पनि संक्रमणदर भने उकालो लाग्दै छ । अहिले नेपालमा कोरोनाको दोस्रो लहर चलिरहेको बेला आगामी भदौमा तेस्रो लहर आउने हल्लाले मानिसहरू त्रसित छन् । तर धेरैमा खोप लगाए साइड इफेक्टबाट मरिन्छ कि भन्ने डर पनि उत्तिकै छ ।

“केही दिनयता कोभिड बेड (आइसीयु,एचडीयु,इमरजेन्सी) हरू भरिएको उल्लेख गर्दै अब मास्क नलगाई हिँड्नेहरूलाई भुईंमा राखेर उपचार गर्ने सुविधा मात्र बाँकी रहेको चेतावनी दिनुभएको छ ।”

अघिल्लो हप्ता सरकारले ६० वर्ष उमेर माथिकालाई अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाएको थियो । त्यसबेला उक्त खोप लगाएमा साइड इफेक्ट धेरै हुने हल्ला चलेपछि चिनियाँ खोप भेरोसिल लगाउने बेलामा झैँ भीडभाड देखिएन ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसीपी) ले गत मे महिनामा खोप लगाउनेले मास्क लगाउन नपर्ने बताएको थियो । तर अहिले डेल्टा भेरियन्टको सन्दर्भमा खोप लगाएका र नलगाएकाहरूको नमूना परीक्षणबाट भाइरसको मात्रा लगभग उस्तै भेटिएका कारण खोप लगाएका र नलगाएका व्यक्तिहरू संक्रमित हुने दर पनि उस्तै देखिने सीडीसीपीले नै बताएको छ ।

यस्तै नेपालमा गत बैशाखबाट नै निषेधाज्ञा लगाइएको भए पनि सामाजिक अवस्था र दैनिकी भने पूर्णरुपमा खुलेझैँ देखिन्छ । सार्वजनिक स्थान र मानिसको चहलपहललाई हेर्दा कोरोना महामारी कायम रहेको भन्न सकिने अवस्था नै देखिँदैन ।

तर सर्वसाधारणको सानो लापरबाहीले कोरोना संक्रमण पुनः फैलिन थालेको भन्दै संक्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्हरूले सचेत गराएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र,टेकूका डा. शेरबहादुर पुनले केही दिनयता अस्पतालमा बिरामीको चाप बढ्न थालेको बताउनुभएको छ । उहाँले सबैको परीक्षण गर्ने हो भने अत्यधिक संक्रमण देखिने सम्भावना रहेकाले सबैलाई सचेत रहन आग्रहसमेत गर्नुभएको छ ।

डाक्टर पुनले धेरै सर्वसाधारणले खोप लगाउन जाँदा त्यहाँको भीडबाट कोरोना सरेको आशंका गरेकाले सम्बन्धित निकायले उचित व्यवस्थापन गरेर सुरक्षित तरिकाले खोप लगाउनुपर्ने बताउनुभयो ।

त्यस्तै टेकू अस्पतालकै अर्का डाक्टर विशद दाहालले सामाजिक सञ्जालमार्फत केही दिनयता कोभिड बेड (आइसीयु,एचडीयु,इमरजेन्सी) हरू भरिएको उल्लेख गर्दै अब मास्क नलगाई हिँड्नेहरूलाई भुईंमा राखेर उपचार गर्ने सुविधा मात्र बाँकी रहेको चेतावनी दिनुभएको छ ।

उहाँले केही दिनपछि ‘म आफैँ भेन्टिलेटर किनेर ल्याउँछु,प्लिज उपचार गर्दिनोस्,’भनेर उही केही महिना आगाडिको पुरानै घटना दोहोरिन सक्ने पनि ट्वीटमा उल्लेख गर्नुभएको छ । डाक्टर पुनले भने अस्पतालमा कोरोना बिरामीको संख्या कहिले अस्पतालले थेग्नै नसक्ने ढंगको हुने र कहिले एक हदसम्म कम हुने गरेको बताउनुभएको छ ।

टिप्पणीहरू