भारतमा जाग्न थाले भर्खरै « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

भारतमा जाग्न थाले भर्खरै

प्रकाशित मिति :  १२ फाल्गुन २०७३, बिहीबार ०८:३६


टीका भाइ उर्फ टीकाराम राई प्रगतिशील साहित्य लेखन र वाचनमा बेजोड मानिन्छन् । कालिङपाङनिवासी उनी प्रगतिशील लेखक कलाकार संघ, भारतका अध्यक्ष हुन् । कालिङपोङमा मानवी पब्लिकेसन चलाएर जीविका धानिरहेका टीका भाइले युवा साहित्य एकेडेमी पुरस्कार प्राप्त गरिसकेका छन् । केवल बुँख्याचाहरू, पैंताला तलतिरलगायत चोटिला कवितासंग्रह मात्र नभएर भारतीय गोर्खा जातिको सय वर्षे इतिहासबारे खोजमूलक पुस्तक पनि प्रकाशन गरेका छन् । पत्रपत्रिकामा लेखिरहन रुचाउने टीका भाइले प्रगतिशील साहित्यबारे यस्तो बताए ……. ।

दार्जिलिङमा भेला

सन २०१६ मा पहिलो सम्मेलन दार्जिलिङमा भएको थियो । जसमा असम, दार्जिलिङ र सिक्किम राजइका करिब दुई सय प्रगतिशील लेखक कलाकारको सहभागिता थियो त्यसैले प्रगतिशील लेखक कलाकार संघ गठन गरेको हो ।

नयाँ–नयाँ अवस्थामै छांै । सांगठनिक विस्तारमा चासो दिइरहेका छौं । क्षेत्रीय समिति बन्दै छन् । विभिन्न साहित्यिक गतिविधि र पत्रपत्रिका प्रकाशन गर्ने काम भइरहेका छन् । हाम्रो उद्देश्य उत्पीडित नेपाली जातिको राष्ट्रिय समस्यालाई साहित्यमार्फत जोड्ने हो ।
भारतमा प्रगतिशील साहित्य हिन्दीतर्फ बेजोड छ । तर, नेपाली भाषातर्फ कमजोर छ । हामी भर्खरै संगठित भएका हांै । हिन्दीतर्फ प्रेमचन्द्र, निराला, पन्त । राहुल सांस्कृत्यान आदि प्रसिद्ध साहित्यकार प्रगतिशील धारकै हुन्, संगठित नभए पनि उनीहरूको प्रभाव बेजोड छ । यसैगरी महाश्वेतादेवी, अरुणधती रोय आदि पनि जनपक्षीय धारमै देखापरेका छन् ।

नेपाली भाषाको कुरा गर्दा हामीले दार्जिलिङका गणेश सुब्बा, वीरेन्द्रअसित राई, रन्त बान्तवा, विकास गोतामे, भीम योञ्जनलाई बिर्सिनुहुन्न । सिक्किमतिर पवन चाम्लिङ, भीम दाहाल, विजयकुमार सुब्बा र असममा डा. चम्पादेवी उपाध्याय, अभिकेशर शर्मा, रुद्र बराल, डा. इन्दुप्रभादेवी आदिको योगदान छ प्रगतिशील साहित्यमा ।

सन् १९४६ तिर नै दार्जिलिङमा अगमसिंह गिरी, अच्छा राई, कवि वीरेन्द्रलगायत साहित्यकार संगठित भएर प्रगतिशील संघ शुरु गरेका हुन् । तर, त्यो संस्था विकासमा अगाडि बढ्न सकेन । लामो समयको अन्तरालले प्रगतिशील साहित्यलाई संस्थागत रूपमा अगाडि बढ्न धेरै बाधा पुग्यो । प्रशस्त साहित्य सिर्जना भए पनि र कलाकार जन्मिए पनि उनीहरू फाट्टफुट्ट अवस्थामै सीमित बने ।

नेपालमा जस्तो प्रगतिशील साहित्य सिर्जना भारतका नेपालीभाषीमा हुन सकेको छैन । र, सजिलो पनि छैन । भारतमा भएको वाम आन्दोलनको प्रकट नेपाली भाषाको प्रगतिशील साहित्यमा देखा परेको हो । यसैले भारतीय प्रगतिशील साहित्यलाई राजनीतिक आरोप लगाउने गरिएको छ । वास्तवमा प्रगतिशील साहित्यले विकृत राजनीतिसँगै विद्रोह गरेको हुन्छ । यसैले यो आरोप गलत पनि होइन । पुँजीवादी साहित्यले गरिबी बिक्री गर्दा कुनै आरोप लगाइँदैन तर प्रगतिशील साहित्यलाई चाहिँ राजनीतिक भनिन्छ । यो विभेदकारी मानसिकता हो । भारतमा आर्थिक संरचना प्रस्ट नहँुदा सर्जकले स्पष्ट मार्ग पाउन सकेका छैनन् । तैपनि, भारतीय साहित्य प्रगतिशीलताको हिसाबमा बलियै मान्न सकिन्छ ।

प्रगतिशीलभन्दा प्रतिक्रान्तिकारी धारको विकास धेरै छ । किनभने भारत अंग्रेजको ‘मुभमेन्ट’ भएको ठाउँ हो । यसैले पनि यता अंग्रेजी साहित्यको प्रभाव अलि बढी नै छ । दार्जिलिङमा चियाबारी आन्दोलनपछि बल्ल प्रगतिशील साहित्य फस्टाउन थालेको हो ।
नेपालमा साहित्य धेरै फस्टाएको छ । त्यो त्यहाँको राजनीतिक आन्दोलनको चेत होलाजस्तो लाग्छ ।

भारतमा पहिलेदेखि नै साहित्यमा नेपालमा जस्तो बन्देज थिएन । खुला अर्थतन्त्र थियो । यसैले पाश्चात्य शिक्षासँग परिचित हुनेहरू भारतमा धेरै अगाडि देखिए । त्यो बेलासम्म नेपाललाई हामीले साहित्यमा जितेकै थियांै । तर, हाल नेपालमा साहित्य धेरै फस्टाएको छ । व्यावसायिकता पनि बढ्न थालेको छ । आख्यान धेरै लेखिन थालेका छन् । तर, हामी भारतीय अझै कवितामै सीमित छांै । प्रगतिशील लेखक– कलाकारको दायरा बढ्यो भने साझा संघर्ष अगाडि बढाउन सहज हुन्छ ।


प्रतिक्रिया दिनुहोस !