सबले मार्ने तर,कसको मान्ने भर ?

सबले मार्ने तर,कसको मान्ने भर ?

-अनुषा थापा

एकातिर सरकारले नाम मात्रको निषेधाज्ञा थपिरहने,अर्काेतिर कोरोना संक्रमित बढ्दै जाने । अनुगमन शून्य हुँदा संक्रमण दिन प्रतिदिन उकालो चढ्ने । कोरोनाको दोश्रो लहर शुरु भएयता गत १६ वैशाखबाट शुरु भएको निषेधाज्ञा पटक पटक थपेर हिजोबाट फेरि लम्बाइएको छ ।

उपत्यकाको तीनै जिल्लाका प्रजिअहरुले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेपनि दैनिक ३ हजार हाराहारी संक्रमित बढ्दैछन् । सरकार भन्छ,अहिलेकै स्थितिमा कुनै पनि प्रकारको सभा, गोष्ठी र सेमिनार,दोहोरी साँझ, नाचघर,रंगशाला,स्विमिड पुल, संग्रहालयहरु सञ्चालन गर्न मिल्दैन ।

तर सबै काम निर्वाध भइरहेका छन् । लामो तथा छोटो दूरीका सवारी साधनमा पनि मापदण्ड पालना भएको देखिँदैन । चालक,सहचालकले मास्क पञ्जा विनै यात्रु चढाइरहेका छन् । दैनिक गाडी डिसइन्फेक्ट गर्नुपर्ने भए पनि कार्यान्वयन शून्य छ ।

यातायात व्यवस्था विभाग सार्वजनिक सवारी साधनमा कोचाकोच यात्रु हाल्न पाइँदैन भन्छ तर चालक,सहचालकहरुले भेडाबाख्रा झैं यात्रु कोचिरहेका छन् । अनुगमन गर्नुपर्ने निकायको ध्यान यता गएको देखिदैन ।

यस्तै,रेष्टुरेन्ट तथा फास्टफुडलाई टेकअवे र होम डेलिभरीको मात्र अनुमति दिइए पनि त्यहाँ भीड देखिन्छ । खाद्यान्न पसलको त कुरै छोडौँ मदिरा पसलसमेत राति दश बजेसम्म सञ्चालनमा आएको भेटिन्छ ।

अझै कति क्याफे,रेष्टुरेन्ट तथा फास्टफुड पसलले महिनैपिच्छे आफ्नो एरियाका चौकीहरुलाई कोशेली दिने गरेको हुनाले पनि प्रहरीले कारबाही नगरेको सुन्नमा आएको छ ।

सबै निकायको लापरवाही र सर्वसाधारणको हेलचेक्राईका कारण कोरोनाको दोश्रो लहरले विकराल रुप लिँदैछ । फेरि,निजी तथा सरकारी अस्पतालहरुमा बेड नपाउने स्थिति आइसकेको छ ।

यससन्दर्भमा शुक्रराज ट्रफिकल तथा सरुवा रोग केन्द्रका डा. शेरबहादुर पुनसँग जिज्ञासा राख्दा लकडाउन खुकुलो पारिएसँगै जमघट,भीडभाड बढ्दै गएको र कोरोना सँक्रमण उकालो लाग्दै गएका कारण कोरोना रोकथाम र नियन्त्रणमा सरकारसँगै जनता पनि सजग हुनुपर्ने बताउनुभयो ।

टिप्पणीहरू