हुनुसम्म भयो नि सिंहदरबारमा हरे !

अख्तियार बिट हेर्ने पत्रकारले पहुँच बनाउला र आफूलाई सिध्याउला भनेर नेपाल टेलिभिजनमा जात्रै चल्यो । अख्तियार रिपोर्टिङमा तोकिएका कांग्रेसनिकट पत्रकार रामप्रसाद भण्डारी हटाइएका छन् । उनको सट्टामा अर्का ‘काला कांग्रेसी’ तथा हालै कर्मचारी युनियनको अध्यक्ष निर्वाचित गोविन्द धिताल आफैँ तोकिएका छन् । उनले रिपोर्टिङ गर्न छाडेको तीन वर्ष भइसक्यो ।

महेश दाहाल कार्यकारी अध्यक्ष भएपछि अस्ति सोमबारको मन्त्रिपरिषद् बैठकबाट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द रोका (सचिन) महाप्रबन्धक नियुक्त भएका छन् । तर, उनको अधिकारबारे अझै अन्यौल छ । संस्था धराशायी हुने खतरा बढेको त्यहाँका कर्मचारी बताउँछन् । प्रचण्डको करबलमा महेश फेरि अध्यक्ष नियुक्त त भए, तर गोविन्द धिताल, शालिक सुवेदी र दीपकमणि धितालको चंगुलबाट हट्न सकेनन् ।

धितालले युनियनको चुनावमा आफूलाई सहयोग नगर्नेजतिलाई ‘हेरौँला’ भनेका थिए । अहिले यसरी ‘हेर्न’ थाले कि, परीक्षणकाल पनि नसकिएका रवीन्द्र कोइराला कोहलपुर सरुवामा परेका छन् । यस्तो पक्षपातपूर्ण सरुवाका लागि पाँच जनाको पत्र तयार भइसकेको छ । भर्खर सरुवा भएर प्रशासनमा हाजिर हुने गंगा खतिवडादेखि घरमा सुत्केरी पत्नी स्याहार्नुपर्ने प्रदीप बस्नेतसम्म गलहत्याइएका छन् ।

टिप्पणीहरू