नागरिकता नपाएकाहरु सँसद घेर्न जाँदै

नागरिकता नपाएकाहरु सँसद घेर्न जाँदै

सरकारले नागरिकता ऐन संशोधन नगरेका कारण नागरिकताको अधिकारबाट बन्चित हुनुपरेको भन्दै एक समूहले आन्दोलन घोषणा गरेको छ । ‘नागरिकता विहीन नेपालीहरु’ का नामबाट आज जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले तत्काल ऐन संशोधन गरी कार्यान्वयनमा ल्याउन मागसमेत गरेका छन् ।

नागरिकता नहुँदा जीवन अप्ठेरो र असहज भएको भन्दै उनीहरुले भोलि साउन २० गते संसद भवन नयाँ बानेश्वर अगाडि धर्ना दिने चेतावनी दिएका छन् । माइतीघर मण्डलाबाट जुलुस निकालेर संसद भवन अगाडि शान्तिपूर्ण धर्नामा बस्ने कार्यक्रम तय गरिएको भन्दै ज्ञापन पत्रमा आवश्यक समन्वयका लागि प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।उनीहरुले संविधानको धारा ११ को उपधारा ३ र ५ तत्काल कार्यान्वयन गर्न र विगतमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिन सरकारसंग माग पनि गरेका छन् ।

‘६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका नागरिकता बिहीन नेपालीहरुको जीवन निकै अप्ठेरो र असहज भएकाले हामी देशभरका अनागरिक भएका नागरिकता बिहीन नेपालीहरु साउन २० गतेदेखि माइतीघर मण्डलादेखि जुलुस निकाली संसद भवन अगाडि शान्तिपूर्ण धर्नामा बस्ने निश्चित गरेका छौँ’,ज्ञापन पत्रमा भनिएको छ ।

टिप्पणीहरू