१४ लाख बृध्दको एउटै पुकार,खोप लाइदेऊ न सरकार

१४ लाख बृध्दको एउटै पुकार,खोप लाइदेऊ न सरकार

सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो डोज खोप लगाउन नपाएका झण्डै १४ लाख बृध्दहरुलाई तत्काल कोभिशिल्डको व्यवस्था गर्न र दोस्रो मात्रा खोप दिन माग गर्नुभएको छ । गत फागुन महिनाको अन्तमा ६४ वर्षभन्दा माथिका बृध्दबृध्दालाई कोभिशिल्डको पहिलो डोज लगाइएको थियो । तर पाँच महिना बितिसक्दा समेत दोस्रो डोज खोपको कुनै पत्तो नभएपछि सिंहले उक्त कुरा उठाउनुभएको हो ।

उहाँले सबै नागरिकलाई खोप तत्काल उपलब्ध गराउनसमेत सरकारसँग माग गर्नुभएको छ । कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन नपाएका बृध्द उमेरका १४ लाख नागरिकले चर्को गुनासो गरिरहेका बेला उहाँले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

‘हाम्रो मित्र युवा समूह’ ले आज बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिड शिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई लगाउन सरकारले प्राथमिकता दिए पनि सोअनुरुपको काम गर्न नसकेको गुनासो समेत गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा बोल्ने क्रममा आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप भनेको स्मरण गराउँदै उहाँले सोहीअनुसारको काम गरेर देखाउन समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेता सिंहले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणमा सहयोग गर्नु हुने सबैैलाई सम्मान गर्नुभएको थियो ।

टिप्पणीहरू