‘र’ प्रमुखको रात्रिभोज

भारतीय गुप्तचर संस्था ‘र’ का प्रमुख एके धंसनाले नियुक्त भएको महिना दिन नबित्दै नेपालका समकक्षी दिलीप रेग्मीको टोलीलाई दिल्ली बोलाएर डिनर खुवाएका छन् । डिआइजी यदु खरेल र कर्मचारी राजेन्द्र साप्कोटासहित एक दिने यात्रामा गतहप्ता दिल्ली पुगेका राष्ट्रिय अनुसन्धान विभाग प्रमुख रेग्मीसँग धंसनाले पौने घण्टा आतंकवादी गतिविधिबारे कुराकानी गरेको सूत्रको दाबी छ । यो यात्राको आतेजाते खर्च भने नेपाल सरकारले व्यहोरेको हो ।

यसबीच, नेपाल प्रहरीको नेतृत्वले गुप्तचर विभागलाई लाजिम्पाटस्थित दुई रोपनी जग्गा हस्तान्तरण गरेको छ । त्यहाँ बन्ने भवनमा जासुस प्रमुखको निवास या विशेष कामका निम्ति ‘सेफ हाउस’ रहने बताइन्छ । गुप्तचरका १८ वटा जिल्लामा भवन बन्दैछ । अवकासपछिको उपचार खर्चमा निजामती कर्मचारीसरह २० प्रतिशत रकम थप भएको छ भने विदा सुविधा पनि सोहीसरह हुनेछ ।

१५ वर्ष सेवा अवधि कटेर बीचैमा निधन भएमा ५ वर्ष थप गरी पेन्सन सुविधाको व्यवस्थासमेत मिलेको छ । डीभी पीआरवालाहरुको हकमा ३५ दिने सूचना जारी भएको छ । एक लाख रकमको बिमा कर्मचारीहरुका लागि व्यवस्था गरिएको छ । हेटौंडामा तालिम केन्द्र र केन्द्रमा १० करोडको भवन बन्दैछ ।

यसबीच, १० वटा गाडी र ३०/४० वटा मोटरसाइकल, एक करोड मूल्य बराबरको कम्प्युटर र ६० लाखको सञ्चार सेट गुप्तचर मुख्यालय पुगिसकेको स्रोतको भनाई छ ।

टिप्पणीहरू