सानो–ठूलो भन्ने केही छैन संसारमा - Jana Aastha News Online Jana Aastha News Online
Logo
११ आश्विन २०७८, सोमबार
|  Mon Sep 27 2021

सानो–ठूलो भन्ने केही छैन संसारमा

प्रकाशित मिति :  १२ श्रावण २०७८, मंगलवार १८:३०


– राजेन्द्र स्थापित

एक दिन एउटा बालक आफ्नी बहिनी मारिया अन्ना एलिजासँगै घुम्न निस्के । बाटोमा किसानकी छोरी भेटे । किशोरी अम्बाले भरिएको टोकरी टाउकोमा राखेर बजारतर्फ गइरहेकी थिइन् । उनी अम्बा बेचेर घरखर्च चलाउने आमालाई सघाउँथिन् । हिँडिरहेकी एलिजा असावधानीवश ती किशोरीसित ठक्कर खान पुगिन् । टोकरी खस्यो । केही अम्बा फुट्यो भने केही हिलोमा खसेको कारण फोहोर भयो ।

गरिब किसानकी छोरी रुन थालिन् । ’ल, अब मेरो बुबा आमालाई के ख्वाउने ? अब केही दिन सबैजना भोकै बस्नुपर्ने भयो ।’ यस्तो विलाप गर्दै ती किशोरी रोइरहिन् । एलिजाले भनिन्, ‘दाजु, हामी भागौं । कोही आयो भने मार खान्छौं । दण्ड पनि भोग्नुपर्ने हुन्छ । अहिलेसम्म यहाँ कोही देखापरेका छैनन्’

‘बहिनी, त्यसो नभन । जब कसैले सोच्छ कि हामीलाई कसैले देखिरहेको छैन, त्यसैले त त्यो पाप हुन्छ । जहाँ मनुष्य स्वयंको उपस्थिति हुन्छ त्यहाँ एकान्त कसरी हुन्छ ! उसको आत्मा पतन भएको बेला उसलाई भलै ईश्वरले दण्ड नदेलान् तर त्यो बेला ऊ आफैँ मर्छ । पतन भएका आत्माहरूले नै हुन् संसारमा कष्ट भोग्ने । यो कुरो तिमीलाई थाहा छैन, मलाई थाहा छ ।’

यति भनी ती बालकले आफ्नो खल्तीमा भएको ३ आना पैसा गाउँले केटीलाई दिएर भने, ‘बहिनी, तिमी मसँग हिँड । हामीले गल्ती गरेका छौं भने दण्ड पनि पाउनै पर्छ । तिम्रो फलफूलको मूल्य घर पुगेर चुकाउँला, जाऊँ ।’
तीनैजना घर पुगे । बालकले सबै वृत्तान्त आमालाई सुनाए । आमाचाहिँले छोरी एलिजाको गालामा एक थप्पड हानिन् अनि रिसाउँदै छोरोलाई भनिन्, ‘तिमीहरू बेकारमा किन घुम्न गएको ? घर खर्चका लागि पैसा नभैरहेको बेला अब यो दण्ड कसले तिर्छ ?’

बालकले भने, ‘आमा, मेरो भागको खर्चको पैसा यो केटीलाई दिनुस् । के हुन्छ र, मैले स्कुलमा दिउँसो खाजा खान पाउँदिनँ । मलाई यसमा कुनै आपत्ति छैन । आफूले गरेको गल्तीको प्रायश्चित पनि मैले नै गर्नुपर्ने त हो ।’

आमाचाहिँले छोरोको खाजामा खर्च हुने एकमहिना बराबरको खर्च रकम ती गरिब किशोरीलाई दिइन् । किशोरी प्रशन्न भई घर फर्किन् । फलतः ती बालकले स्कुल जाने बखत डेढ महिनासम्म खाजा खर्च पाएनन् । भोकै घर फर्कने गरे । यसको बाबजुद उनले अलिकति पनि दुःख मानेनन् । आफूले गरेको गल्तीउपर सजिलै यसरी विजय प्राप्त गर्ने ती बालक पछि विश्वविजेता बन्ने अभियानमा दत्तचित्त नेपोलियन बोनापार्टको नाउँबाट विश्वविख्यात बने ।

भूमध्यसागरस्थित कोर्सिका टापुमा जन्मेका नेपोलियन खासमा इटलीका थिए । उनको परिवार १६ औं शताब्दीमा कोर्सिका पुगेका हुन् । सन् १७९० ताका फ्रान्सको जनसंख्या २ करोड ८० लाख थियो तर मुस्किलले ५० लाख जनता शुध्द फ्रान्सिसी भाषा बोल्न र लेख्न सक्थे, तर नेपोलियन फ्रान्सको मुख्यभूमिमा पाइला टेकेको केही समय नबित्दै सो भाषा राम्रोसँग बोल्न जान्ने भए । त्यसबेलासम्म उनी २१ वर्षको भइसकेका थिए । स्नातकसम्मको शिक्षा हासिल गरेलगत्तै उनले सेकेण्ड लेफ्टिनेन्टको जागिर खाए ।

सन् १७९९ मा शक्ति हत्याउन सफल भए र सन् १८०४ मा सम्राट् घोषित भए । सम्राट् बन्नुअघि नै विश्व विजेता बन्ने सपना बुन्दै उनी र उनको सेना सन् १८०० को वसन्तमा इटलीतर्फ लागे । अष्ट्रियाले कब्जा गरेको प्रायद्वीप फिर्ता लिन चाहन्थे । बाटोमा ठूलो पर्वत श्रृंखला थियो । करिब १२ सय किमि लामो यो पर्वतमालाले पश्चिम युरोपको ८ वटा मुलुक छुन्थ्यो । फ्रान्स र इटलीबीचको यो पर्वत ४ हजार ८ सय ९ मिटर अग्लो थियो । आल्प्स् (पर्वतमाला) र कठिन पहाडी बाटोबारे सुन्नेबित्तिकै सैनिक टुकडीका कमाण्डरको होस् उड्यो । उनी हतोत्साही बने । अघि बढ्ने साहस नै भएन । तर, कुनै काम पनि असम्भव नठान्ने नेपोलियनले पहाडतर्फ मार्च गर्न सेनालाई आदेश दिए ।

बाटोमा सैनिक जवान र कतिपय कमाण्डरले नेपोलियनसँग आल्प्स पर्वतबारे सवाल गर्दै गए । त्यो पर्वतको उचाइ कति छ ? त्यहाँ कत्तिको जाडो हुन्छ ? पहाड चढ्न र नाघ्न के–के सामान जरुरी हुन्छ ? आदि । नेपोलियनले सबै सैनिकलाई भेला गराए र सोधे, ‘यसअघि कसैले आल्प्स देखेका छौ ?’ संयोग नै भनौं त्यहाँ उपस्थित कसैले यसअघि आल्प्स देखेको रहेनछ । नेपोलियनले भने, ‘जब त्यो पर्वतको नजिक हामी पुग्छौं सबै कुरा भन्छु।’

दुई दिन हिँडेपछि अगाडि एउटा पहाड देखियो । सैनिक जवान र कमाण्डरहरूले एकै स्वरमा सोधे, ‘के यही हो आल्प्स ?’ नेपोलियनले जवाफ दिए, ‘हैन, यो त एउटा सानो पहाड मात्र हो । यो पहाड नाघेपछि हामी समथर मैदानमा केहीबेर हिँड्छौं । त्यसपछि योभन्दा डेढ गुणा उचाइको अर्को पहाड आउँछ, त्यो नै आल्प्स हो ।’

कुराकानी गर्दागर्दै सेनाले त्यो पहाड नाघे । अगाडि कोशौँ क्षेत्रफलमा फैलिएको खाली मैदान थियो । समथर जमिनमा हिँड्दै गर्दा सैनिकहरूले फेरि सोधे, ‘आल्प्स अझै कति टाढा छ ?’ ‘कुन आल्प्स ?’ नेपोलियनले सोधे । उनले भने, ‘आल्प्स पर्वत त हामीले नाघिसक्यौं । अब अगाडि कुनै आल्प्स छैन । हामीले सजिलै चढ्यौं र नाघ्यौं ।’

उनलाई थाहा थियो – युद्ध लड्न आत्मविश्वास र साहसको जरुरत हुन्छ । उनले हिम्मत हारेका सैनिक जवानलाई हरेक पटक यस्तै प्रेरणादायी र साहस बढाउने कुरा गरेर, उनीहरूमा आत्मविश्वास जगाएर युद्ध लड्न लगाउँथे । फलस्वरूप सन् १८१५ सम्म युरोपका प्रायः सबै भूभाग उनले आफ्नो कब्जामा ल्याउन सफल भए । तर वाटरलूको युद्धमा भने पराजय भोगे । र, ६ वर्ष सेन्टहेलेना टापुमा नजरबन्दमा बिताए । सन् १८२१ को मे ५ मा मृत्यु हुँदा उनी ५१ वर्षका थिए ।

ह्यारी एस. ट्रुमन अमेरिकाको ३३ औं राष्ट्रपति । सन् १९४५ देखि सन् १९५३ सम्म राष्ट्रपति बनेका उनैको शासनकालमा युरोपलगायत विश्वका धेरै मुलुकमा साम्यवादीको सरकार बन्यो । त्यसैले उनले पश्चिम युरोपमा साम्यवादीलाई रोक्न, अर्थतन्त्रमा आमूल परिवर्तन गर्न मार्शल प्लान ल्याए र तदनुरूप १३ अर्ब डलर बजेट छुट्याए । कम्युनिष्टको प्रभाव फैलिन नदिन २८ वटा युरोपेली र उत्तर अमेरिकाको २ वटा मुलुकलाई एकताबद्ध पारेर उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को गठन गरे । विदेश नीतिमा ’ट्रुमन् सिद्धान्त’ लागू गरे ।

एकदिन ह्वाइट हाउसमा गहिरो निद्रामा थिए । एकाएक मौसम बदलियो । भयानक आँधी चल्यो, घनघोर पानी प¥यो । बिजुली चम्केको र चट्याङ कड्केको आवाजले निद्रा खुल्यो । सिसाको झ्यालबाट बाहिर नियाले, बाहिरको दृश्य देखेर डराए । अकस्मात् उनलाई लाग्यो, ह्वाइट हाउसको सबै झ्याल–ढोका बन्द नभएको भए अवश्य पानीभित्र पसिसकेको हुन्थ्यो । उनले तत्काल शयनकक्ष छाडे अनि यताउता दौडन थाले ।

खुलेको झ्याल ढोका बन्द गर्दै गए । यतिञ्जेलमा पानीभित्र पसिसकेको थियो । सम्पूर्ण घर घुमेर खुलेका झ्याल ढोका बन्द गरिसकेपछि भुइँको पानी सफा गर्न थाले । बाहिरबाट आएको आवाज सुनेर एकजना नोकरको निद्रा खुल्यो । बाहिर निस्केर हेर्दा राष्ट्रपति स्वयं सफाइ काममा लागिरहेको देखेर उनले आफूलाई लज्जित महसुस गरे र अन्य नोकरलाई उठाए । सबैजना कुचो लिएर सफाइको काममा जुटे । उनीहरूले आफूहरूबाट लापरवाही भएकोमा राष्ट्रपतिसँग क्षमा मागे । तर, ट्रुमन यसको बाबजुद सफाइ कार्यमा जुटिरहे । सबैको प्रयासस्वरूप सफाइ कार्य तुरन्त सकियो र भुइँ सफा भयो ।

काम सकेपछि राष्ट्रपतिले सबैलाई धन्यवाद दिंदै भने, ‘राष्ट्रको सम्पत्तिको रक्षा गर्नु सबै नागरिकको कर्तव्य हो । यसलाई सबैले इमान्दारीपूर्वक पूरा गर्नै पर्छ । तिमीहरू मलाई बारम्बार यो कुरा सम्झाउन किन कोसिस गरिरहन्छौ कि घर र कोठा सफा गर्ने काम राष्ट्रपतिको होइन ? अरे भाइ, तिमीहरू यो कुरो किन बिर्सन्छौ कि कुनै पनि काम ठूलो–सानो हुँदैन !’


प्रतिक्रिया दिनुहोस !
लोकप्रिय