भोलिदेखि सुर्खेतमा पनि भेरोसेल खोप लगाइने

भोलिदेखि सुर्खेतमा पनि भेरोसेल खोप लगाइने

कोरोना महामारीको जोखिमबाट बच्न भोलिदेखि सुर्खेतमा २८ हजार जनालाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

भोलि र पर्सी दुई दिन ५५ वर्षभन्दा माथिका र फ्रन्टलाईनमा खटिएका कर्मचारी, विश्वविद्यालयका प्राध्यापक, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालकहरूलाई खोप लगाइने भनिएको छ ।

५५ वर्ष माथिका व्यक्तिले खोप केन्द्रमा जाँदा नागरिकता वा उमेर खुल्ने आधिकारिक प्रमाणपत्र लिएर जानुपर्नेछ । शिक्षक र विद्यालयका कर्मचारीहरूलाई भने संस्थाको आधिकारिक परिचयपत्रको आधारमा खोप दिइने बताइएको छ ।

यस्तै, सार्वजनिक यातायातका चालक र सहचालकहरूले भने यातायात व्यवसायी संघको सूची जिल्ला प्रसाशन कार्यालयबाट प्रमाणित गराई परिचयपत्रको आधारमा खोप लगाउन पाउने जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयले भेरोसेलको खोप २८ हजार ७ सय १२ जनालाई लगाइने बताएको हो ।

पहिलो चरणको खोप कार्यक्रमलगत्तै २३ हजार जनालाई अमेरिकी जोनसेन खोप लगाउने योजना रहेको बताइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप अधिकृत जितलाल ढकालले खोप उपलब्धताको आधारमा सरकारले उमेर समूह घटाउँदै खोप सेवा दिने बताउनुभएको छ ।

उहाँले भोलि र पर्सी भेरोसेल खोप लगाइने र भेरोसेलको अभियान सकिए लगत्तै जोनसोन एण्ड जोनसोनको खोप अभियान थालिने बताउनुभयो । सुर्खेतमा कोभिडसिल्ड लगाएका ज्येष्ठ नागरिक तथा फ्रन्टलाईनमा खटिएका १८ हजारभन्दा धेरै नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् । जिल्लामा अझै ९५ प्रतिशतभन्दा धेरै नागरिकले खोप लगाउन पाएका छैनन् ।

टिप्पणीहरू