खोप लगाउनासाथ ढल्नुभयो बूढा बा

खोप लगाउनासाथ ढल्नुभयो बूढा बा

-शंकर श्रेष्ठ

धादिङमा कोरोनाको खोप लगाएको केही बेरमै एक बृद्धको ज्यान गएको छ । नीलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय नरबहादुर श्रेष्ठको कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएको केही बेरमै ज्यान गएको नातेदारहरुले जनाएका छन् ।

नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारका स्थायी बासिन्दा ७८ वर्षीय नरबहादुर श्रेष्ठ घर नजिकै केन्द्रमा खोप लगाउन गएका थिए । खोप लगाएर फर्किएका उनी केही समयपछि बेहोस भएर ढलेको र उपचारका लागि नजिकैको अस्पतालमा पुर्याउँदा मृत्यु भएको परिवारले जनाएको छ ।

श्रेष्ठका जेठा छोरा नारायणकुमारका अनुसार, नरबहादुरले शुक्रबार बिहान साढे ११ बजे जोन्सन एन्ड जोन्सन खोप लगाएका थिए । ‘खोप लगाएको ३० मीनेट खोप केन्द्रमा नै बस्यौँ, त्यसपछि ५ मीनेटको बाटो हिँडेर घर पुग्यौँ, घर पुगेको केहीबेरमा बुवा ढल्नुभयो’ नारायणका अनुसार ‘रिङ्गटा लागेर ढलेका बुवालाई केही मिनेटमै सुनौलाबजार स्वास्थ्य चौकीमा लगिएको थियो त्यहाँ पु¥याउँदा बेहोस हुनुहुन्थ्यो, त्यहाँका स्वास्थ्यकर्मीले धादिङ अस्पताल पठायो, धादिङ अस्पताल आइपुग्दा यहाँका चिकित्सकले मृत्यु भइसकेको बताए ।’नारायणका अनुसार नरबहादुरले केही वर्षअघिदेखि सुगरको औषधि सेवन गरिरहेका थिए ।

श्रेष्ठको मृत्यु खोपकै कारणले भएको हो वा अन्य कुनै कारणले भएको हो सो बारे अनुसन्धानपछि मात्र खुल्ने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताए । ‘खोप लगाएको ५० मिनेटमा बेहोस हुनुभएकै हो, अस्पताल ल्याउदा मृत्यु भइसकेको थियो, के कारणले मृत्यु भयो भन्ने यकिन गर्न सकिदैन,घटनाको बारेमा माथिल्लो तहमा जानकारी गराइएका छौँ, अनुसन्धानपछि मात्र पत्ता लाग्ने ’ सुनाए ।

मृत्युको कारण यकिन गर्न श्रेष्ठको शवलाई काठमाडौं पठाइएको छ । जिल्लामा विज्ञ नभएपछि काठमाडौं पठाएको हो ।

जिल्लाको खोप समन्वय समितिले शव पोष्टमार्टम र थप अनुसन्धानको लागि शुक्रबार नै शव काठमाडौ पठाएको छ । ​धादिङमा आजैदेखि मात्र जोन्सन एन्ड जोन्सन खोप अभियान सुरु भएको हो ।

टिप्पणीहरू