कमरेडको काउण्टरमा कमरेड

कमरेडको काउण्टरमा कमरेड

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विचारधारा बिहीन युवा जीवन्त रहन नसक्ने बताउनुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा पिपुल्स भोलिन्टियर घोषणा गर्दै उहाँले युवालाई विचारधाराको जगमा उभिएर आन्दोलनलाई अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।

मार्क्सवादी विचारधारामा पुष्पलालले निरंकुशताका विरुद्ध अगाडि बढाएको आन्दोलन आजको दिनमा आइपुगेको भन्दै उहाँले अहिलेका निरङ्कुश शासक विरुध्द वैचारिक संघर्षको आवश्यकतामा जोड दिनुभयो ।

‘पुष्पलालले मार्क्सवादी विचारधाराबाट नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो । युवाहरु गतिशील हुन्छन् । ती गतिमान युवाहरुलाई हामी मार्क्सवादी बिचारधाराबाट ओतप्रोत गराउन चाहन्छौं , बिचारधारबिहीन युवा जीवन्त रहँदैन । पुष्पलालको बिचार धारालाई अध्ययन गर्नुहोस्,उहाँले देश र राष्ट्रको लागि गरेको योगदान पढ्नुहोस् र तपाईं युवाहरु पुष्पलालको उत्तराधिकार बन्नुस्’, नेता नेपालले भन्नुभयो ।

‘कमरेड,सिरानीमुनि हतियार हैन कलम राख्नुहोस् ।’

पिपुल्स भोलिन्टियर असल मानवीय गुण भएको युवा दस्ता बन्नेमा उहाँले विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले अन्याय र भ्रष्टाचारका बिरुद्ध भोलिन्टियर सतिसाल झैँ खडा हुनुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा नेता रघुजी पन्तले पार्टीभित्रको विवाद समाधानका लागि नेताहरुले निर्मम समीक्षा गर्नु जरुरी रहेको बताउनुभयो । झण्डै दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्नुभएका अध्यक्ष केपी ओलीलाई अहिले एउटा सानो समूहमा सिमित हुन पर्नुका कारण खोज्न उहाँले सुझाव दिनुभयो ।

‘कसको कारणले यो अवस्थामा आईपुग्यो समीक्षा गरौं । लोकतन्त्रको रक्षाको लागि हामी काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि लिएर गएका हौँ । एकता गर्ने हो भने एकताको वातावरण तयार गरौं । पार्टीलाई फुटबाट जोगाउने प्रमुख जिम्मेवारी पार्टी अध्यक्षको हुन्छ र अध्यक्षले लचिलो भएर पार्टी एकतालाई कायम राख्नु पर्दछ’,पन्तले भन्नुभयो ।

नेपालपक्षीय युवासंघका अध्यक्ष नरेश शाहीले पिपुल्स भोलिन्टियरले नेपाली समाजको सचेतकको भूमिका खेल्ने बताउनुभयो । भोलिन्टियरलाई समाजमा रहेका भ्रष्टाचार, अन्याय,अत्याचार र बेथितिका बिरुध्दको प्रहारका रुपमा बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शाहीले युथफोर्सलाई सिरानी मुनिको हतियारको संज्ञा दिने ओली समूहका नेता महेश बस्नेतलाई कार्यक्रमबाटै जवाफ पनि दिए । ‘कमरेड,सिरानीमुनि हतियार हैन कलम राख्नुहोस् ।’

आज शक्ति प्रदर्शन गर्दै नेपाल पक्षीय युवासंघले झण्डै एक हजार जनाको उपस्थितिमा पिपुल्स भोलेन्टियर घोषणा गरेको हो । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष नरेश शाही,नेता रघुजी पन्त, देवशंकर पौडेल,दिलकुमारी पन्त, निरज आचार्यलगायत झण्डै एक हजार जनाको सहभागिता रहेको बताइएको छ ।

कार्यक्रममा शिव श्रेष्ठको संयोजकत्वमा १००१ सदस्यीय पिपुल्स भोलियन्टियर गठन गरिएको घोषणा गरिएको थियो । त्यस्तै,रञ्जनमोहन सैंजुको नेतृत्वमा ५५ सदस्यीय युवा संघ भक्तपुर कमिटी र उमेश घोडासैनीको नेतृत्वमा पिपुल्स भोलियन्टियर भक्तपुर कमिटी गठन गरिएको थियो ।

टिप्पणीहरू