राजेन्द्र महतोको नेता पद धरापमा गयो

राजेन्द्र महतोको नेता पद धरापमा गयो

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ । आज बसेको दलको बैठकले संशोधित विधान पारित गरेको हो ।

बैठकमा प्रस्तुत विधानको मस्यौदामाथि सांसदहरुका सुझाव समेतलाई समेटेर विधान पारित गरिएको एक नेताले जानकारी दिए । बैठकले पारित विधानलाई कार्यकारिणी समितिबाट अनुमोदन गर्ने निर्णय पनि गरेको छ । विधान पारित भएसँगै अब दलको नेता चयन प्रक्रिया शुरु हुने ती नेताले बताए ।

यसअघि महन्थ ठाकुर पक्षले एकलौटी रुपमा राजेन्द्र महतोलाई दलको नेता बनाएको थियो । तर, महतोलाई दलको नेता बनाउने अधिकांश सांसदहरु अहिले उपेन्द्र पक्षमा पुगेका छन् ।आजको बैठकमा महन्थ ठाकुर पक्षका एक सांसद थपिएका छन् । महन्थ ठाकुर खेमामा पुगेका सात सांसद यसअघि नै यादव पक्षको वैठकमा सहभागी भएका थिए । ठाकुर पक्षतिर लागेका सांसदहरु अमृता अग्रहरि,नरमाया ढकाल, रेणुका गुरुङ,प्रमोद साह,रानी मण्डलसहितका सांसदहरु यादव पक्षमा खुलेर लागेका छन् । यसअघिको वैठकमा सहभागी नभएकी सांसद रुही नाज आजको बैठकमा थपिएकी हुन् ।

सात सांसदले साथ छोडेसँगै पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा रहेको महन्थ खेमा संसदीय दलमा पनि कमजोर बनेको छ । पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको उपेन्द्र खेमा भने थप बलियो देखिएको छ । अब संसदीय दलमा उपेन्द्र पक्ष २३ मा पुगेको छ भने महन्थ खेमा १२ मा झरेको छ ।

जसपाको प्रतिनिधिसभाका ३४ जना संसदमध्ये हरिनारायण रौनियार निलम्बनमा छन् भने रेशम चौधरी जेलमा छन् । जसमध्ये हाल कायम ३२ जनामध्ये उपेन्द्र पक्षमा २१ र ठाकुर पक्षमा ११ जना छन् । त्यस्तै, राष्ट्रियसभामा ३ सांसदमध्ये उपेन्द्रको पक्षमा दुई जना छन् ।

टिप्पणीहरू