यी अभिनेता–अभिनेत्रीको अमर प्रेम - Jana Aastha News Online Jana Aastha News Online
१७ श्रावण २०७८, आईतवार

यी अभिनेता–अभिनेत्रीको अमर प्रेम



– राजेन्द्र स्थापित

बदनाम न हो जाये, मुहब्बतका फसाना
ओ दर्द भरे आँशुओं, आँखों में न आना ।

दुनिया में मुहब्बतकी, यही है रीत –ए दिल
जल जाना मगर होठों पर फरियाद न लाना ।

कह देना कहीं आँख, मेरे दिलकी कहानी
ए दिल तेरी धडकन, कहीं सुन ले न जमाना ।

ए जाने मुहब्बत, बस यही मेरी दुआ है
हो जाए तेरे साथ, मेरी जान भी रवाना ।

यो गीत सन् १९४८ मा प्रदर्शित हिन्दी फिल्म ‘शहीद’ को हो । गीत पञ्जावी गायिका सुरुन्दर कौरले गाएकी थिइन् । नायिका थिइन् कामिनी कौशल अनि नायक दिलीपकुमार । उक्त फिल्म दिलीप र कामिनी दुबैको छैटौं थियो । उमेरमा दिलीप त्यो बेला २६ र कामिनी २१ की थिइन् । कामिनी लाहोर र दिलीप पेशावरका । लाहोर र पेशावर यतिखेर पाकिस्तानमा पर्छन् । परिवारमा कामिनीका दुईजना दाजु र तीन दिदी थिए । बुबा शिवराम कश्यप बोटानीका घागडान प्रोफेसर । तर, कामिनी ९ वर्षको हुँदै उनको देहावसान भयो । अंग्रेजी साहित्यमा स्नातक गरेलगत्तै १९ वर्षकी कामिनीले नायक देव आनन्दका दाजु चेतन आनन्दको चलचित्र ‘नीचा नगर’ मा नायिका बन्ने सौभाग्य प्राप्त गरिन् । यो फिल्म रुसी साहित्यकार मैक्सिम गोर्कीको नाटक ‘निकृष्ट खाल्डो’ को हिन्दी संस्करण थियो । फिल्मकी मुख्य नायिका उमा आनन्द थिइन्, पत्रकार तथा चेतन आनन्दकी पत्नी ।

यसैबीच, कामिनीकी जेठी दिदीको सडक दुर्घटनामा मृत्यु भयो । परिवारले कामिनीमाथि भिनाजु बिएस सुदसँग बिहे गर्न दबाब दियो । कामिनी यति छिटो बिहे गर्न चाहन्न थिइन् तर दिदीका स–साना दुई बच्चीको खातिर बिहे गरिन् । इञ्जिनियर पतिको सरुवापछि उनीहरू मुम्बई पुगे । पछि कामिनी ३ छोराको आमा बनिन् । ‘शहीद’ फिल्मको सुटिङकै दौरान कामिनी र दिलीपको प्रेम भयो । कामिनी विवाहित त थिइन् नै दिलीपको भने यो पहिलो प्रेम थियो । कामिनीका एक जना दाजु सैनिक अधिकृत थिए ।

उनलाई बहिनी फिल्म क्षेत्रमा लागेको मन परेको थिएन, अभिनेताहरूसित हिमचिम बढाउने बहिनीको बानी त झनै । सुटिङस्थलमै पुग्थे, बहिनीसित नजिक हुन खोज्ने जो–कसैलाई पनि बन्दुक सोझ्याएर धम्काउँथे । उनलाई कामिनीको दिलीपसितको नजिक्याइ पनि हजम भएन । सुटिङ चलिराखेकै बेला दिलीपलाई पनि बन्दुक ताके । बहिनीको दाम्पत्य जीवनमा आगो नलगाउन चेतावनी दिए । तर, दिलीप र कामिनीलाई सो चेतावनीले कुनै फरक पारेन । दिलीप कामिनीको सुटिङस्थल पुग्थे । भेट्थे । उनीहरूले शहीद, शवनम, नदियाके पार, आरजुमा सँगै काम गरे ।

पछि कामिनीलाई लाग्यो– म दिदीको आत्मामाथि छल गर्दैछु, सोझो लोग्नेलाई धोका दिँदैछ । तैपनि, उनी दिलीपलाई छाड्न चाहँदिनथिन् । के कारणले हो कुन्नि, दिलीपसितको सामीप्यमा निकै प्रसन्न हुन्थिन् तर यसैबीच बहिनीलाई दिलीपदेखि अलग्याउन नसकेको झोंकमा दाजुले गोली हानेर आत्महत्या नै गरिदिए । कामिनी यो घटनाबाट निकै दुःखी बनिन् र सधैँका लागि दिलीपसित सम्बन्ध तोड्ने निर्णयमा पुगिन् । र, फेरि दिलीपको जीवनमा कहिल्यै फर्केर गइनन् । उनले पछि आफ्नो पुस्तकमा लेखिन्, ‘छुट्टिने निर्णयले दुवैले अत्यन्त पीडा सहनुपरेको थियो । घायल बनेका थियौं ।’ अद्यापि, दिलीप कामिनीसितको प्रेम त्यति गम्भीर नभएको बताउँथे तर उर्दूका प्रसिद्ध साहित्यकार इस्मत चुगताई दाबी गर्छिन्, ‘दिलीपको कामिनीसितको प्रेम असाध्यै गाढा थियो । सायद उनले कामिनीलाई जत्तिको प्रेम पछि कसैसित गरेनन् ।’ इस्मतको दाबीलाई दिलीपका मिल्ने साथी तथा अभिनेत्री सीतारादेवी पनि मान्छिन् । सीतारा ‘हलचल’ मा दिलीपको सहाअभिनेत्री थिइन् ।

सन् १९५१ मा ‘तराना’ फिल्म शुरू भयो । नायक थिए, दिलीप अनि नायिका मधुबाला । यो फिल्मको सुटिङकै दौरान मधुबाला दिलीपसित प्रेम गर्न पुगिन् । मधुबालासँग दिलीपको प्रेम सबैभन्दा लामो चल्यो, करिब ९ वर्ष । दुबै एकअर्काप्रति गाढा प्रेम गर्थे । मधुबालाका पिता यो सम्बन्धको विरुद्धमा थिए तैपनि दुबैको प्रेम उत्कर्षमा पुग्यो । बिहे नै गर्ने तहसम्म पुग्यो तर बिआर चोपडाको चलचित्र ‘नयाँ दौर’ को दौरान चलेको मुद्दामा अदालतमा दिलीपले बयान दिँदा मधुबालाका पिता अताउल्लाह खाँमाथि लगाएको आरोप ‘तानाशाह’ शब्दलाई लिएर दिलीप र मधुबालाको सम्बन्धमा फाटो आयो । दुबै आ–आफ्नो अडान छाड्न तयार नभएपछि प्रेम सम्बन्धको अन्त्य भयो । दिलीप र मधुबालाको प्रेमकथा ०७५ असार २७ गतेको जनआस्थामा प्रकाशित छ ।

सन् १९५५ मा एउटा फिल्म बनेको थियो ‘देवदास’ । फिल्ममा दुईजना नायिका थिए – सुचित्रा सेन र बैजयन्तीमाला । बैजयन्तीमाला चन्द्रमुखीको भूमिकामा थिइन् । उनको अभिनयलाई सबैले सराहना गरेका थिए । उक्त फिल्ममा अभिनय गर्दागर्दै दिलीप र बैजयन्ती नजिकिए । त्यो बेला दिलीप र मधुबालाको ब्रेक अप भइसकेको थिएन । त्यति मात्र होइन, जब ‘नयाँ दौर’ लाई लिएर मधुबाला र निर्देशक बि. आर. चोपडाबीच विवाद चल्यो र चोपडाले मधुबालालाई हटाएर अर्कै नायिका लिन चाहे, तब दिलीपले बैजयन्तीलाई सिफारिस गरे । यसै कुरोलाई लिएर पनि मधुको मनमा चिसो पसिसकेको थियो । त्यति मात्र होइन, उनीहरूको एकपछि अर्को फिल्म मधुमति, पैगाम, गंगा–जमुनाजस्ता फिल्म प्रदर्शित भए । दर्शकले दिलीप र बैजयन्तीको जोडीलाई खुब रुचाए ।

सन् १९६४ मा फिल्म बन्यो ‘लिडर’ । यो बेलासम्ममा दिलीप र मधुको ब्रेक अप भइसकेको थियो । त्यसैले दिलीप–बैजयन्तीको प्रेम उत्कर्षमा पुग्यो । दुवै जना बिहे गर्न सहमत भए । तर, २ वर्षपछि फिल्म आम्रपाली’ शुरू भयो । आम्रपालीको भूमिका पाएकी थिइन् बैजयन्तीले । बुद्धकालीन नगरवधू थिइन् आम्रपाली । त्यसैले उनले लगाउनुपर्ने पहिरन उस्तै खालको थियो – स्तन मात्र ढाकिने चोली र धोती । उनी यो पहिरनमा आफूलाई अप्ठ्यारो मान्दै सुटिङ गरिरहेकी थिइन् । एकपटकको सुटिङमा दिलीप साथीहरूसित पुगे । अप्ठेरो मानिरहेकी बैजयन्तीले क्यामेराम्यान र निर्देशकबाहेक अरुको अगाडि अभिनय गर्न अस्वीकार गरिन् र दिलीपलाई खालीहात फर्काइन् । बैजयन्तीको यो व्यवहारबाट दिलीपले साथीहरूसामु आफ्नो अपमान भएको सम्झे । उनी बैजयन्तीसित आइन्दा कहिल्यै नभेट्ने निर्णयमा पुगे । यद्यपि, त्यसपछि ‘संघर्ष’मा दुवै सँगै देखापरे तर यो फिल्मको पूरै सुटिङ दुबैले रोएरै पूरा गरे ।

सन् १९५२ मा एउटा फिल्म प्रदर्शित भएको थियो – आन । नायक थिए दिलीपकुमार अनि नायिका इराकी यहुदी युवती नादिरा । यो फिल्म सिनेमा हलमा चल्दा सायरा बानु मात्र ८ वर्षकी थिइन् । सायरा पहिलो महिला सुपरस्टार नसीम बानुकी छोरी । त्यसबेलासम्म ‘ट्रेजेडी किंग’ नायकको रूपमा ख्याति कमाइसकेका थिए दिलीपकुमारले । सायराले यो फिल्म हेरिन् र मनैमनले दिलीपलाई मन पराउन थालिन् । सन् १९५७ मा ‘मदर इण्डिया’ रिलिज भयो । निर्देशक महबुब खाँले रात्रिभोज आयोजना गरे । त्यो दिन पहिलो पटक सायराले नायक दिलीपलाई प्रत्यक्ष देख्ने मौका पाइन् । दिलीपको आकर्षक व्यक्तित्व देखेर उनी दंग परिन् ।

त्यसो त फिल्म ‘नयाँ दौर’ मा ’उडे जबजब जुल्फें तेरी’ बोलको गीत हेर्दाहेर्दै दिलीपसँग उनले एकोहोरो प्रेम गरिसकेकी थिइन् । तर, मदर इण्डियाको उक्त पार्टीमा देखेर उनी दिलीपको लागि मरीमेट्न तयार भइन् । घर फर्केपछि १३ वर्षकी उनले आमासँग जिद्दी गर्न थालिन् – श्रीमती दिलीप बन्छु भनेर । नसीमले छोरीलाई हप्काइनन् बरु सम्झाइन् कि दिलीपकुमारकी पत्नी बन्न तिमीले उनकै जस्तो सोख पाल्नुपर्छ, उर्दू राम्रोसित बोल्न जान्नुपर्छ, सितार बजाउन जान्नुपर्छ ।

अर्को पटक सायराले दिलीपलाई ’मुगल ए आजम’को प्रिमियर शोको दौरान देख्न पाइन् । दिलीपले हेरेर मुसुक्क हाँसिदिएपछि उनलाई लाग्यो – म आफू एकदम राम्री छु । उनको खुट्टाले त्यो दिन भुइँ छोएन । घर पुगेर नाचिन्, श्रीमती दिलीप बन्ने सपना साकार बन्दै गएको ठानिन् । यद्यपि, दिलीपले सायराप्रति खासै ध्यान दिएका थिएनन् किनभने सायरा १६ की हुँदा दिलीप ३८ को भइसकेका थिए अर्थात् २२ वर्षको अन्तर ।

यसबीच, सायरा पनि हिरोइन बनिन् फिल्म ‘जंगली’ मा । फिल्म अत्यन्त सफल भयो । लगातार चलचित्र पाउन थालिन् । एकदिन नसीमले छोरी सायरासँग हिमचिम बढाइदिने मनसायले दिलीपलाई घरमा बेलुकीको खानामा बोलाइन् । त्योबेला सायराले लगाइराखेको साडीलाई लिएर दिलीपले खुब तारिफ गरे अनि भनिदिए ‘तिमीलाई यो साडी धेरै सुहाएको छ । त्यसपछि दुवै नियमित भेट्न थाले । कफी पिउन जान थाले । एकदिन कफी पिउँदापिउँदै दिलीपले ‘तिमी मसित बिहे गर्छौ ? भनेर सोधे । सायराले ‘तपाईंले यस्तो प्रस्ताव अरु कति जनासित राखिसक्नु भो’ भनेर सोधिन् । दिलीपले हाँस्दै भने, ‘तिमीसित फिल्ममा सँगै खेल्न पाएको छैन, त्यसैले तिमी मसित रिसाइराखेकी होला । म के गरूँ ? मलाई सधैं तिमी कम उमेरकै लाग्छ ।’

सन् १९६६ को अक्टोबर ११ मा दिलीप र सायराको बिहे भयो । फिल्म जगत सबै छक्क परे । किनकि दुबैजनाबीच उमेरमा २२ वर्षको अन्तर थियो । दुबैको दाम्पत्य जीवन सुखद रह्यो । सायराको गर्भको बच्चा असमयमै गि¥यो । त्यसपछि उनीहरूका कुनै सन्तान भएनन् ।

दिलीप र सायराको दाम्पत्य जीवनमा एकपटक भुइँचालो गएको छ, जब सन् १९८१ मा दिलीपले हैदरावादकी विवाहिता, ३ छोराछोरीकी आमा आसमा रहमानसँग बिहे गरेको कुरो बाहिर निस्क्यो । हैदराबादमा आयोजित क्रिकेट म्याचको दौरान उनीहरूको भेट भएको थियो । उनीहरूले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । तर, जब हल्ला भयो दुबै सन् १९८३ मा छुट्टिए । आसमासितको यो घटनालाई दिलीपले जीवनको भूल भनेका छन् ।

भारतीय चलचित्र जगत यहाँसम्म पुग्नुमा दिलीपकुमारको ठूलो योगदान रहेको कसैले नकार्न सक्दैनन् । तर, अहिले पाकिस्तानमा पर्ने पेशावर शहरमा जन्मेको मुसलमान (युसुफ खान) भएकै कारण उनलाई भारतीयहरूले कहिल्यै विश्वास भने गरेनन् । सन् १९६१ मा पाकिस्तानको निम्ति जासुसी गरेको आरोपमा उनको घरमा छापासमेत मारियो । सन् १९९९ मा पाकिस्तानी सरकारले प्रदान गरेको सर्वोच्च अवार्ड निशान –ए इम्तियाज फिर्ता गर्न तात्कालीन भाजपाको सरकारले उनीमाथि दबाब डाल्यो । उनको देशभक्तिमाथि शंका गर्दै दिल्ली शहरमा आगजनीसमेत गरियो । तर, उनले अवार्ड फिर्ता गर्न सीधा अस्वीकार गरे । त्यसबेला भारत, पाकिस्तानसित कार्गिलको युद्ध लड्दै थियो ।

भारत सरकारले प्रदान गर्ने पद्मभूषण, पद्म विभूषण, दादासाहब फाल्के अवार्ड, ९ पटक सर्वोकृष्ट अभिनेताको अवार्डलगायत अन्य दर्जनौं अवार्डबाट सम्मानित उनै सबैका दिलीपसाहबको गत बुधबार मात्र निधन भएको छ । उनी ९८ वर्षका थिए । ५५ वर्ष लामो दाम्पत्य जीवन बिताएकी एक समयकी सबैभन्दा महँगो अभिनेत्री पत्नी सायरा बानुको नाउँमा दिवंगत दिलीपकुमारले ६ सय ४ करोड भारु.को सम्पत्ति छाडेर गएका छन् । सायराको आफ्नै नाउँमा भारू. २ सय ५० करोडको सम्पत्ति छ ।

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

एमसीसीको विरोधमा भोलि दिउँसो भरतपुरको चौबीसकोठीमा जुलुस र धर्ना हुने
जन्मजात आरक्षण आवश्यकता हो कि अधिकार ?
नेवार वस्ती जोगाउन फास्ट ट्र्याक खारेज ?
सिन्धुपाल्चोकको सौन्दर्यमा प्रकृतिको शत्रुता
 झम्सीखेल, ठाडोढुंगा, सानेपा, ललितपुर
+977 15541552 (Jana Aastha Weekly)
+977 15522551 (janaaastha.com)
[email protected]
POST BOX NUMBER: 6630
सूचना विभाग दर्ता नं. ८१४/२०७४/७५
आस्था प्रकाशन प्रालिको निम्ति
  अध्यक्ष : किशोर श्रेष्ठ
  सम्पादक : राजेन्द्र प्रसाद रिमाल
  प्रबन्ध सम्पादक : राजेन्द्र स्थापित
  कानूनी सल्लाहकार : बोर्णबहादुर कार्की
महत्वपूर्ण लिङ्कहरू
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • युनिकोड
  • विज्ञापन
  • ई-पेपर
  • सम्पर्क
Add