सवारी दुर्घटनामा ५ जनाको मृत्यु

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । झापा, धनुषा र कैलालीमा भएका सवारी दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको भद्रपुर-२ स्थित सडकमा मे.१ त २८२१ नम्बरको ट्याक्टरसँग मे.१ ह ६४१९ नम्बरको अटो ठोक्किँदा हिजो दिउँसो अटोमा सवार २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि केन्द्रमोड बस्ने ३६ वर्षीया नानी भन्ने छबिमाया लिम्बुको घटनास्थलमै तथा भद्रपुर-१ का ४० वर्षीय डम्बर बहादुर लिम्बुको ओमसाई पाथिभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि घाइते भएका अटोका चालकलाई थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लगिएको छ भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, धनुषाको गणेशमानचारनाथ-६ गोदारस्थित सडकमा दुई मोटरसाइकल ठोकिंदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स.१० प ४३९५ नम्बरको मोटरसाइकल र ज.१२ प ८९५४ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ज.१२ प ८९५४ नम्बरको मोटरसाइकल चालक महोत्तरी गौशाला-२ का आयुब नदाफको फुल कुमारी मेमोरियल अस्पताल सिरहामा र स.१० प ४३९५ नम्बरको मोटरसाइकल चालक लहान-१५ का २८ वर्षीय साजन चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, कैलालीको लम्कीचुहा-६ स्याउलेस्थित सडकमा से.३ प ५९५४ नम्बरको मोटरसाइकल चौपायसँग ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक जोशीपुर-२ का २६ वर्षीय पदम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल हुँदै कोहलपुर मेडिकल कलेज नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू