हार्ने–जित्ने यस्तो हिसाब

के बाहिर भन्ने गरिएझैं अहिलेको अडानका कारण मधेसबाट सोत्तर नै हुँदैछ त एमाले ? फिल्डबाट प्राप्त रिपोर्टचाहिँ खासै निराशाजनक रहेनछ । जतिबेला लिंग नछुट्टिएको भनेर माओवादीवृत्तबाट आरोप लगाउने गरिएको थियो, त्यतिबेला गुटगत लडाईंका कारण केही सिट गुम्दागुम्दै पनि त्यो पार्टीलाई मधेसबाट दोस्रो स्थान हात लाग्यो ।

इलामका झलनाथ खनाल एक रत्ति पनि हार्ने आशंका भएको भए सर्लाही झर्थे ? जित्ने सुनिश्चितता थियो र त तराई रोजे ! तर मनोज देवकोटाले टिकट पाएको भए एमालेको जित सुनिश्चित हुने रहेछ । सिरहामा हार्ने उम्मेदवार हुन् लीला श्रेष्ठ ? अनि सप्तरीमा रुखो स्वभावकै भए पनि सुमन प्याकुरेलको पराजय होला भनेर सोचेको थियो एमालेको कसैले ? ०६४ सालमै वीरगञ्जबाट प्रद्युम्न चौहानले जितेका हुन् । अनि ०७० सालमा पोहोर नाकाबन्दीको केन्द्र बनेको त्यही वीरगञ्जबाट एमालेलाई तीन सिट हात लागेको थियो जबकि पर्सामा सात वर्षदेखि एमालेको आन्तरिक अधिवेशनसमेत हुन सकेको छैन । रामचन्द्र झा र रघुवीर महासेठबीच स्थानीय अन्तरविरोध नरहेको भए धनुषाबाट अरुले चियाउनुपर्ने थिएन भन्छन् खाँटी कमरेडहरू ।

अहिले मधेसका आशालाग्दा एमाले नेता रामचन्द्र घरबार छाडेर नयाँशक्तितिर लागिसकेका छन् । त्यसो त मधेसमा केही सिट घटे पनि पाँच नम्बर प्रदेशको आन्दोलनका कारण अर्घाखाँची र गुल्मीबाट माओवादी कांग्रेसका टोपबहादुर रायमाझी र चन्द्र भण्डारीबाहेक परासीका ६ वटा, कपिलवस्तुका पाँचवटा, रुपन्देहीका आठवटा, पाल्पा र गुल्मीका बाँकी दुई–दुई सिट कतै नजाने एमालेको हिसाबकिताब छ ।
– हरि गजुरेल

टिप्पणीहरू