मतलबै हुन छाड्यो मान्छेलाई

बन्द, हड्ताल र भ्वाङ टाल्ने कार्यले गर्दा नेपालका धेरैजसो सडक छिचोलिसाध्ये छैन । यस्तोमा हवाई यात्रा एकमात्र बाध्यकारी विकल्प बनेको छ । यही बेला हवाई इन्धनको भाउ बढ्दा मान्छेलाई मतलबै छैन । जबकि, पहिले पहिले पेट्रोल, डिजल, एलपी ग्यासको एक रुपियाँ भाउ बढ्दा युवा–विद्यार्थीहरु सडकमै ओर्लिन्थे । आन्तरिक उडानका वायुसेवा कम्पनीले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सहमतिमा सोमबारदेखि लागु हुने गरी हवाई भाडामा पाँच सय ४० देखि २४ सय ७५ रुपैयाँसम्म बृद्धि गरेका छन् । तर, न नागरिक समाज, न युवा र विद्यार्थी संगठन– यो मूल्यबृद्धिविरुद्ध सडकमा कोही देखिएनन् ।

नाकाबन्दीताका सीमावर्ती क्षेत्रका नेपाली जर्किन बोकेर तेल हाल्न पारी जान्थे । बिहारमा रक्सी प्रतिबन्ध लागेको बेला उताका जँड्याहा यता आउँछन् । त्यस्तैगरी, अहिले भारतका मान्छेहरु तेल हाल्न नेपाल आउन थालेका छन् । किनभने, डिजलमा २० रुपैयाँ, पेट्रोलमा १२ रुपैयाँ यता सस्तो छ । त्यो तेल त कोटामा आएको र नेपालले पैसा तिरेर ल्याएको हो । तर, फाइदा लिइरहेका छन्, बिचौलियाले । खुला सिमाना हुनुको फाइदा या बेफाइदा यो पनि हो । यही नाममा हुने चुहावटबारे भने कसैलाई मतलब छैन ।

तेलमा मात्र हैन, चुहावट र कर छल्ने अनेक काइदा नेपालमा चल्छन्, तर देखिँदैन । जस्तोकि, भृकुटीमण्डपमा एउटा फन पार्क छ । त्यहाँ कर छल्ने कस्तो चलखेल हुन्छ भने, मूलप्रवेशद्वारको टिकटमा भ्याट लगाएको छ । तर, भित्र छिरेपछि भूत घर, रेल, बोटिङ, रोटेपिङमा रमाइलो गर्न छुट्टाछुट्टै बिल हुन्छ । त्यसमा भ्याटको बिल–रसिद काटिन्न । त्यसले वर्षमा पाँच–सात करोडको कारोबार गर्छ । १३ प्रतिशतका दरले मात्रै भ्याट लगायो भने पनि पाँच करोडको हिसाबले ६५ लाख हुन्छ र आयकर जोड्दा करोड नाघ्छ । यस्तो कर छलीका काण्ड नेपालका अनेकन नाकामा हुने गरेको छ ।

पार्टी पार्टी भन्दै

मन्त्रीहरुले ढिलो गरी सम्पत्ति विवरण बुझाए । त्यसमा आफ्नो केही देखाएनन् । श्रीमतीको नाममा सुनको ढिक्कै आएको भने । प्रधानमन्त्री पुष्पकमल दाहालले त सम्पत्तिजति पार्टीलाई बुझाएको भने । पार्टीलाई नै बुझाएको भए पनि त्यो बुझाएको सम्पत्तिचाहिँ आयो कहाँबाट ? कि, पार्टीलाई बुझाएको भन्दा सातखत माफ हुने हो !

टिप्पणीहरू