बचे एकता, ढले विभाजन

बचे एकता, ढले विभाजन

नेपालकै महान् गौरवशाली पार्टी नेकपा (एमाले) । अहिले यो पार्टी एकढिक्का हुने हो कि टुक्रिने हो भन्ने गम्भीर मोडमा पुगेर टक्क अडिएको छ ।

कम्युनिष्ट पार्टीहरू टुक्रा हुने वा एक ढिक्का हुने भनेको विचार र सिद्धान्तको आधारमा हो । कि विचारमा एकमत हुनुपर्छ, कि सिद्धान्तमा । एकमत नभए पार्टी विभाजन हुन्छ । तर हालको नेकपा (एमाले) विभाजन कि एकता भन्ने विषयको आधार भने विचार होइन, सिद्धान्त पनि होइन । आधार हो सत्ता ।

यदि माधव नेपाल समूहले हस्ताक्षर फिर्ता लिएर ओलीको सत्ता बच्यो भने पार्टी एकता भयो । केही गरी माधव समूहले हस्ताक्षर फिर्ता लिएन र ओलीको सरकार ढल्यो भने विभाजन भयो । सरकार बचे एकता, ढले विभाजन । एकता र विभाजनको आधारै अनौठो छ ।

अब कम्युनिष्ट पार्टी कसरी एकता हुन्छ, कसरी विभाजन हुन्छ भन्ने कुरामा विचार र सिद्धान्तको कुरै आएन । त्यो वास्तवमा चाहिएको कुरा पनि होइन । किनभने मान्छेलाई ख्वाउने भनेको बिचार र सिद्धान्तले होइन नि ! ख्वाउने त सत्ताले हो । त्यसैले एकताको आधार सत्ता हो, विभाजनको आधार पनि सत्ता हो ।

सत्ता जोगाउन जसपाका नेताहरू आए, उनीहरूसँग एकता हुन्छ । सत्ता भत्काउन माधव नेपालहरू लागि परे, उनीहरूसँग एकता हुँदैन ।

अब हेरौं, सत्ताको आधारमा हुने पार्टीको एकता कस्तो रहेछ !

टिप्पणीहरू