निशा घिमिरे भेन्टिलेटरबाट फर्किइन्,अवस्थामा सुधार

निशा घिमिरे भेन्टिलेटरबाट फर्किइन्,अवस्थामा सुधार

नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीद्वारा उध्दार गरिएकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार आएको छ । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

निर्देशक चौधरीले मोडल तथा कलाकार घिमिरेको जेठ २७ गते उध्दार गरेकी थिइन् । नर्भिकले सुरुवातदेखि नै उनको उपचारमा डेडिकेटेड स्वास्थ्यकर्मीको टिम नै खटाइदिएको छ ।

कलाकार निशा घिमिरेले केही दिनअघि आफ्नै दाँतले गाला टोकेपछि अत्यधिक रक्तश्राव भएको थियो । रक्तश्रावका कारण श्वास फेर्न कठिनाई भएपछि उनलाई भेन्टिलेटरमा राख्नुपरेको हो । आफ्नै दाँतले टोकिएको गालाको भित्री भागमा टाँका नै लगाएर उपचार गरेसँगै अवस्थामा सुधार भएको थियो,फलस्वरुप असार २१ गते भेन्टिलेटरमा राखिएकी घिमिरेलाई असार २३ गतेदेखि नै पुनः भेन्टिलेटरबाट निकालियो । हाल उनी आफैंले श्वास फेरिरहेकी छन् र गालाको भित्री भागमा टोकिएर बनेको घाउसमेत निको हुने क्रममा रहेको छ ।बाँकी स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको चिकित्सकहरुले जनाएका छन् । हाल उनलाई सीसीयू वार्डमा उपचार जारी राखिएको छ । नर्भिक अस्पतालले ह्विलचेयर थेरापी,म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उनको उपचार गरिरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उपचार गरेको हो । अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनको अवस्था निकै सुधार भएको छ । उनले पछिल्लो समय बोल्नसमेत कोशिश गरिरहेकी छन् ।

डा. जलानले निशाको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बताए । उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर उनको उपचार गरिरहेको समेत बताए । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने संभावना भने न्यून छ । ‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’, डा. जलानले भने,‘तर,आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन,क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं ।’

तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशा घिमिरेको उध्दार गर्नुअघिको अवस्था निकै दर्दनाक थियो । चलेकी मोडल निशा आर्थिक अभावका कारण उपचार नपाउँदा घरमै अर्धचेत अवस्थामा थन्किएकी थिइन् । नर्भिकले उध्दार गरेपछि उनलाई सहयोग गर्नेहरुको समेत लर्को लागेको छ । परिवारजनले बनाएको अक्षयकोषमा लाखौं रुपैयाँ जम्मा भइसकेको छ ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएकी थिइन् । त्यहाँ भएको सडक दुर्घटनामा परी गम्भीर घाइते भइन् । दुर्घटनालगत्तै भारतकै अस्पतालमा उपचार गरियो । तर,त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए ।

काठमाडौँको ट्रमा सेन्टरमा राखेर ३ महिनासम्म उपचार गरिएको थियो । तर,अवस्थामा सुधार हुन सकेन । त्यसपछि चिकित्सकहरुकै सल्लाहअनुसार उपत्यकाका विभिन्न थेरापी सेन्टरहरुमा लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्नसमेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमण समेत बढेपछि उनी घरमै थन्किएकी थिइन् ।

यो अवधिमा निशाको अवस्थाको बारेमा समाचारहरु समेत प्रकाशन भए । तर, उनलाई उद्धार गर्न, उचित उपचारको व्यवस्था मिलाउन कसैले पनि सहयोग गरेनन् ।

टिप्पणीहरू