अरु नै देशमा लगेरसमेत नेपाली युवती बिक्री

अरु नै देशमा लगेरसमेत नेपाली युवती बिक्री

नेपाली महिलालाई भारत हुँदै कम्बोडिया पुर्याएर बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटा सहिदभूमि गाउँपालिका–२ का ३७ वर्षीय किसान राई पक्राउ परेका छन् ।

फेसबुकबाट चिनजानपश्चात कन्स्ट्रक्सन तथा व्यापारको काममा रोजगारीको ग्यारेण्टी हुनेगरी ४ लाख ५० हजार रुपैयाँ भीसा खर्च लिएर कम्बोडिया लगी बेचेको अभियोगमा राई पक्राउ परेका हुन् । उनले महिलाहरुलाई खाने,बस्ने खर्च बाहेक नगद १ लाख रुपैयाँ मासिक कमाइ हुने भएकाले प्रत्येकसँग ४ लाख ५० हजार रुपैयाँ लिएको बताइएको छ ।

उनले भारत,म्यानमार,थाइल्याण्ड हुँदै कम्बोडिया लगेर चिनियाँहरु बस्ने घरमा खाना बनाउने र घर सफा गर्ने भन्दै पुर्याएका थिए । त्यसपछि सोही घरमा झुक्याएर यौनदासीको रुपमा काम गर्नेगरी पीडितलाई बेचबिखन गरेको जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलबाट खटिएको टोलीले राईलाई उनकै घरबाट पक्राउ गरेको हो ।

साथै अभियुक्त राई समेतले अन्य ४५ जना नेपाली महिला तथा पुरुषलाई विभिन्न बाटो हुँदै अवैध रुपमा कम्बोडिया लगी अलपत्र पारेको उजुरी वैदेशिक रोजगार विभाग बुद्धनगरमा परेको छ ।

टिप्पणीहरू