कार्यदल त्यसै उठ्यो,साँझ फेरि बस्ने

कार्यदल त्यसै उठ्यो,साँझ फेरि बस्ने

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक साँझ फेरि बस्नेगरी स्थगित भएको छ । आन्तरिक गृहकार्यका लागि भन्दै बैठक साँझसम्मका लागि रोकिएको हो ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेले वैठकमा ठोस सहमति जुटिनसकेको प्रतिक्रिया दिनुभएको छ । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले कार्यदलले विभिन्न विषयमा छलफल गरेको भएपनि अझै सहमति जुट्न नसकेको बताउनुभयो ।

‘विभिन्न विषयमा आन्तरिक छलफल भएको छ । तर सहमति जुटिसकेको छैन । आ-आफ्नो तर्फबाट आवश्यक गृहकार्य गरेर बेलुका फेरि बस्ने गरी अहिले उठेका छौँ’, उहाँले भन्नुभयो ।

अध्यक्ष केपी ओलीपक्षीय नेताहरुले भने सहमतिको नजिक पुगेको बताएका छन् । ओली पक्षबाट कार्यदलका संयोजक रहेका सुवास नेम्वाङ्गले सहमतिलाई अन्तिम रुप दिन गृहकार्य आवश्यक भएकाले केहीबेर बैठक स्थगित गरिएको बताउनुभयो ।

यसअघि बिहान ११ बजेका लागि बोलाइएको कार्यदलको बैठक ढिला गरी शुरु भएको थियो । नेपालपक्षका कार्यदल संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका कारण बैठक करिव एक घण्टा ढिला गरी शुरु थियो ।

सहमति जुटाउन लगातार वैठक बसिरहेको कार्यदलले हिजो अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच वार्ता गराएको थियो । मेरियट होटलमा भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि आज फेरि कार्यदल छलफलमा जुटेको हो ।

हिजोको छलफलमा ओलीले निःशर्त सहयोगका लागि गरेको आग्रह नेपालले अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुंगिएको बताइएको थियो । हिजैको छलफलको निरन्तरताका रुपमा आज पनि कार्यदलको वैठक बसेको हो ।

टिप्पणीहरू