एमाले विवादमा वास्तविकता र अन्यथा तर्क

एमाले विवादमा वास्तविकता र अन्यथा तर्क

नेकपा एमालेको विवाद कचल्टिँदै जाँदा दुबै पक्षले एक अर्कालाई थप आरोप प्रत्यारोप लगाइरहेका छन्,सोमबारसम्म अदालतबाट हस्ताक्षर फिर्ता नलिए कार्वाहीको धम्की पनि शुरु भएकै छ । अढाई दशकअघि ०५१ सालमा अल्पमतको सरकारबाट नेतृत्व थालेको पार्टी पछिल्लो आमनिर्वाचनपछि झण्डै दुई तिहाई नजिक पुगेको थियो । तर,तीन वर्षको बीचमा देखिएको छिन्नभिन्न संगठन र निरीह सरकारको कारण अरु नभएर स्वयम् प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको असहिष्णु व्यवहार र एकल निर्णय भएको अर्को पक्षले बताउँदै आएको छ ।

प्रधानमन्त्री ओली तथा उहाँनिकट समूहले भने अहिलेको समग्र दूराअवस्थाको प्रमुख कारक वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भएको आरोप लगाउन छाडेको छैन । पार्टी नेतृत्वका जस्तोसुकै निर्णयलाई स्वीकार नगरेपछि पछिल्लो परिस्थिति उत्पन्न भएको उनीहरूको दाबी छ ।

अर्को पक्षले मुलुकको वामआन्दोलनको इतिहासमा बेलाबखत नयाँ तरङ्ग आउनुलाई स्वाभाविक मानेको छ । केशरजंग रायमाझीदेखिको इतिहासलाई केलाउँदा अहिलेको अवस्थाप्रति पनि अचम्म मान्नु नपर्ने उनीहरूको तर्क छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली एक्लोका कारण मुलुक, जनता,पार्टी र कार्यकर्ताले सास्ती भोग्नुपरेको पुराना कार्यकर्ताहरुको गुनासो छ ।

पछिल्लो तीन दशकमा निकै माथि पुगेको वामआन्दोलन दुई तिहाई नजिकको शक्तिशाली सरकार र एकीकृत नेकपा बनेपछि ओरालोतर्फ लागेको हो । माओवादीसङ्ग मिलेर नेकपा बनाएको र माओवादीसङ्ग एकता टुटाएको अरु कसैले हुँदै हैन । गल्ती आफू गर्ने,दोष अरुलाई थुपार्ने,अनेक वाचा गरेर मुश्किल टार्ने,गर्जो टरेपछि भर्याङ्गहरुलाई अलपत्र पार्ने-देखिएका कुरा यिनै हुन् । अहिलेको अवस्थालाई कम्युनिष्टहरूले रायमाझीपछिको अर्को युगको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा पार्टी र सरकार यति धेरै आलोचित बनेको थिएन । तर अहिले त्यसको उल्टो अवस्था देखिनुमा एक जना वाम विश्लेषक भन्छन् ‘नेतृत्व र उसको स्ट्रेन्थमा हुने कार्यले आलोचनाको दायरा निर्धारण हुन्छ । अघिल्लो पटक उहाँ यति शक्तिशाली हुनुहुन्थेन । यसपटक पार्टी एकीकरणपश्चात् नसोचेको शक्ति प्राप्त भयो । त्यसपछि आवश्यकताभन्दा बढी खेलोफड्को गर्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष आफू मात्रै अप्ठेरोमा पर्नु भएन, मुलुक,जनता,पार्टी र कार्यकर्ता सबैको कुभलो भएको छ । आफैभित्र सल्टिनुपर्ने समस्याको सुँड बिदेशी,अदालत,अरु दल,नागरिक समाजतिर सोझिएको छ ।’ हो चि मिन्ह झैं नेतृत्वले राम्रोसङ्ग हाँक्दा सिङ्गो देश मिलेर अमेरिकालाई लखेट्ने भियतनाम बन्नसक्छ,माओ र दङ्ग स्याओ फिङ्गजस्ता दूरदर्शी अगुवाद्वारा मुहार फेराइएको चीन पनि बन्नसक्छ । मेरो भक्ति गर्नेबाहेक सबै शत्रु हुन् भन्न थालियो भने घर घरमा असन्तुष्टि जन्मने पक्का छ ।

टिप्पणीहरू