बितेका राजा वीरेन्द्रको सम्पत्ति बेपत्ता « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

बितेका राजा वीरेन्द्रको सम्पत्ति बेपत्ता

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:०७


आखिर महाराजहरुकै जीवन पनि त ‘मरिगए मुरी माटो, बाँचे सगरमाथा’ जस्तो न रहेछ † राजा वीरेन्द्रले बाँचुञ्जेल शायदै सोचेका थिए होलान्, आफ्ना सामान आफन्तबाटै चोरिन्छन् र मरेको १५ वर्षमै आफू चढ्ने गाडी चराले बिष्ट्याएर हेरिनसक्नुको हुन्छ । कुनै दिन नाङ्गो आँखाले प्रत्यक्ष हेर्दा मात्र पनि ‘भाग्यमानी’ ठानिने त्यही बुलेट प्रुफ गाडी अहिले बगैँचाको एउटा कुनामा थन्किएको छ । ‘मरेको राजाको गाडी’ भन्दै छिःछि र दुरदुर गरिन्छ ।

सबभन्दा अप्ठेरो कुरा त के छ भने, ०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनका महŒवपूर्ण सामान अहिले त्यहाँ छैनन् । त्यसबेला नारायणहिटीमा काम गर्ने कर्मचारीले ती सामान कहाँ–कहाँ पुगेका छन् अनुमान लगाइसके । तर, सामान फर्काउने कुरामा सरकारको सहयोग छैन । अर्थात्, राजपरिवारका केही जीवित सदस्य र नातेदारकहाँ ती सामान छन् । मागेर नपाएका ती सामान ल्याउन कि त सम्बन्धित व्यक्तिका घरमा खानतलासी लिनुपर्छ कि त माया मार्नुपर्छ । यीमध्ये दुबै कुरा गर्न सकिएको छैन ।

हिजो जनआस्थासँग कुरा गर्दा नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहित ढुंगानाले भने, ‘पहिला त्यहाँ के–के सामान थियो भन्ने कुनै लगत हामीसँग छैन । त्यसबेला काम गर्नेहरुले यो–यो थियो भनेका त छन् । तर, ती कहाँ–कहाँ छन् भन्नेबारे पनि उनीहरुलाई थाहा हुनसक्छ । ल्याउन सकेका छैनन् ।’

दरबारबाट संग्रहालयमा परिणत भइसकेको त्रिभुवन सदन अवलोकन गर्न चाहनेका लागि प्रवेश दिनमा ढिलाई भएको पनि यही कारणले हो । क्षतिग्रस्त अवस्थामा रहेको त्यहाँ तीन करोडको लागतमा रंगरोगन भइसकेको छ । राजप्रासादबाट आएका उपसचिव अद्वैतप्रसाद श्रेष्ठको अग्रसरतामा केही सामान भेटिए । दरबारका सामान बाहिर लैजान नमिल्ने कारण भूकम्पमा भत्किएको त्रिभुवन सदनका इँटा अहिले राहदानी विभाग रहेको उत्तरतिरको फरासखानामा पुरिएको थियो । नारायणहिटीको सिराहा कक्षमा पाँच जोर सोफा भेटिएको छ ।

त्रिभुवन सदनबाहिर फ्याँकिएको अवस्थामा एउटा बेतको कुर्सी फेला परेको छ । जाजरकोट कक्षबाट दुई जोर सोफा पनि भेटिएको छ । सबभन्दा रहस्यको विषय त के छ भने, दरबार हत्याकाण्डका बेला त्रिभुवन सदनमा ओछ्याइएको घ्यु रंगको गलैँचा भेटिएर पनि हराइरहेको छ । दरबारस्रोतका अनुसार, ०५९ असारमा ज्ञानेन्द्र राज्यभार सम्हाल्नका लागि नारायणहिटी प्रवेश गरे । तर, मनमा शान्ति भएन भन्दै ०६० सालमा त्रिभुवन सदनभित्रै सप्ताह लगाइयो । त्यसैबेला हो, उक्त गलैँचा धोई–पखाली गरेर बिछ्याउन खोजिएको । तर, रगतको टाटो नमेटिएपछि गलैँचामात्र गायव भएन, त्रिभुवन सदन नै भत्काइयो । त्यो गलैँचा अवलोकनका लागि मात्र हैन, वैज्ञानिक विधिबाट थप अनुसन्धानका लागि पनि उपयोगी चिज हो । तर, आशंकित स्थानबाट ती सामान ल्याउने कुरा जटिल बनिरहेको त्यहाँका कर्मचारी बताउँछन् ।  त्यहाँ रहेको त्रिभुवनको मूर्ति पनि अहिलेसम्म बेपत्ता छ ।

उक्त भवनसँगै रहेको तत्कालिन युवराज दीपेन्द्रको बासस्थान उतिबेलै भत्काइयो र उनका सामान पनि जलाएर नष्ट पारियो । हत्याकाण्ड मच्चिरहँदा पारस र डा.राजीव शाहीहरुले खेलिरहेको बिलियार्ड टेबुल पनि बेपत्ता छ । त्यसको खुट्टाचाहिँ त्रिभुवन सदनकै एउटा कुनामा फ्यालिएको अवस्थामा भेटियो । त्यहाँको १४ इञ्चको गोल्डस्टार टिभी पनि बेपत्ता नै छ । राजा त्रिभुवनको परिवारसहितको तस्वीर हराइरहेको छ, तर त्रिभुवनका बाबु राजा पृथ्वीविक्रम, उनकी रानी (त्रिभुवनकी आमा) र पृथ्वीकी आमाको सामुहिक तस्बिर भने फेला परेर पनि टाँसिसकिएको बताइन्छ । हत्याकाण्डको छानबिन गर्न गठित सरकारी समितिले त्यहाँ फेला पारेको ‘एस’ आकारको टेबुलमा खानेकुरासहित प्लेट र चम्चा फेला परेको उल्लेख थियो । तर, त्यो पनि अहिले कहाँ छ ? पत्तो छैन ।

सामानहरु खोज्ने कुरा दिनप्रतिदिन जटिल बनेको बताउँछन्, निम्नस्तरका पुराना कर्मचारी । जस्तो कि, केही सामान जीवनकुञ्जमा पु¥याइएको सूचना उनीहरुसँग थियो । तर, जीवनकुञ्ज भत्काइसकिएको छ । ज्ञानेन्द्रका बालसखा प्रभाकरसमशेर राणामार्फत एक विदेशी कम्पनीलाई त्यहाँ रहेको करिब ३४ रोपनी जमिन ३५ वर्षका लागि भाडामा लगाइएको छ । उक्त कम्पनीले नेपालकै सबभन्दा आधुनिक र सुविधासम्पन्न सपिङ मल निर्माण गर्ने गरी जग बसाल्ने काम भइरहेको छ । त्यहाँका सामान कहाँ–कहाँ लगिए, नारायणहिटीका कर्मचारीले पत्तो पाएका छैनन् । धीरेन्द्रका तीन छोरीमध्ये जेठी पूजा बाँसबारीस्थित पति राजीवकै घरमा बस्छिन् ।

माइली दिलाशा धोवीचौरमा पति आदर्शसँग र कान्छी शीताष्मा पाटनतिर डेरा लिएर बस्छिन् । जेठा ज्वाइँ डा.राजीव शाहीले जीवनकुञ्जको भाडा बुझ्ने गरेका छन् । प्रभाकरसमशेरले जग्गा भाडामा लिन चाहने समूहलाई ल्याउँदा ५० वर्षको करारनामा गर्न माग गरेका थिए । तर, धीरेन्द्रकी छोरीतर्फका वकिलले नेपालको करारनामा ऐनविपरित त्यत्तिका वर्षका लागि जग्गा भाडामा दिन नमिल्ने बताएपछि वकिलहरुले कागज बनाएर जग्गा भाडामा दिने व्यवस्था मिलाएका हुन् । त्यहाँबाट आउने भाडामध्ये केही वर्षको भाडा अग्रिम बुझिएको बताइन्छ ।

उता, हेल्थ क्लबका रुपमा डा.राजीव शाहीले हेर्ने गरेको कुण्डलिनी क्लब डाइग्नोस्टिक सेन्टर (अस्पताल) मा परिणत भइसकेको छ र त्यसको रेखदेख कान्छा ज्वाइँ आदर्शविक्रम राणाले गर्दैछन् । त्यहाँ मानिसको होल बडी चेकअप गर्ने विश्वकै सबभन्दा आधुनिक प्रविधि ल्याएका छन् । तर, कुशल व्यवस्थापन र प्रचारको अभावमा ओझेल परेको छ । करिब ११ करोडको लागतमा त्यहाँ राखिएको होल ‘बडी चेकअप मेसिन’ ले शरीरको शीरदेखि पाइतालासम्मको दृष्य देखाउँछ । विरामी आफैँले बुझ्ने गरी समस्या पनि देखाउँछ । तर, हालसम्म त्यो नियमित प्रयोगमा नल्याएको डाइग्नोस्टिक प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !