चण्डालको अझै उस्तै छ चालामाला

सबैलाई लोकमानको महाअभियोग र संविधान संशोधनको मात्र चिन्ता र चटारो छ । तर यही मौकामा सेनाभित्र भने भित्रभित्रै करोडौं चापचुप पार्ने खेल शुरु भएको छ । निकै आकर्षक कमिशन दिने इटालियन कम्पनीको ए डब्लु–१३९ अगष्टा हेलिकप्टर सेनालाई भिडाउने तयारी छ । त्यसका लागि एउटा दलालको संलग्नतामा नेपाल वायुसेवा निगमकै शैली पछ्याउँदै ठ्याक्कै उसैलाई स्पेशिफिकेशन मिल्नेगरी प्रस्ताव आह्वान गर्ने प्रबन्ध मिलाइएको छ । पहिले राजाको पालामा पनि आरजे– १०० जहाज ल्याएर कमिशन खाने दाउमा लागेका लोकमानका सम्धी उनै रोहिणी थपलियाको यसमा संलग्नता छ ।

भिभिआइपीहरुको यात्राका लागि भन्दै खरिद गर्न लागिएको अगष्टाको काम अहिलेसम्म सुपरपुमा हेलिकप्टरबाट हुँदै आएको थियो । जसमा १९ सिट छन् भने अगष्टा जम्मा १४ सिटे जहाज हो । यसको मूल्य १६.१ मिलियन डलर अर्थात् दुई अर्ब रुपैयाँ हाराहारीमा पर्छ । यति महँगो हेलिकोप्टर किन्ने गरी सेनाका हाकिमहरु उपत्यका पृतनापति शरद गिरी र सम्भार तथा प्रबन्धरथी पूर्ण सिल्वाललाई मनाउन थपलियाले जर्मनी र इटालीको शयर गराएरसमेत ल्याइसके । गिरी र सिल्वाल दुवैजना राजदल गणका क्याडेट हुन् । हालका सेनापति राजेन्द्र क्षेत्री पनि त्यही पल्टनका । त्यही हुनाले यी दुईले जे भन्यो, राजेन्द्रले नाइँ भन्दैनन् । यो हेलिकप्टरको विशेषता के भने यसका लागि छुट्टै पाइलट, इञ्जिनियर, मेकानिक्स र टुल्सहरुको जरुरत पर्छ ।

यसअघि गौरव समशेरको पालामा पनि १३–१४ मिलियन डलरमा पाइने हेलिकप्टरलाई १७ मिलियन डलरमा खरिद गरिएको थियो । त्यो एमआई– १७ हेलिकप्टरले चार टन तौल र ३६ जना यात्रु बोक्न सक्छ । यसमा नाइटभिजन र गनसीप पनि जडान गर्न मिल्छ । उद्धारको काममा प्रयोग गर्न मिल्ने अत्यधिक भारवहन क्षमताको हेलिकप्टर हो त्यो । इटालियन अगष्टा हेलिकप्टर पनि ल्याउन ठिक्क पारिसकिएको थियो यदि कमिसनमा मात्र चित्त बुझाएको भए । तर, बाँदर बाठो भएझैँ थपलियाले बजेटको सिलिङभन्दा बढी कोट गरेपछि कुरा बाहिर आएको हो ।

चार वर्षअगाडि यही कम्पनीका हेलिकप्टरको कारण भारतीय वायुसेवा प्रमुखको जागिर नै चट् भएको थियो । आशा गरौं, नेपालमा त्यसो भइनहाल्ला । तर, इण्डियाले गरेको ठूलो अर्डर भने रद्ध भएर इटालियन कम्पनीले पेश्कीबापतको रकम फिर्ता गरेको थियो । भारतको संसदीय छानबिन समितिले सन् २०१३ को शुरुमा ३६ बिलियन भारु. अर्थात् ५३० मिलियन डलरको यो डिलबारे छानबिन गरेको थियो । त्यसबेला १२ वटा यस्ता हेलिकप्टर दिल्ली ल्याउने तयारी थियो । अगष्टा वेष्टल्याण्ड– ए १०१ सिरिजका हेलिकप्टर ल्याउनका लागि इण्डियन पुलिस सर्भिसका पूर्वनिर्देशक एम.के. नारायणनन्, जो इन्टेलिजेन्सको डाइरेक्टरसमेत भइसकेका व्यक्ति हुन्, भिभिआइपीको सुरक्षा दस्ता प्रमुख वि.वि. वाङचु, पूर्वरक्षा सचिव शशिकान्त शर्मासमेतको संलग्नता थियो ।

भारतीय वायुसेवाका अध्यक्ष एअर मार्शल एसपी त्यागी र उनका तीनजना भाइहरु जुइ, डोक्सा र सन्दिपसमेतको कनेक्सन पाइएको थियो । सबैभन्दा उल्लेखनीय कुरा त के छ भने यही वर्षको अप्रिल ८ मा इटालीको मिलान कोर्टले यो घटनासम्बन्धी मुद्दाको फैसला गर्दै उक्त हेलिकप्टर निर्माता कम्पनीका तत्कालीन प्रमुख जुसेपे ओर्सीलाई भारतीय राजनीतिज्ञ, कर्मचारीतन्त्र र वायुसेनाका पदाधिकारीहरुलाई ३० मिलियन युरो घुस दिएकोमा दोषी ठह¥याउँदै चार वर्षका लागि जेलचलान गरेको छ ।

भारतका राष्ट्रपतिलगायत अरु राजकीय भ्रमणको प्रयोजनका लागि भन्दै सोनिया गान्धीको माइती मुलुक इटालीबाट ल्याउन लागिएको यो हेलिकप्टर प्रकरणमा उनका राजनीतिक सचिव अहमद पटेलसमेत संलग्न थिए । मार्च २५, २०१३ मा तत्कालीन रक्षामन्त्री एके. एन्टोनीले यो घुसकाण्ड स्वीकारेपछि सिबिआइले यससम्बन्धी जुन १४ मा छानबिन शुरु गरी पेश्की रकमको ४५ प्रतिशत फिर्ता ल्याएको हो ।

टिप्पणीहरू