जाने बेला खाने दाउ

न्यायपरिषद्ले पूर्णता पाएर बल्ल न्यायाधीश नियुक्तिको चर्चामात्र चल्न थालेको छ । तर, कसैलाई के को धन्दा, घरज्वाइँलाई खानकै धन्दा भनेझैँ सर्वोच्च अदालतका हाकिमहरुलाई सुत्केरीको नाम गरी टाउको खाने चटारो परेको छ ।

प्रसंग उच्च अदालतका निम्ति तोकिनुपर्ने ८० नयाँ न्यायाधीशको नाममा गाडी खरिदसम्बन्धी प्रस्तावको हो । रमाइलो त के छ भने यो प्रक्रिया अघि बढाएर अर्थ मन्त्रालयबाट बजेट निकासा माग्ने सर्वोच्चका प्रमुख लेखा नियन्त्रक वालकृष्ण तिवारी अर्को महिना उमेरहदका कारण घर जाँदैछन् भने रजिष्ट्रार श्रीकान्त पौडेल पनि न्यायाधीश बन्ने लाइनमा छन् ।

यसअघि १६ पुनरावेदन अदालत रहेमध्ये त्यहाँ कार्यरत ८० न्यायाधीशले नपुगेर नयाँ गठित १८ उच्च अदालतका निम्ति ८० कै संख्यामा न्यायाधीश नियुक्त गर्न बाँकी छ । पाटनमा मात्रै न्यायाधीशको दरबन्दी ३६ पु¥याउनुपर्ने छ । जातेजाते हाकिमहरुले झण्डै सयवटा गाडीका नाममा अलिअलि घरखर्च जुटाउन खोजेपछि अर्थले ‘छोरो पाउनु कहिले–कहिले, भोटो सिउनु अहिल्यै’ भनेजस्तै फाइल अघि नबढाएको बताइन्छ ।

यसअघि पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको अदालत सुधारसम्बन्धी एउटा समितिले भ्रष्टाचार न्यायिक प्रणालीमा मात्र नभई निर्माण र खरिदमा समेत हुने गरेको ठहरसहित प्रतिवेदन बुझाएको थियो । अहिलेको गाडी खरिद प्रकरण त्यसैको एउटा सानो प्रतिबिम्बमात्रै हो ।

टिप्पणीहरू